आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ड्रागन वर्षलाई स्वागत गर्ने तयारीमा चिनियाँहरु

सोमबार, १६ पुस २०८०, २२ : ३४
सोमबार, १६ पुस २०८०

चीन । सन् २०२४ सुरु भएसँगै चिनियाँहरु ड्रागन वर्षलाई स्वागत गर्ने तयारीमा जुटेका छन् । चिनियाँ लुनर (चन्द्रमा) पात्रो अनुसार आगामी फेब्रुअरी १० मा नयाँ वर्ष मनाइन्छ ।

चिनियाँहरु खरायो वर्षलाई बिदाइ गर्दै ड्रागन वर्षलाई स्वागत गर्ने तयारीमा लागेका हुन् । चिनियाँ पात्रोमा १२ वटा नामको वर्ष तय गरिएको छ ।

चिनियाँहरुले मुसा, गोरु, बाघ, खरायो, ड्रागन सर्प, घोडा, ब्राखा, बाँदर, कुखुरा, कुकुर र सुँगुर वर्ष मनाउँछन् ।

सन् २०२४ डाग्रन वर्ष हो भने सन् २०२३ खरायो वर्ष थियो । चिनियाँहरुले ड्रागनलाई इष्टदेव देवता मान्दै पूजा गर्दछन् । ड्रागन समुन्द्रमा बस्ने, आकाशमा उड्ने काल्पनिक जनावर मानिन्छ ।

चीनमा लामो समयसम्म वर्षा भएन भने गाउँका कृषकहरुले ड्रागनको मन्दिर बनाएर पूजा आराधना गरेपछि पानी पर्ने मान्यता छ । चिनियाँहरुले ड्रागनलाई वर्षाका देवता भनेर श्रद्धाभक्ति गर्दछन् । 

चिनियाँ इतिहासकारका अनुसार चिनियाँहरुले ड्रागनलाई आफ्नो पुर्खा मान्दछन् । ड्राग्रनबारे धेरै मिथकीय कथा भेटिन्छन् ।

चिनियाँ संस्कृतिबारे अध्ययन गरिरहेका अध्येता चेतनाथ आचार्यले भने, ‘ड्रागनबारे सयौँ मिथकीय कथा छन् । तर चिनियाँहरु ड्राग्रनलाई आफ्नो देवता मानेर पूजा आराधना गर्दछन् ।’

चिनियाँहरुले नयाँ वर्षको स्वागतसँगै वसन्त पर्व मनाउने गर्दछन् । चिनियाँ भाषामा वसन्त पर्वलाई ‘छुन छे’ भनिन्छ । छुन वसन्त हो भने छे भनेको पर्व हो । चिनियाँ पर्वहरु पनि तिथि अनुसार मनाइने गर्दछ ।

412463587_380954387803455_4432525561400408430_n

औंसी तिथिलाई चिनियाँ भाषामा छुसी भनिन्छ । आगामी फेब्रुअरी ९ तारिखका दिन छुसी परेको छ । औंसीको दिन राति परिवारका सबै सदस्य भेला भएर खाना खाँदै चीनको राष्ट्रिय टेलिभिजन सीसीटीभीबाट प्रसारण हुने ‘छुन छे, (वसन्त पर्व)को विशेष प्रस्तुति’ सामूहिक रुपमा हेर्ने चलन छ ।

वसन्त पर्व सुरु भएको पहिलो दिन चिनियाँहरुले नयाँ लुगा लगाउने चलन छ । यसदिन आम्दानी गर्ने परिवारका सदस्यहरुले आफूभन्दा साना र आफूभन्दा ठुला मान्यजनलाई रातो खाममा राखेर दक्षिणा दिने चलन छ । त्यसदिन वर्ष दिनभित्र कसैसँग ऋण र सापटी लिएको छ भने सके चुक्ता गर्ने, फिर्ता गर्न नसके सो रकमको बारेमा जानकारी गराउने चलन रहेको नेपाली भाषामा स्नातकोत्तर अध्ययन गरेका चिनियाँ नागरिक  स्या मा (चन्द्रबहादुर तामाङ नेपाली नाम)ले बताए । उनले  नेपालमा चार वर्ष र चीनमा ८ वर्ष नेपाली पढेका छन् । 

उनले भने, ‘वसन्त पर्वमा चिनियाँहरुले धेरै प्रकारका खाना खाने, परिवारसँग भेटघाट गर्ने, आफन्तका घर जाने, सानालाई माया र ठुलालाई आदर गर्ने पर्व हो ।’    

आगामी फेब्रुअरी १० देखि नयाँ वसन्त पर्वको सुरुवातसँगै ड्रागन वर्ष सुरु हुने गर्दछ । वसन्त पर्व सुरु हुनुभन्दा पहिले चिनियाँहरुले फेब्रुअरी दुई र तीन तारिखदेखि आफ्नो घरको सरसफाइ गर्ने गर्दछन् । नेपालमा दसैैँ मनाउने चलन जस्तै चिनियाँहरुले वसन्त पर्व आउनु अगावै घर सजावट गर्न सुरु गर्दछन् ।

औंसीको दिनबाट सुरु हुने वसन्त पर्वको पहिले दिन प्रतिपदा (परेवा)को दिन आफ्ना पुर्खालाई सम्झने, पूजा गर्ने गर्दछन् ।

द्वितीया तिथिको दिन विवाहित महिलाहरु माइत जाने र पुरुषहरु श्रीमती र आफ्ना परिवार सदस्य लिएर सुसुरालीमा सामूहिक भोजनका लागि जाने चलन छ ।

तेस्रो दिन, नातेदारको घरमा जम्मा भएर भोजन गर्ने र नयाँ वर्ष र वसन्त पर्वलाई स्वागत गर्ने चिनियाँ परम्परा छ । वसन्त पर्वमा चीनका ठुला सहरमा काम गर्ने व्यक्तिहरु आफ्ना घर र परिवारहरुसँग भेला हुने चलन छ । नेपालीले दसैँमा शहरबाट गाउँमा दसैँ मनाउन जाने चलन जस्तै चिनियाँहरुमा पनि वसन्त पर्वमा सहरबाट गाउँघरमा जाने गर्दछन् ।

आगामी फेब्रुअरी १० देखि १७ सम्म मनाइने वसन्त पर्वसँगै ड्रागन वर्षको स्वागतका लागि चिनियाँ बजारमा ड्रागनका तस्बिरहरु बिक्रीका लागि सजाउन थालिएको छ । चीन सरकारले वसन्त पर्वको अवसरमा आठ दिन चीनभर राष्ट्रिय बिदा दिने गर्दछ । 

चिनियाँहरु ड्रागन वर्षमा विवाह गर्ने र विवाहितहरुले नयाँ सन्तान जन्माउने इच्छा राख्दछन् । ड्रागन वर्षमा जन्मिएको बच्चा चलाख चतुर हुने चिनियाँहरुको मान्यता छ ।

चिनियाँहरुले २५ फेब्रुअरीका दिन नेपालमा मनाइने दीपावलीजस्तै कागजबाट बनाइएका विभिन्न रङका बत्ती बालेर पर्व मनाउने गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप