मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

फेसबुकमा विरोध गरेर संघीयता जाँदैन: मुख्यमन्त्री पाण्डे

बिहीबार, २१ मङ्सिर २०८०, १५ : ४२
बिहीबार, २१ मङ्सिर २०८०

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक सञ्जालमा विरोध गरेर संघीयता नजाने बताएका छन् । सामाजिक सञ्जालमा भइरहेको टिप्पणी राजा फालेको मन नपराउनेको असन्तुष्टि भएको उनको तर्क छ । 

`कति जना मान्छेले फेसबुकमा लेखेपछि व्यवस्था परिवर्तन हुन्छ ? लाखौँ लाखौँ मान्छेले आन्दोलन गरेर ल्याएको व्यवस्थालाई परिवर्तन गर्नु हुँदैन,´ उनले भने, `गण्डकीमा पनि व्यवस्था विरोधी आवाज उठे । के छ, रिपोर्ट भनेर सोधेको पहिलो दिन १९ जना, दोस्रो दिन १७ जना थिए । अब यी व्यक्तिले माग्दैमा व्यवस्था परिवर्तन गर्ने ?’ 

पाण्डेले संघीयता उल्ट्याउने भन्दा व्यवस्थाका पक्षमा जनमत धेरै भएको दाबी गरे । `सबै हिसाबले पूर्ण भएपछि काम नगरे प्रश्न गर्न मिल्छ । कानुन बन्दा पनि परिपक्व बन्न नसके संघीयताको औचित्यमाथि प्रश्न उठाउनु जायज हो,´ उनले भने, `अहिलेको टिप्पणी राजा फालेको मन नपराउनेहरूको असन्तुष्टि मात्र हो । राजा फालेको मन नपराउने धेरै छन् नि । पुराना पञ्चहरू राजाको भक्तिभाव गाएर आफ्नो दुनो सोझाउँथे । तिनै मान्छेले गरेका क्रियाकलापमा प्रभावित बनाउने काम भएको छ ।´ पोखरामा भएको गण्डकी प्रदेशमा मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्य योजना कार्यान्वयनका अवस्थाका विषयको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले संघीयता बलियो हुन अझ केही समय लाग्ने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप