शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
स्त्री रोग विशेषज्ञ डा. विनोद अर्याललाई प्रश्न

महिनावारीका समयमा किन ‘ब्रेस्ट पेन’ बढी हुन्छ ?

मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । महिला तथा स्त्री रोगका बारेमा सबै जना सचेत हुन अति नै आवश्यक छ । आधुनिक जीवन शैली र खानपानका कारण महिला तथा स्त्री रोग पीडितको पनि सङ्ख्या दिनानुदिन बढ्दो छ ।

त्यसमा पनि महिनावारीसम्बन्धी समस्या लिएर अस्पताल तथा चिकित्सककहाँ पुग्नेको सङ्ख्या बढ्दो देखिन्छ । अनियमित महिनावारी, महिनावारीका बेलमा धेरै पेट दुख्ने, कम्मर तथा ब्रेस्ट दुख्ने समस्याका बारेमा पनि जान्न आवश्यक छ । यसै सन्दर्भमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. विनोद अर्याल (एमडी) सँग रातोपाटीका लागि दीपा दाहालले गरेको कुराकानीको सम्पादित अंश (भिडियोसहित) :

  • स्त्री रोग भनेको के हो र विशेष गरेर यस अन्तर्गत केके पर्छन् ?

सामान्यतया स्त्री रोग भन्नाले स्त्रीका प्रजनन अङ्गहरूसँग सम्बन्धित रोगलाई बुझ्न सकिन्छ । यसमा पाठेघर, पाठेघरका छेउछेउमा रहेका डिम्बकोष, डिम्बकोषलाई पाठेघरसम्म ल्याउने नलीहरू, पाठेघरको मुख, पाठेघरको भित्री तह, योनी र योनीका वरिपरिका अङ्ग र स्तन जस्ता अङ्गमा लाग्ने रोगहरूलाई स्त्री रोग भनिन्छ ।

  • महिलामा प्रमुख समस्याका रूपमा अनियमित महिनावारी रहेको छ, यो किन अनियमित हुन्छ ? 

कति समयमा हुने महिनावारी सामान्य र कति समयलाई असामान्य भनिन्छ भनेर पहिला बुझ्न जरुरी छ । एक महिनामा ७/८ दिन तलमाथि हुँदासम्मलाई नियमित महिनावारी भन्न सकिन्छ । महिलाको उमेरका आधारमा पनि महिनावारीको अनियमितताको बारेमा जान्नुपर्ने हुन्छ । विशेष गरी महिनावारीको सुरुवाती अवस्था र महिनावारी सुक्ने बेलामा पूर्ण रूपमा महिनावारी नियमित नहुन सक्छ । यी दुईवटा एक्सिट्रिमहरू डिम्बकोषबाट बन्ने हर्मोनका कारणले हुन्छ । सुरुवाती अवस्थामा अङ्गहरू परिपक्व नभइसकेका कारणले गर्दा चाहिएको जति हर्मोन उत्पादन नहुने भएकाले महिनावारीमा गडबड हुन सक्छ । तर महिनावारीको सुरुवाती उमेर र महिनावारी सुक्ने बेलामा बाहेक रिप्रोडक्टिभ उमेर समूहमा हुने महिनावारीको गडबडी अरू धेरै कारणले हुन सक्छ । जस्तै हर्मोन प्रोडक्सन गर्ने डिम्बकोषमा केही समस्या भयो भने हुन सक्छ, स्त्री प्रजनन अङ्गमा केही गडबडी भयो भने पनि महिनावारी नियमित रूपमा हुँदैन ।

dr binod aryal

  • छिटो छिटो हुने वा एकदमै ढिलो हुने समस्या बढ्दो छ । यसमा आत्तिनुपर्ने समयावधि कति मान्न सकिन्छ ? 

महिनावारीको सुरुवाती दिनहरू र महिनावारी रोकिने बेलामा चाहिँ आत्तिइहाल्नु पर्दैन । रिप्रोडक्टिभ उमेर समूहमा महिनावारीमा गडबडी भयो भने रगत धेरै बगेर रगत बग्ने सम्भावना हुन्छ । यसले रगतको मात्रा नै कम हुन्छ । ट्युमरहरू पलायो भने उपचार गर्नुपर्ने हुन्छ । तर पनि नियमित चेकजाँच गराउन उत्तिकै महत्त्वपूर्ण हुन्छ । 

  • महिनावारीको समयमा छालामा विशेष समस्या पनि आउने गर्छ ? पिम्पल आउने वा सामान्य घाउ, खटिरा पनि आउने गर्छ । यो किन हुन्छ ?

महिनावारी हर्मोनसँग सम्बन्धित प्रक्रिया हो । हर्मोन उत्पादन डिम्बकोषहरूबाट मात्र नभएर अरू अङ्गबाट पनि हुन्छन् । महिनावारीमा मात्र नभएर जहाँ जहाँ हर्मोन उत्पादनले सीधै असर गर्छ, ती अङ्गहरूमा पनि हर्मोनको गडबडीले असर पर्न जान्छ । पिम्पल आउनु पनि हर्मोनसँग सम्बन्धित हुन सक्छन् । 

dr binod aryal 2

  • यति मात्र नभएर ‘महिनावारीका समयमा स्तन दुख्ने, ढाड दुख्ने पनि हुन्छ ? यसको कारण र उपचार चाहिँ के हुन्छ ?

कसैकसैको अत्यधिक हर्मोन उत्पादन हुँदा महिनावारीमा धेरै दुखाइ पनि ल्याउन सक्छ । विशेष गरेर सुरुवाती वर्षहरूमा यो धरै हुन्छ । यसैगरी महिनावारी हुने अङ्गहरू जस्तै पाठेघर, पाठेघरको मुखतिर कुनै संरचनात्मक समस्या छन् भने त्यसले पनि महिनावारीको नर्मल ब्लड फ्लोलाई रोकेर राम्रोसँग ब्लड फ्लो हुन नदिने अवस्था आउन सक्छ । त्यसमा पनि पिरियड पेन हुन सक्छ । संरचनात्मक समस्या र हर्मोनको कारणले नभए पनि दुखाइ छ भने त्यो सामान्य हो । सामान्य घरायसी उपचारले पनि निको हुन्छ । 

  • कतिपय महिलाहरूले चाडपर्व आउँदा या कुनै विशेष अवसरमा महिनावारी हुन नदिन औषधी खाने गर्छन्, त्यसले केही असर गर्छ कि गर्दैन ?

त्यो औषधीले त्यस्तो ठुलो असर त केही गर्दैन । हर्मोन औषधी दिइन्छ जुन शरीरबाट नै उत्पादन हुने हर्मोन हो । २/४ दिन महिनावारी तलमाथि गर्न दिइने औषधीले खासै ठुलो असर गर्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया