शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री एउटा रफ्तारमा हुनुहुन्छ, केही गरौँ भन्ने हुटहुटी छ : भीमसेनदास प्रधान

मङ्गलबार, १० पुस २०८०, १६ : ४९
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री पुष्पकमल दाहाल गिरिजाप्रसाद कोइरालापछिको सफल रणनीतिकारको रूपमा देखिएको टिप्पणी गरेका छन् । उनले संसद्मा ३२ सिटसहित तेस्रो दल हुँदा पनि सरकारको नेतृत्वमा पुग्नु र एक वर्ष टिक्नु नै प्रचण्डको लागि सफलता भएको दाबी गरे । 

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले भने,‘यो एक वर्षमा सरकारको समीक्षा भन्ने कुरा, प्रधानमन्त्रीले एक वर्षको प्रगति विवरण सुनाउने भयो, खासगरी सरकारको त पाँच वर्षको योजना हुन्छ । टार्गेट खडा गरिएको हुन्छ । बरु, त्यसको मध्यावधि समीक्षा हुन्छ त्यो पनि अढाई वर्षमा हुन्छ । अहिले एक वर्षको बारेमा बोल्दाखेरि सबभन्दा पहिलो कुरा प्रधानमन्त्री प्रचण्ड सफल हुनुमा अहिलेसम्म प्रधानमन्त्री रहिरहनु हो । ३२ सिट भएर पनि उहाँले एमाले र कांग्रेसकै केन्द्रबिन्दुमा रहेर काम गर्नु नै सफलता हो । उहाँ कुशल रणनीतिकार हो ।’

प्रचण्ड सरकारको एक वर्षको मूल्याङ्कन गर्दा आफूले प्रधानमन्त्री प्रचण्डमा अहिलेको व्यवस्थाबारे चिन्ता देखेको सुनाए । उनले भने,‘प्रचण्डजीमा ठुलो चिन्ता छ । कतै यो व्यवस्था खतरामा पर्छ कि भनेर, एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ छोड्नुको कारण पनि त्यही हो । केपी ओलीले दुई दुई पटक संसद् विघटन गर्नुभयो । पछि उहाँले संसद् विघटनको बचाउ गर्नुभयो । अहिले कांग्रेस सरकारमा रहनुको प्रमुख कारण प्रचण्ड हो ।’

नेता प्रधानले अहिले नेपाली राजनीतिमा महाभारतजस्तो देखिएको टिप्पणी । ‘कतै यो संविधान नै डिरेल होला कि भनेर प्रचण्डमा चिन्ता छ’–उनले भने,‘तर, केही गरौँ भन्ने कुरा प्रचण्डमा छ । उहाँले राम्रो प्रयास गर्नुभएको छ । प्रयास कार्यान्वयन गर्ने कुरामा प्रचण्ड सफल देखिनुभएको छैन । भुटानी शरणार्थी प्रकरणमा पार्टीका शीर्ष नेताहरू जेलमा राखेको अवस्था छ । सुन काण्डमा प्रचण्ड सरकार सफल भएको छ । भुटानी शरणार्थी प्रकरणमा पनि प्रचण्डले प्रयास गरेकै हो । एनसेल काण्डपनि आएको छ । अहिले युवाहरू आक्रान्त छन् । नागरिकता लिन पनि दुःख छ । अब सुदृढ सरकार दिनुपर्छ । सुशासनको सरकार दिनुपर्छ । प्रचण्डको खास काम गर्ने सोच छ । उहाँ एउटा रफ्तारमा हुनुहुन्छ । केही गरौँ भन्ने हुटहुटी छ । कांग्रेसले असहयोग गरेको पनि छैन ।’

यता नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको एक वर्ष सफल रहेको दाबी गरेका छन् । यो एक वर्षमा प्रधानमन्त्री दाहालले भयङ्कर ठुला गल्ती केही पनि नगरेको उनको दाबी छ । 

Bidari2

उनले प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा दृढताकासाथ कदम चालेको र अब आउने दिनमा यसका सकारात्मक नजिता देखिने दाबी गरे । बिडारीले अहिले अर्थतन्त्रका सूचकहरु पनि राम्रो देखिएको दाबी गरे । यद्धपी उनले अहिलेको  निर्वाचन पद्धतिबारे छलफल गर्नको लागि र संविधान अध्ययन गर्ने एउटा समिति चाहिएको आवश्यकता औँल्याए । उनले भने, ‘संविधान कार्यान्वयन कहाँ–कहाँ भयो ? कहाँ–कहाँ भएन ? भनेर गम्भीरतापूर्वक छलफल गरेर अनुसन्धान गर्नुपर्छ भनेको छु । त्यो समितिबाट संवैधानिक आयोगबारे पनि छलफल गर्ने काम हुन्छ । जे दैनिकी कार्य हुनुपर्ने हो, ती राम्रैसँग भएको छ । त्यो प्रगतितर्फ गएको छ । दुर्गतितर्फ गएको भए नारा लगाउनुपर्दथ्यो ।’

तर उनले यो एक वर्षमा चमत्कार हुने कुरा नभएको पनि टिप्पणी गरे । उनले भने,‘एक वर्षमा सबै चमत्कार हुन्छ भनेर अपेक्षा गर्नुहुँदैन । अब आजैबाट प्रधानमन्त्रीज्यूको अर्को वर्ष सुरु हुन्छ । अर्को वर्षबाट काम अघि बढ्छ । स्वास्थ्य, शिक्षा, कृषि, श्रमिक, विद्युत्, सरकारी निगमलाई तंग्रायाउने कुरामा सरकार सफल भएको छ । सरकारले मरणासन्न सबै निकायलाई ब्युँझाएको छ । श्रमिकको जीवनस्तर उचाल्नको लागि काम गरेको छ।’

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा मुलुकमा सुशासनको अभियान सुरु भैसकेको उल्लेख गर्दै उनले अब छिट्टै भ्रष्टाचारलगायतका काण्ड निष्कर्षमा पुग्ने पनि विश्वास दिलाए । उनले भने,‘अहिले विभिन्न काण्ड अदालतमा पुगेको छ । यत्ति काम कसैले गरेको थियो त ? यही सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण खोतलेको हो । सुनकाण्ड, ललिता निवास सबैमा फाइल खोलेको हो । विकास निर्माण त अमेरिका, बेलायतलाई पनि पुगेको छैन । नेपाल अहिले गरिब भएको हो र ? म कक्षा ९ मा पढ्दादेखि नै ऋण लागेको थियो । नेपालको हावापानी राम्रो छ । तर, यो देशका शासक र सत्ता बेठिक छ । अब के गर्ने त ? एक वर्षमा गरिबबाट ह्वात्त धनी हुन्छ र ? जादु हुन्छ त ? हुँदैन नि, समय लाग्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप