सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएल अक्सन : कमिन्सको कीर्तिमान तोड्दै २४ करोड ७५ लाखमा बिक्री भए मिचेल स्टार्क

मङ्गलबार, ०३ पुस २०८०, १६ : ३५
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अस्ट्रेलियन खेलाडी मिचेल स्टार्क कीर्तिमानी मूल्यमा बिक्री भएका छन् । उनलाई कोलकाता नाइट राइडर्सले कीर्तिमानी मूल्यमा खरिद गरेको हो ।

स्टार्कलाई कोलकाताले २४ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गर्‍यो । आईपीएलको हालसम्मको इतिहासमा यसअघि कुनै पनि खेलाडी यति धेरै मूल्यमा बिक्री भएका थिएनन् । स्टार्कको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखिएको थियो ।

मिचेल स्टार्कभन्दा केही समयअघि अर्का अस्ट्रेलियन खेलाडी प्याट कमिन्सले सबैभन्दा महँगा खेलाडीको कीर्तिमान बनाएका थिए । कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । त्यसअघि आईपीएलको इतिहासमा सबैभन्दा महँगा खेलाडी साम करन थिए । उनलाई पञ्जाबले सन् २०२३ मा १८ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको थियो ।

कमिन्सले उनकै कीर्तिमान तोडेका थिए । कमिन्स अस्ट्रेलियालाई आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुमाउने कप्तान पनि हुन् । उनकै कप्तानीमा अस्ट्रेलियाले हालै आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । कमिन्सले इतिहास रचेको केही समयपछि नै उनको कीर्तिमान स्टार्कले तोडेका हुन् ।

स्टार्क अस्ट्रेलियन टोलीका अलराउन्डर खेलाडी हुन् । उनी आठ वर्षपछि पुनः आईपीएल खेल्ने तयारीमा छन् । उनी बायाँहाते तीव्र गतिका बलर हुन् । उनी नयाँ र पुरानो दुबै बलले उत्तिकै आक्रामक बलिङ गर्न सक्छन् ।

स्टार्कले पछिल्लो पटक सन् २०१५ मा रोयल च्यालेन्जर्स बैंगलोरबाट आईपीएल खेलेका थिए । उनी तल्लोक्रममा क्रिज समाल्न आएर उत्तिकै आक्रामक ब्याटिङ गर्न पनि खप्पिस छन् । हालै सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै १६ विकेट लिएका थिए ।

अस्ट्रेलियालाई एकदिवसीय विश्वकपको उपाधि चुमाउन उनको भूमिका महत्वपूर्ण रहेको थियो । उनले हालसम्म देशका लागि ५८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले ७३ विकेट पनि लिएका छन् ।

टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितालाई मिलाउँदा उनले लिएको विकेट सङ्ख्या ६ सय ४७ पुग्छ । आईपीएलमा पनि उनले हालसम्म २७ खेल खेल्दै ३४ विकेट लिएका छन् । उनले हालसम्म दुई सिजनमात्र आईपीएल खेलेका छन् ।

सन् २०१८ को आईपीएलमा उनलाई कोलकाता नाइट राइडर्सले नौ करोड ४० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । तर, घाइते समस्याका कारण उनी अधिकांश समय मैदानभन्दा बाहिरै रहेका थिए । यसपटक अक्सनमा उनी सेट–४ मा परेका थिए ।

यसैगरी यसपटक अक्सनमा भारतीय खेलाडी जयदेब उनादकट सनराइजर्स हैदराबादको रोजाइमा परेका छन् । उनलाई हैदराबादले एक करोड ६० लाख भारतीय रुपैयाँमा किनेको हो । उनको न्यूनतम मूल्य ५० लाख भारतीय रुपैयाँ ताकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप