शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आन्दोलनमा योगदान दिएकालाई सिके राउतले किन बोलाए काठमाडौँ ?

बुधबार, ११ पुस २०८०, १२ : ५९
बुधबार, ११ पुस २०८०

काठमाडौँ । जनमत पार्टी नेपालले स्वराज आन्दोलन तथा पार्टीका विभिन्न आन्दोलनमा संलग्न व्यक्तिलाई काठमाडौँ बोलाएको छ । आन्दोलनका क्रममा प्रहरी हिरासतमा कम्तीमा एक रात बिताएका नेता तथा कार्यकर्तालाई काठमाडौँ बोलाएर जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले छलफल गरेका छन् ।

जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खानले सङ्गठन तथा अगामी कार्यक्रमको बारेमा छलफल गर्नका लागि उनीहरूलाई काठमाडौँ बोलाएर छलफल गरिरहेको बताए ।

'उहाँहरूले आन्दोलन गरेको कारण पार्टी यो अवस्थामा आइ पुगेको हो, तीनवटै तहको सरकारमा जनमत पार्टी सहभागी छ, अब अगामी दिनमा पार्टी कसरी अगाडि बढ्नुपर्छ, ती विषयमा हामीले छलफल गरिरहेका छौँ,' उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘उहाँहरूको पनि समस्याको बारेमा पनि हामी छलफल गर्छौ, आन्दोलन गर्नुभयो र पार्टीले बिर्सियो भने होइन, आन्दोलनकारीको साथमा हामी छौँ भन्ने कुराको अनुभूति गराउनका लागि पनि यो छलफल राखेका हौँ ।’

विगतमा आन्दोलन गरेका करिब डेढ सय जना काठमाडौँ आएको उनले बताए । स्वराज आन्दोलन, किसान आन्दोलन, भ्रष्टाचार विरुद्धको आन्दोलनलगायतमा प्रहरीबाट कुटाई खाएको, प्रहरी हिरासतमा बसेको, मुद्दा लागेको जस्ता व्यक्तिलाई छलफलका लागि बोलाएको उनले बताए ।

आन्दोलनकारीकै बलमा सङ्गठन चलिरहेको र अगामी दिनमा पनि पार्टीलाई त्यस्ता व्यक्तिको नै आवश्यकता पर्ने भएकाले पार्टीसँग जोडि रहने बताउँदै उनले कतिपय व्यक्ति आन्दोलनमा सहभागी भए पनि पार्टीमा संलग्न छैन, त्यस्ता व्यक्ति पनि छलफलमा आएको बताए । कतिपय कार्यकर्ता आन्दोलनमा लागे तर विभिन्न कारणले असन्तुष्ट भई अलगअलग बस्न थालेका छन् त्यस्ता व्यक्तिसँग पनि पार्टीले छलफल चलाइरहेको उनले बताए ।

andolan

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप