शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
बालकुमारी घटना

बालकुमारी घटनामा दुई युवक मारिएकोमा सरकार गम्भीर बनेको छ : सञ्चारमन्त्री शर्मा

शनिबार, १४ पुस २०८०, १६ : १३
शनिबार, १४ पुस २०८०

काठमाडौँ । सरकारकी प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले शुक्रबार बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवा मारिएको विषयमा सरकार गम्भीर बनेको बताएकी छिन् ।

शनिबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयबारे जानकारी गराउन गरिएको पत्रकार भेटघाटमा उनले सो घटनालाई सरकारले गम्भीरतापूर्वक लिएकाले छानबिन समिति बनाएको र केही कर्मचारीलाई निलम्बन गरिएको जानकारी दिइन् । 

मन्त्री शर्माले गोली चलाउन आदेश दिने प्रमुख जिल्ला अधिकारी, डिएसी र मन्त्री ज्वालाको पीएसओलाई निलम्बन गर्ने निर्णय भइसकेको जानकारी दिइन् । शुक्रबारको घटनामा सुरक्षा कमजोरी भएको बताउँदै अदालतको फैसला ३ बजे आउने भन्ने कुरालाई पनि राम्रोसँग बुझाउन नसक्दा र सम्मयता अपनाउन नसक्दा क्षति हुन पुगेको उनले बताएकी छिन् । 

मन्त्री शर्माले भनिन्,‘केही सुरक्षा कमजोरी भएको छ । मन्त्रीज्यूको गाडीलाई टार्गेट गरिएको भन्दापनि स्वतः स्फूर्त रुपमा जुलुस भएको हो । करिब ३ बजे अदालतको पूर्ण फैसला आउने भन्दापनि ठीक ढंगले सञ्चार गर्न सकिएन । आन्दोलनमा उत्तेजना हुने गर्छ । सुरक्षा संयमता अपनाउनुपर्छ भन्नेमा हामीले गम्भीर ढंगले छलफल पनि गरेका छौँ । त्यसमा केही कमजोरी भयो भनेरै गोली चलाउन आदेश दिने डीएसपी, पीएसओ, उपसचिवलगायतका कर्मचारी निलम्बित भएका छन् ।’

सरकारले यो घटनालाई गम्भीरतापूर्वक लिएको बताउँदै उनले छानबिन प्रक्रियालाई अघि बढाइएको जानकारी दिइन् । शुक्रबार ललितपुरको बालकुमारीमा कोरियामा कामदारका लागि जान लिने भाषा परीक्षाको फारम भर्न नपाएका युवाहरुको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप