अमेरिकाबाट नेपालमा किन गरिन्छ गाँजाको तस्करी ?

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गोदाममा अमेरिकाबाट आएको २४ काटुर्न सामान ६० दिनदेखि ‘बेवारिसे’ थियो । सामानको विवरण खुलेको थिएन । दुई महिनासम्म आयातकर्ता कम्पनीका सञ्चालक सम्पर्क गर्न नआएपछि शङ्का लागेर चेकजाँच गर्दा ती कार्टुनमा गाँजा भेटिएको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले रातोपाटीलाई बताए ।
कतार एयरवेजमार्फत अमेरिकाबाट आएको गाँजा मङ्सिर २७ मा भन्सार कार्यालयको कार्गो कम्प्लेक्समा खोलिएको हो । शङ्कास्पद कार्टुनहरूबाट ५५ केजी ३२ ग्राम गाँजा बरामद गरिएको प्रमुख भन्सार प्रशासक पाण्डेले जानकारी दिए ।
६० दिनदेखि थन्किएको २४ वटा गाँजाका कार्टुन भन्सार कार्यालयले अनुसन्धानका लागि प्रहरीको लागु औषध नियन्त्रण ब्युरोलाई जिम्मा लगाएको छ । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । सो गाँजा अमेरिकाको टेक्सासबाट काठमाडौँमा आएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी गोविन्द थपलियाले रातोपाटीलाई बताए ।
अमेरिकाबाट नेपालमा पहिलोपटक गाँजा तस्करी भएको होइन । यसअघि पनि पटक–पटक अमेरिकाबाट नेपालमा गाँजा तस्करी हुने गरेको थियो । २०७९ भदौ २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ किलो गाँजा पार्सलमा आयो । सो गाँजा क्यालिफोर्नियाबाट काठमाडौँमा पठाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
२०७९ फागुनमा पनि अमेरिकाको लस एन्जल्स र क्यालिफोर्नियाबाट अन्तर्राष्ट्रिय विमानस्थलमा पार्सलमा गाँजा आएको थियो । त्यसबेला ६ किलो ९ सय ग्राम गाँजासहित पार्सल रिसिभ गर्न आएका भारतीय नागरिकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । पछिल्लो पटक बरामद गाँजा म्युजिकल बक्सा भित्र प्याक गरेर अमेरिकाबाट काठमाडौँमा ल्याइएको हो । अमेरिकाबाट लगातार किन गाँजा तस्करी भइरहेको छ भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नेपालमा उत्पादन हुने गाँजाभन्दा अमेरिकाको गाँजामा टिएचसी ‘टेट्रा हाइड्रो क्यानोबिनल’ भन्ने तत्वको लेभल उच्च हुने प्रहरीको अनुसन्धान निष्कर्ष छ । लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी गोविन्द थपलिया भन्छन्– ‘अमेरिकाको गाँजामा टिएचसीको लेभल धेरै हुने परीक्षण रिपोर्टबाट देखिएको छ ।’
अमेरिकामा हाइब्रिड पद्धतिबाट उत्पादन गरिने गाँजा उच्च गुणस्तरको हुन्छ । गाँजाको गुणस्तर उच्च हुने भएकाले प्रयोगकर्ताले अमेरिकाबाट मगाउन थालेका हुन् । अमेरिकाबाट नेपाल आउने गाँजा भारतमा पनि तस्करी हुने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । तस्करीमा संलग्न भारतीय नागरिकहरू यसअघि पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन