बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
विवाद

आन्तरिक विवादले पोखराको प्याराग्लाइडिङ उडान बन्द

सोमबार, ०२ पुस २०८०, ०८ : ४३
सोमबार, ०२ पुस २०८०

पोखरा । आन्तरिक विवाद चुलिएपछि पोखराको प्याराग्लाइडिङ उडान बन्द भएको छ । नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो । 

नेपाल हवाई खेलकुद संस्था ‘ना’ ले बुकिङ खुला गर्ने निर्णय गरेपछि यहाँका कम्पनीहरू दुई तिर फर्किएका छन् । एकाथरीले खुला बुकिङ सिस्टम ठिक मानेका छन् भने अर्को थरीले गलत भनेका छन् । यही विवादबिच केही पाइलटहरूले पनि खुला बुकिङ सिस्टमले अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै प्याराग्लाइडिङ नउडाउने निर्णयमा पुगेका छन् । 

पाइलट क्लबका अध्यक्ष दीपक थापा अस्वस्थ प्रतिस्पर्धाबाट रोक्नका लागि आफूहरूले एकद्वार प्रणालीमा जानुपर्ने माग राखेको बताउँछन् । ‘सबैभन्दा मुख्य कुरा कम्पनीहरू दुईतिर हुनुहुन्छ । हामी बिचमा परेका छौँ,’ उनले भने, ‘हाम्रो पनि धारणा के छ भने, यसरी बुकिङ खुला गर्दा प्रतिस्पर्धा अस्वस्थ हुन्छ । असुरक्षा बढ्छ ।’

उनले आफूहरू छलफलकै क्रममा रहेकोले छिटै अवरोध हटाउने बताए । नाले संस्थामा आबद्ध प्याराग्लाइडिङ कम्पनीले आफूखुसी उडान दर कायम गर्न र आफैँ बुकिङ गर्न खुला गरिदिएको छ । यसअघि संस्थागत रूपमा ग्राहकले नाम टिपाउनुपर्थ्यो, उनीहरूलाई संस्थाले नै कम्पनी भाग लगाएर पठाउँथ्यो । यसबापत ग्राहकले १२ हजार तिर्थे, जुन निकै महँगो शुल्क हो । प्याराग्लाइडिङमा सिन्डिकेट रहेको आरोप पनि थियो । त्यसबाट हट्न खुला बुकिङ नै ठिक हुने व्यवसायी शोभित बानियाँले बताए । ‘अन्ततिर पनि प्याराग्लाइडिङ खुलेको छ । यति महँगो शुल्क तिरेर को आउँछ, उड्न,’ उनले भने, ‘हामीले आफ्ना ग्राहकको दर्ता आफैँ गरेर आफैँ उडाउन पाउने हो भने केही शुल्क पनि घट्छ । पर्यटन क्षेत्रलाई पनि राहत हुन्छ ।’

दुवै पक्षको विवाद चरम भएपछि प्राधिकरणले नै बन्द गरिदिएको हो । यसअघि पोखरामा अन्तर्राष्ट्रिय उडान हुने पक्का भएपछि तोरीपानीबाट हुँदै आएको प्याराग्लाइडिङ उडान मान्द्रेढुंगा सारिएको थियो । व्यवसाय धराशायी भएको गुनासोपछि तोरीपानीमै सारिएको छ । पोखरामा ६० भन्दा बढी कम्पनी छन् । १ सय ५० भन्दा पाइलट छन् । प्याराग्लाइडिङ उडान व्यवस्थापनको जिम्मा नेपाल हवाई खेलकुद संस्थाले पाएको छ । त्यसकै आधारमा प्याराग्लाइडिङको उडान शुल्क सोही संस्थाले नै निर्धारण गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप