सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

धेरैपछि स्टेज चढ्दा भावविह्वल भएँ, दर्शक पनि रोए : धुर्मुस

सोमबार, १६ पुस २०८०, ११ : ०६
सोमबार, १६ पुस २०८०

काठमाडौँ । हास्य क्षेत्रमा दर्शकले रुचाएका कलाकार हुन् सीताराम कट्टेल ‘धुर्मुस’ । हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’बाट धुर्मुस उपनाम पाएका सीताराम आफ्नो वास्तविक नामले भन्दा पनि यही उपनामले बढी चिनिन्छन् । 

कलाकारिता यात्राको छोटो समयमै फिल्मदेखि देश विदेशका कार्यक्रममा समेत प्राथमिकतामा पर्न सफल उनी २०७२ को भूकम्पपछि समाजसेवामा सक्रिय र कलाकारितामा फाट्टफुट्ट देखिँदै आएका छन् ।

स्टेज कार्यक्रम भने चट्टै छोडेका थिए उनले । अहिले कास्कीमा जारी लेखनाथ महोत्सवबाट भने उनी ८ वर्षपछि फेरि स्टेजमा फर्किए । अबको दिनमा सक्रिय कलाकारिता गर्ने उद्देश्य सहित आफू स्टेजमा फर्किएको सीताराम बताउँछन् । स्टेज कार्यक्रममा कमब्याक र कलाकारितामा अबको योजना विषयमा रातोपाटीले सिताराम कट्टेलसँग गरेको संक्षिप्त कुराकानी :  

  • ८ वर्षपछि स्टेजमा कमब्याक गर्नुभयो, कस्तो महसुस गरिरहनु भएको छ ?

– एकदमै खुसी लागिरहेको छ । निकै लामो समयपछि मेला महोत्सवको स्टेजमा सहभागी हुन पाउँदा म मात्र होइन, हामी दुवै (कुन्जना घिमिरे) निकै हर्षित छौँ । प्रत्यक्ष रूपमा दर्शकसँग साक्षात्कार गर्ने यो एउटा अवसर पनि हो । लामो समयदेखि हामी त्यो अवसरबाट चुकिरहेका थियौँ । धेरैपछि स्टेज चढ्दा भावविह्वल नै भए ।

  • फर्किने निर्णय गर्न कति समय लाग्यो ?

– सक्रिय कलाकारितामा फर्किने निर्णय गर्न समय लाग्यो । अहिले त अब बेला भयो, फर्किनुपर्छ  भन्ने लाग्यो । सामाजिक काममा होमिरहँदा कयौँ आयोजकलाई कलाकारितामा नफर्किने हो भन्ने पनि परिरहेको थियो  । यसअगाडि चाहेर पनि फर्किन सकिरहेको थिइनँ । मलाई ठुलो जिम्मेवारी सामाजिक कामको थियो । अहिले सबै काम फत्ते भयो । अब यो एउटा अवसर हो, फर्किनुपर्छ भनेर पोखराको लेखनाथ महोत्सव रोजे ।

म र कुन्जनालाई लामो समयदेखि हेर्न चाहने, हाम्रो कलालाई माया गर्ने दर्शक कुरेर बसिरहनुभएको थियो । पहिले चाहेर पनि निर्णय गर्न सकेको थिएनौँ । मैले र कुञ्जनाले २०६५ सालमा विवाह गरेका हौँ । विवाहपछि पहिलो कार्यक्रमका रूपमा पोखरा महोत्सवमा सहभागी भएका थियौँ । अहिले कमब्याक पनि पोखराकै महोत्सवबाटै भएको छ । आयोजक नेत्रपाणि बास्तोला र कलाकार बद्री पंगेनीले फोन गरेर सम्झिनु भयो । उहाँहरुले मेला महोत्सवमा हिँड्नुहोस् भनेर आग्रह गर्नुभयो । सोही अनुसार हामी काममा फर्किएका छौँ ।  हाम्रो मूल पेसा कलाकारिता हो । जसले हामीलाई चिनायो छ । अब यसमै होमिनुपर्छ भनेर फर्किएका हौँ ।

dhurmus suntali (1)

  • कमब्याक प्रस्तुति कस्तो रह्यो ?

–एकदमै राम्रो, अकल्पनीय भयो । पहिले हाम्रो प्रस्तुत धेरै रुचाइन्थ्यो । धेरै समयपछि स्टेजमा उत्रिन लाग्दा दर्शकले पहिले जसरी हाम्रो प्रस्तुति रुचाउनुहुन्छ वा हुँदैन भन्ने डर थियो । यो ग्यापले हाम्रो प्रस्तुति कसरी हेरिएला भन्ने थियो । महोत्सवमा हामीले ‘असल मानिसको खोजी’ भन्ने समसामयिक विषयमा प्रस्तुति तयार पारेका थियौ । करिब १ घण्टाको प्रस्तुतिमा दर्शकले राम्रो साथ दिनुभयो । प्रस्तुतिमा हाँस्नु भयो, रुनू भयो । त्यसले हामीलाई भावविह्वल बनायो । किनभने यो ग्यापमा पनि हामीलाई दर्शकले स्विकारेर, हाम्रो प्रस्तुतिलाई माया गर्दिनुभयो । यो कुरोमा म आयोजक र सहभागी दर्शकप्रति कृतज्ञ छु ।  

  • प्रस्तुतिपछिको प्रतिक्रिया कस्तो आइरहेको छ ?

– अहिलेसम्म एकदमै राम्रो छ । अहिले धेरै ठाउँका मेला महोत्सवबाट बोलावट आइरहेको छ । अत्तरिया, बासगढी लगायतमा सहभागी हुँदैछु । यो ८ वर्षको ग्यापमा व्यावसायिक रूपमा मेला महोत्सवमा सहभागी नभएपछि  बस्ती, रंगशाला लगायत निर्माणका लागि विदेशका केही कार्यक्रम भने गरेको थिएँ । अहिले प्रस्तुति दिँदा एकदमै आनन्द आयो । दर्शक मज्जाले हँसाउन पाउँदा भित्रैदेखि आनन्द महसुस भएको छ । 

dhurmus suntali (4)

  • ८ वर्षपछि फर्किदा पनि पुरानै गेटअप किन ?

– म सीताराम कट्टेल र कुञ्जना घिमिरले कलाकारितामा परिचय बनाएको धुर्मुस–सुन्तलीकै गेटअपबाट हो । त्यसैको खोजी अहिले कलाकारितामा भइरहेको जस्तो लाग्यो । हामीले विभिन्न चरित्र गर्दा पनि धुर्मुस र सुन्तलीले गरेको भनेर भन्ने गरिन्थ्यो । हामीले फिल्म, टेलिफिल्ममा बनाउँदा पनि धुर्मुस–सुन्तलीले बनाएको भनेर भनिन्थ्यो । 

हाम्रो पहिचान धुर्मुस सुन्तलीबाटै भएको हो । दर्शकले हामीलाई आफ्नै परिवारको सदस्यको रूपमा यो पात्रमा लिनुहुन्छ । सबै दर्शकको राय सुझाव अनुसार हामी फेरि दर्शकमा यही गेटअपमा, पुरानै शैलीकासाथ मन छुने प्रस्तुतिले प्रस्तुत हुनपर्छ भनेर होमिएका हौँ। 

  • धुर्मुस–सुन्तली कलाकारिताबाटै पलायन हुने हल्लाका बिच यो कमब्याक, सबैका लागि सर्प्राइज भयो नि ?

– हाम्रो मूल पेसा कलाकारिता हो । यसबाट पलायन हुने छाड्ने भन्ने कुरै आउँदैन । यो बिचको अवधिमा संयोग नै त्यस्तो भयो । देशमा भूकम्प जाला, बाढीविपत आउला, नेपालले क्रिकेटमा ओडीआई मान्यता पाउला, हामी रंगशालाको कल्पना गरौँला भनेर कस्ले कल्पना गरेको थियो र ? विपत्को समय सहयोगी बन्दा, राज्यलाई सघाउँदा पुनीत कार्य पनि हुन्छ । आत्मसन्तुष्टि समेत मिल्छ भनेर होमिएको थियौँ । त्यता लाग्दा हामीलाई त्यस्तो जिम्मेवारी पर्‍यो जसले चाहेर पनि हामी कलाकारिता पेसामा फर्किन सकेनौँ ।

dhurmus suntali (3)

अहिले सबै काम सकेर पेसामा फर्किएका छौँ । पुरानै अवस्थामा मनोरञ्जन दिन्छौँ भनेर आएका छौँ । फर्किन केही समय लाग्यो त्यसका लागि दर्शकसँग क्षमा माग्छु । आगामी दिनमा आफूसँग भएको क्षमताले कलाकारिता गर्ने र दर्शक रिझाउने अठोट गरेको छु ।

  • अब कलकारिता कसरी अगाडि बढाउने सोच बनाउनु भएको छ ?

– कलाकारितामै विभिन्न सिर्जनात्मक काम गर्छु । देश तथा विदेश जहाँ–जहाँबाट हामीलाई बोलाइन्छ, जान्छु । म अपिल पनि गर्छु । कलाकारितामा फेरि केही गर्न चाहन्छु । तपाईंको ठाउँमा आउन चाहन्छु । साथ र मौका दिनुहोला । कतिपय आयोजकले सम्झिदा पहिले पुग्न नसकेको अवस्था थियो । त्यसका लागि क्षमा प्रार्थी हुँदै अब आउने बाचा गर्छु । 

  • फिल्म निर्माण पनि गर्नुहुन्छ कि ?

फिल्म निर्माण अहिले तत्काल योजना छैन । केही अगाडि बनाएको सेन्टिभाइरस फिल्म कोरोनाले सोचे जस्तो भएन । फिल्म निर्माणको प्यास त मेटिएकै छैन । अबको दिन पनि कलाकारिता नै गर्ने भएकोले निर्माण पनि गर्न सकिन्छ । दर्शक र मिडियाकर्मीको सल्लाह अनुसार अब अगाडि बढ्छु ।

dhurmus suntali (2)

  • टेलिभिजनमा धुर्मुस –सुन्तली अब फर्किन्छन् कि ?

– हामी त्यही मनसाय अनुसार फर्किएका हौँ । टेलिभिजन सबै वर्गका दर्शक माझ छिटो पुग्ने माध्यम हो । हामीलाई विभिन्न चरित्रमा दर्शकले सानोपर्दाबाटै रुचाउनु भएको हो । हामी चिनिएको सानोपर्दाबाटै हो । धेरैको सुझाव पनि टेलिभिजनमा फर्किनुपर्छ भन्ने छ, फर्किन्छौ । 

  • अन्त्यमा केही छ त ?

– हामी (म र कुञ्जना) धुर्मुस–सुन्तली फेरि पनि कलाकारितामा अगाडि बढ्ने कोसिस गर्दैछौँ । पहिले जसरी सबैले माया दिनु भएको थियो । त्यसरी नै माया गर्दिनुस् भन्छु । हामीमा केही कमीकमजोरी भए सुधारेर अगाडि बढ्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप