शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

बच्चाहरूको दिमागलाई ठिक गर्ने भिडियो गेम

बुधबार, ११ पुस २०८०, ०९ : ५८
बुधबार, ११ पुस २०८०

काठमाडौँ । कुनै काममा एकाग्रता नहुनु वा छिट्टै कुनै कामबाट ध्यान भड्किनु अहिले ठुलो समस्या बनिरहेको छ । कहिलेकाहीँ त मान्छेहरूले यसलाई सामान्य ठानेर बेवास्ता गरिदिन्छन् । तर यो अटेन्शन डेफिशिट-हाइपर एक्टिभिटी डिस्अर्डर अर्थात् एडीएचडी हुन सक्छ । 

यो रोगमा ध्यान केन्द्रित गर्न समस्या हुन सक्छ वा नतिजा के होला भनेर सोच्दै नसोची लगातार केही फैसला गर्ने समस्या भइरहेको हुन सक्छ । यो रोगको सिकार बच्चाहरू बढी हुन्छन् । तर एउटा गेमिङ कम्पनीले भने एडीएचडी रोगलाई ठिक गर्ने गेम बनाएको दाबी गरेको छ ।

अकीली नाम गरेको यो कम्पनीले सन् २०२० मा एउटा गेम लन्च गरेको थियो । यो गेमको नाम थियो एन्डेभरआरएक्स । गेममार्फत मान्छेहरूको ध्यान केन्द्रित गर्ने, एकाग्र रहने क्षमता सुधार गर्न सकिने दाबी कम्पनीको छ । एडीएचडीको समस्या भएको बच्चाहरूको उपचारका लागि अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले प्रयोगको अनुमति दिएको यो एक मात्रै गेम हो । 

सुरुमा यो गेम ८ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि मात्रै लन्च गरिएको थियो । तर यही हप्ता गेमलाई ८ देखि १७ वर्षबिचका बालबालिकाका लागि समेत प्रयोग गर्ने अनुमति दिइएको छ । तर यसका लागि डाक्टरको प्रेस्क्रिप्शन भने चाहिन्छ ।

गेमले कसरी गर्छ काम ?

यो जम्मा २५ मिनेटको गेम हो । यसलाई चार हप्तासम्म हरेक हप्ता ५ पटक खेल्नु पर्छ । अर्थात् ४ हप्तामा २० पटक यो गेम खेलिनेछ । गेमको प्रयोग डाक्टर प्रेस्क्रिप्शन भएको ८ वर्षदेखि १७ वर्षबिचका बालबालिकामा गर्न सकिन्छ । यो गेमलाई दिमागको व्यायाम हुने अनि एकाग्रता बढाउने गरी तयार पारिएको छ । यही गेमको अर्को भर्जन पनि छ । यसलाई चाँहि वयस्कका लागि भनेर बनाइएको हो । तर एफडीएले यसलाई प्रयोगको अनुमति दिइसकेको छैन । यो गेमको नतिजा बच्चाहरूका लागि ल्याइएको भर्जनबाट भने राम्रो आएको छ ।

अभिभावकहरूले  पनि निगरानी गर्न सक्छन्

अभिभावकहरूले चाहे भने  एन्डेभरआरएक्स इनसाइट एपको मद्दतले बच्चाको प्रगति हेर्न सक्नेछन् । गेम प्रयोग गरिएका ७३ प्रतिशत बच्चामा यसको सकारात्मक नतिजा देखिएको एफडीएले प्रयोगको अनुमति दिनु अघि भएको सर्वेक्षणले देखाएको छ । आईओएस र एन्ड्रोइडबाट यो गेमको एप डाउनलोड गरेर ५ मिनेटको ट्रायल लिन सकिने बताइएको छ ।

कति हुन्छ खर्च ?

यसको प्रयोग गर्न चाँहि तपाईँसँग प्रेस्क्रिप्शन हुनु पर्नेछ । हेल्थ केयर प्रोभाइडरले तपाईँलाई यस्तो प्रेस्क्रिप्शन दिन्छन् । यसपछि विशेष खालको फार्मेसीबाट तपाईँलाई कोड पठाइनेछ । यसको सहायताले तपाईँले गेम डाउनलोड गर्न सक्नु हुनेछ । एन्डेभरआरएक्सका लागि प्रतिमहीना ९९ डलर खर्च गर्नु पर्नेछ । वयस्कहरूले यो गेमका लागि मासिक २५ डलर तिर्नु पर्नेछ । वयस्कहरूका लागि ल्याइएको गेम अफ लेबल भएकोले यसका लागि प्रेस्क्रिप्शन चाहिदैंन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप