आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोह सक्रिय, सचेत रहन विभागको आग्रह

मङ्गलबार, २६ मङ्सिर २०८०, १५ : ३५
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । इजरायलमा रोजगारीको अवसर भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको हो ।

नेपाल सरकार र इजरायल सरकारबिच सम्पन्न श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरु पठाउने काम भइरहेको विभागले जनाएको छ । इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिकहरू लैजाने सम्बन्धमा नेपाल सरकार र इजरायल सरकारबिच छलफल भइरहेको विभागले जनाएको छ । तर, हालसम्म यस विषयमा कुनै पनि निर्णय भई नसकेको विभागका सूचना अधिकारी तथा निर्देशन कविराज उप्रेतीले बताए ।

इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहहरूले गैर कानुनी रूपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना यस विभागमा आएको उनको भनाई छ । कृषि क्षेत्रको लर्न एण्ड अर्न कार्यक्रम तथा अन्य क्षेत्रको नाममा हुनसक्ने ठगीबाट सचेत रहन विभागले सबैमा अनुरोध गरेको हो ।

यस्तो खालको ठगीका सम्बन्धमा विभागले सूक्ष्म अनुसन्धान कार्य अगाडि बढाएको निर्देशक उप्रेतीले बताए । यस्ता सूचना तथा गिरोहको प्रलोभनमा नपर्न सबैमा अनुरोध गरेको हो ।

केही दिनयता इजरायलको कृषि क्षेत्रमा रोजगारीको अवसर भन्दै अन्तर्वार्ता लिनेसम्मको काम भएको पाइएको थियो । ६ देखि १२ लाख रुपैयाँसम्म लिएर कृषि क्षेत्रमा कामदार लैजाने भन्दै गिरोह सक्रिय देखिएको थियो । उक्त गिरोहले नेपालबाट थाइल्यान्ड हुँदै इजरायल लैजाने गरी तयारी थालेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप