मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
सेयर बिक्री प्रकरण

एनसेलको सीईओलाई अर्थ समितिले काट्यो पत्र, के–के छ पत्रमा ?

शुक्रबार, ०६ पुस २०८०, १९ : ००
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिले एनसेल आजियाटा कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई पत्र पठाएको छ ।

मलेसियास्थित ऐनसेल आजियाटाको सिइओलाई त्यहाँस्थित नेपाली दूतावासमार्फत पत्र पठाइएको अर्थ समितिका सभापति सन्तोष चालिसेले रातोपाटीलाई जानकारी दिए ।

यसअघि इमेलमार्फत गरेको पत्राचारको जवाफ नआएपछि मलेसियामा रहेको दूतावासमार्फत पत्राचार गरिएको सभापति चालिसेले बताए ।  उनले भने,‘एनसेलको सिइओलाई इमेलमार्फत गरिएको पत्राचारको जवाफ नआएपछि मलेसियाको नेपाली राजदूतावासमार्फत उसलाई आज पत्राचार भएको छ ।’

पत्रमा राखिएको विषयबारे सभापति चालिसेले भने,‘उसले पत्र बुझेर पत्रको जवाफ दिएपछि, उ आफैँ आउने हो वा काठमाडौँ स्थित उसको प्रतिनिधिलाई पठाउने हो थाहा छैन । हामीले तिमीहरु लिखितम् सहित आऊ, कुन व्यवस्था अनुसार एनसेलको शेयर खरिद बिक्री गरेको हो, खरिद बिक्रीको सम्झौता के थियो त्यसको हुबहु सामग्री सहित आऊ भनेका छौँ ।’

अर्थ समितिले अब हचुवाको भरमा एनसेल शेयर विवादबारे  बैठक नराख्ने भन्दै सभापति चालिसेले एनसेलको सिइओले हुबहु पत्र ल्याएपछि जनतालाई त्यो पत्र देखाएर जनतालाई सुसूचित गर्ने बताए ।

उनले भने,‘एनसेलको सिइओले समय दिएपछि बैठक राख्छु । भएको यस्तो रहेछ भनेर आधिकारिक पत्र सहितको बैठक हुन्छ । के कस्तो खरिद बिक्रीको सम्झौता भएको हो, हुबहु सामग्री लिएर आऊ भनेर पत्र काटिएको छ । यहाँको दूरसञ्चार प्राधिकरणका पदाधिकारीकारीलाई पनि हुबहु कागजात लिएर आऊ भनेर पत्र काटिएको छ ।’   

यस्तै अर्थमन्त्रीलाई, आन्तरिक राजस्व कार्यालयलाई पनि एनसेलसँग सम्बन्धित सबै आधिकारिक कागजात लिएर आउन भनिएको सभापति चालिसेले बताए ।

सबैभन्दा पहिला ऐनसेल प्रकरणमा आफूले बैठक राखेको बताउँदै एनसेल किनबेच भएको हो कि हैन भन्ने कुराको आधिकारिक कुरा नआएकोले अबको बैठकमा एनसेल खरिदबिक्री भएको आधिकारिक पत्रका साथ बैठक राख्ने दाबी गरे ।

एनसेलको सिइओ र दूरसञ्चार प्राधिकरणलाई आधिकारिक कागजातका साथ सँगै बैठक राखेर यो विवादको टुङ्गो लगाउने सभापति चालिसेले बताए ।

एनसेलको सिइओले पत्रको जवाफ फर्काउलान् भन्ने कुरामा विश्वास गर्न सकिएला र ? भन्ने प्रश्नमा सभापति चालिसेले भने,‘यति ठूलो आर्थिक कारोबार गर्ने जिम्मेवार संस्थाले नेपालको संसद्ले बोलाउँदा आउनुपर्दैन ? नआइकन सुख छ र ? केहीदिन आलटाल गर्लान्, नआई सुख छ र ? उनले हामीलाई इमेलमार्फत जवाफ नदिएपछि हामीले नेपाली राजदूतावास मार्फत पत्राचार गरेका छौँ । हाम्रो यहाँको परराष्ट्र मन्त्रालयबाट मलेसियाको राजदूतावासमा पत्र गइकन त्यहाँबाट हामीले सम्बन्धित निकायमा पत्र पठाइसक्यौँ भन्ने जवाफ समेत आइसकेको छ ।’   

एनसेलको सिइओलाई मलेसियन दूतावासमार्फत पत्राचार गर्न सभापति चालिसे शुक्रबार परराष्ट्र मन्त्रालय पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप