आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जनमत पार्टी र नागरिक उन्मुक्तिबिच कार्यगत एकताका लागि गृहकार्य

शुक्रबार, २२ मङ्सिर २०८०, १७ : ०८
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । डा.सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिच चुनावी तालमेल हुने देखिएको छ ।

यसका लागि जनमत पार्टीका अध्यक्ष राउत र उन्मुक्ति पार्टीका संरक्षक चौधरीबिच पटकपटक छलफल भएको छ । तर अहिले नै निष्कर्षमा नपुगेको जनमत पार्टी स्रोतले जनाएको छ । यद्यपि दुवै पक्षबिच छलफल जारी छ ।

२०७९ पुस २४ गते दुई पार्टीबिच कार्यगत एकता भएको थियो । कार्यगत एकता भएको भोलिपल्ट जनमत पार्टीका अध्यक्ष राउतले सञ्चारकर्मीसँग भनेका थिए, ‘नागरिक उन्मुक्तिसँग पार्टी एकता हुन सक्छ किनभने हाम्रा एजेन्डा धेरै हदसम्म समान छन् ।’

तर पछिल्लो समय सो पार्टीले २०८४ को निर्वाचनमा एक्लै चुनाव लड्ने घोषणा गरेको छ । जनमत पार्टीका उपाध्यक्ष दीपक साहले दुई दलबिच पहिला पनि कार्यगत एकताका लागि हस्ताक्षर भएको र त्यसपछि पनि अनौपचारिक कुराकानी भइरहेको बताए । अरु पार्टीभन्दा पनि नागरिक उन्मुक्तिसँग कार्यगत एकता हुने सभ्भावना निकै रहेको उनले बताए ।

साहले भने, ‘हाम्रो एजेण्डा, मुद्दा र सोच पनि मिल्छ । त्यही भएर कार्यगत एकताको सम्भावनालाई नकार्न सकिँदैन ।’

जनमत पार्टी र नागरिक उन्मुक्तिबिच एकता होस् भन्ने चाहना जनताको पनि रहेको बताउँदै उनले दुई पार्टीबिच एकता गर्न नसके पनि मिलेर चुनाव लड्न मधेसी र थारु समुदायको दबाव रहेको बताए ।

नागरिक उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले आफूहरु अहिले महाधिवेशनको तयारीमा रहेका कारण त्यतातिर अहिले ध्यान नगएको बताए । महाधिवेशनपछि त्यस विषयमा छलफल हुने सम्भावना रहेको उनले प्रस्ट पारे ।

‘एक वर्षअघि कार्यगत एकता घोषणा भएको थियो, त्यो भङ्ग पनि भएको छैन, क्रियाशील पनि छैन,’ चौधरीले भने, ‘त्यसलाई निरन्तरता दिन सकिन्छ तर अहिले त्यस्तो कुनै कार्यक्रम छैन ।’

पूर्वमा कार्यगत एकता कायम राख्ने कि भनी पार्टीका साथीहरुले भनिरहेको जानकारी दिँदै पश्चिमतिर खास त्यस्तो नरहेको उनले बताए । उनले भने, ‘पुस २६ गतेदेखि महाधिवेशन हुँदैछ, महाधिवेशनमा पनि यी विषयहरुमा छलफल हुनसक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप