बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिललाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट प्रतिबन्ध लगाउने फिफाको चेतावनी

मङ्गलबार, १० पुस २०८०, १३ : ४०
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) ले ब्राजिल फुटबल महासंघमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । फिफाले ब्राजिललाई निकट भविष्यमा आयोजना हुने कोपा अमेरिका फुटबल र आगामी विश्वकप फुटबल समेत खेल्न नपाउने गरी प्रतिबन्ध लगाउने चेतावनी दिएको हो ।

ब्राजिलियन फुटबल समर्थकका लागि यो ज्यादै निराशाजनक समाचार हो । ब्राजिलियन फुटबल संघको निर्वाचनको विषयलाई लिएर विवाद सुरु भएपछि फिफाले यस्तो चेतावनी दिएको समाचारमा जनाइएको छ ।

फिफाले ब्राजिललाई पटक–पटक महासंघको निष्पक्ष निर्वाचन गराउन निर्देशन दिँदै आएको छ । तर, ब्राजिल फुटबल महासंघले भने फिफाको निर्देशनलाई बेवास्ता गर्दै आएको छ । खासगरी फिफाले ब्राजिल फुटबल महासंघका वर्तमान अध्यक्ष एडनाल्डो रोड्रिग्वेजको विकल्प खोज्नका लागि नयाँ निर्वाचनको निर्देशन दिएको हो ।

ब्राजिल फुटबल महासंघका वर्तमान अध्यक्ष रोड्रिग्वेज राजनीतिज्ञ पनि हुन् । पछिल्लो समयमा अध्यक्ष रोड्रिग्वेजका गतिविधि र उनले ब्राजिल फुटबल महासंघको निर्देशकसहित विभिन्न पदमा गरेको नियुक्तको व्यापक विरोध हुँदै आएको छ ।

हालै ब्राजिलको रियो अदालतले रोड्रिग्वेज र उनले नियुक्त गरेको निर्देशकहरुलाई पदबाट बर्खास्त गर्ने निर्णय सुनाएको थियो । अदालतको आदेशपछि रोड्रिग्वेजले महासंघको नयाँ निर्वाचन गराउन जोसे पेर्डिजलाई नियुक्त गर्ने प्रयास गरेका थिए ।

रोड्रिग्वेजको उक्त कदमको पनि व्यापक विरोध भएको थियो । ब्राजिल फुटबल महासंघको निर्वाचनका क्रममा कानुन विपरितका गतिविधिहरू भएको आरोप लागेपछि अध्यक्ष रोड्रिग्वेज विवादमा तानिएका हुन् । त्यसैले फिफाले यथाशीघ्र कानुनसम्मत तरिकाले नयाँ निर्वाचन सम्पन्न नगरे ब्राजिल फुटबल महासंघमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप