सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
सरकारको एक वर्ष

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ : प्रमाणित गर्न नसके मैले पनि पद ओगटिरहन जरूरी छैन

मङ्गलबार, १० पुस २०८०, १७ : ५२
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिरहनु नपर्ने बताएका छन् । मंगलबार सिंहदरबारबाट देशाबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ।’
देशमा  सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरूरी नरहेको बताए । 

यसैगरी प्रधानमन्त्री प्रचण्डले क्रमभंगताका लागि सबै राजनीतिक दलहरुलाई आह्वान पनि गरे ।  प्रचण्डले भने, ‘म दलहरु, नागरिक समाज, राज्यका निकाय सबैलाई क्रम भंगताको अपिल गर्दछु ।’

अब शीर्ष बैठकहरु सत्ताको वितरण गर्न नभई विश्व विद्यालयहरु सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्ने पनि उनले बताए । 

प्रधानमन्त्रीले त्रिविको दीक्षान्त समारोहमा अब विश्व विद्यालयहरुमा राजनीति भागबण्डा नहुने भनेर घोषणा गरिसकेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । सञ्चारको कुनै पनि कुनामा रहेका नेपालीले विश्वविद्यालय सुधारका लागि उपकुलपतिमा दाबी गर्न सक्ने उनको भनाइ छ ।

निर्यात बढाउने गरी उत्पादन बृद्धि गर्न आवश्यक पहल लिने

 प्रधानमन्त्रीले निर्यात बढाउने गरी उत्पादन बृद्धि गर्न आवश्यक पहल लिने पनि बताएका छन् ।  प्रधानमन्त्री प्रचण्डले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको बताएका हुन् । 

‘यो पक्कै उपलब्धि हो तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन। उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ’– उनले भने– ‘बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ। यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ।’

भुक्तानी सन्तुलन झण्डै १५० अर्ब रुपैंयाले सकारात्मक रहनु र विगत कैयौं वर्षदेखि घाटामा रहेका चालु खाता समेत नाफामा रहनु सरकारको अर्को गणनीय उपलब्धि भएको स्पष्ट गर्दै प्रधानमन्त्री प्रचण्डले पूँजी बजार र बिमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित छु र सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको बताए । 

‘व्यापार घाटामा कमी आएको छ, तर निर्यात नबढीकन आयात मात्र घटेर कम भएको व्यापार घाटा दिगो हुँदैन भन्ने वास्तविकता म यहाँहरूलाई लुकाउन चाहन्नँ। समस्याहरूलाई जनतासँग लुकाएर देश अघि बढ्दैन’– प्रधानमन्त्री प्रचण्डले भने– ‘आन्तरिक उत्पादनसँगै निर्यात पनि बढाउने गरी उत्पादन परिमाण वृद्धि गर्न आवश्यक पहल म लिनेछु। विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको छ। अब मेरो ध्यान विप्रेषणसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुनेछ। म सबै आर्थिक र कुटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि प्रतिबद्ध छु। कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरू फिर्ता बोलाइनेछन्।’

एआई जडित ड्रोनबाट नियमित अनुगमन

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरव र रुपान्तरणकारी योजनाहरु अब एआई जडित ड्रोनबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गर्न लागेको पनि बताएका छन् । 

प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट ठुला आयोजनाहरुको नियमित अनुगमन गर्न सुरु गरेको पनि उनले बताए । 

उनले सरकार असफल पनि नभएको र आफूले सोचे अनुसारको परिणाम पनि नआएको उनले बताए । उनले यसअघि निर्माण भएको पूर्वाधार निर्माणको जस खोसाखोस गर्न छोडेर बाँकी रहेको पूर्वाधार निर्माण सम्पन्न गर्न लागिरहेको बताए । 

उनले भने,‘कति बन्यो हैन, कति बन्न सक्थ्यो भन्ने आत्मसमिक्षामा छु । यही चिन्ताका साथ म सार्वजनिक घोषणा गर्दछु अब सरकारको कार्यशैली फेर्नेछु । अब पूर्वनिर्धारित र केही अपरिहार्य बाहेक बाहिरका कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु । सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थान बिन्दु हुनेछ ।’

उनले यही साता आफूले प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न लागेको पनि जानकारी गराए ।

सरकारले कार्य क्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखलाई फिर्ता बोलाउने भएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘कार्यक्षमता कमजोर भएका नियोग प्रमुखलाई फिर्ता बोलाइने छ’, उनले भने । उनले अब आफूले कामलाई नतिजामुखी बनाउन लागेको उनको भनाइ छ । 

औषधीमा आत्मनिर्भर बन्ने लक्ष्य

प्रधानमन्त्री प्रचण्डले औषधीमा आत्मनिर्भर बन्ने लक्ष्य लिइएको बताए । प्रचण्डले सरकारले प्रदान गर्दै आएका औषधीहरु राज्यका तर्फबाट उत्पादन गरी औषधीमा आत्मनिर्भर बन्न नेपाल औषधी लिमिटेडमार्फत पहिलो चरणमा २० प्रकारका औषधी उत्पादनका लागि पूर्वतयारी गरिएको बताए ।  

उनले संघ र प्रदेशमा गरी कुल ३५ सय शय्या गरिब तथा विपन्न नागरिकका लागि निःशुल्क उपलब्ध गराइएको जानकारी गराए ।

भिआइपी कल्चर भत्कियो

प्रधानमन्त्री ‘प्रचण्डले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको दाबी पनि गरेका छन् । 

प्रचण्डले भने,  ‘मैले संसदमा सुरुकै दिन गरेको संकल्प थियो, सुशासन। देशमा एउटा “भिआइपी कल्चर” स्थापित भइरहेको थियो। हाइ प्रोफाइलहरूलाई कानुनले छुनै सक्दैन भन्ने आममनोविज्ञान बनिरहेको थियो। सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, त्रिभुवन विमानस्थलबाट सुनको अवैध आयात लगायतका काण्डमा इतिहासकै सबैभन्दा ठूलो अनुसन्धान र कारवाही गरेपछि जनतामा लोकतन्त्रप्रति भरोसा बढेको छ।’

कहिल्यै कानुनले नछुने ठानिएका उच्चपदस्थहरू कानुनको नियन्त्रणमा आएको उनले बताए ।  ‘देशमा पहुँच होइन, विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कतै कुनै लापरवाही गरेन। यसबाट कानुनको सर्वोच्चतामात्र होइन, लोकतन्त्रकै सर्वोच्चता पनि स्थापित भएको छ। यसलाई मैले लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण भनेको छ,’ उनले भने।  
यो क्रम निरन्तर जारी रहने जानकारी दिंदै प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी र सहकारीका ठगहरू पनि राज्यको नियन्त्रणमा आइरहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप