शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राज्यव्यवस्था तथा सुशासन समिति बैठक

रविलाई गृहमन्त्रीको जवाफ : पहिला गरेको गल्तीमा छुट पाएपनि अब हुन्न

सोमबार, १६ पुस २०८०, १४ : ४६
सोमबार, १६ पुस २०८०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सवाल–जवाफ भएको छ । सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरुबिच चर्को सवाल-जवाफ भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानले गृहमन्त्री श्रेष्ठमाथि विषय बाहिर गएर प्रश्न उठाएका थिए । 

बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको बैठकमा सुन तस्करी प्रकरणको प्रसंग उठाएर लामिछाने गृहमन्त्री श्रेष्ठमाथि खनिएका थिए । सुन तस्करीमा संलग्नहरुको प्रमाण दिँदा पनि गृहमन्त्री श्रेष्ठ जोगाउन लागि परेको लामिछानेको आरोप थियो ।

गृहमन्त्री श्रेष्ठले उक्त आरोप प्रमाणित गर्न पूर्व गृहमन्त्री लामिछानेलाई चुनौती दिए । साथै प्रतिशोधको प्रश्नमा पनि गृहमन्त्री श्रेष्ठले लामिछानेलाई जवाफ दिएका छन् । ‘म धेरै त भन्दिनँ । रियाक्टिभ हुने बानी पनि छैन,’ श्रेष्ठले भने, ‘तर प्रिएक्टिभ अभिव्यक्ति हो भनेर सोच्यो भने के हुन्छ यो ?’

सहकारी ठगी प्रकरणमा छानबिन गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिएपछि लामिछाने आक्रोशित देखिन्छन् । सहकारी ठगी प्रकरणमा आफू फस्ने डरले लामिछानेले पहिले नै प्रक्रिया जनाएको गृहमन्त्री श्रेष्ठको आशय थियो । ‘मलाई कुनै कुरा पर्छ कि क्या हो ? त्योभन्दा अगाडि नै केही कुरा भनिदिहालौं । मलाई यसकारण गरेको हो भनिदिहालौं भन्ने पो लाग्छ कि मान्छेहरुलाई,’ उनले अघि भने ।

राहदानी प्रकरणमा लामिछानेलाई सरकारले क्लिन चिट देखिएकोप्रति संकेत गर्दै श्रेष्ठले भने, ‘आफूले पहिला गरेको गल्तीमा कुनै कारणले छुट पायो भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर कल्पना गर्नुभएन । त्यस्तो त हुन्न ।’

प्रतिशोध शून्य राखेर दोष छ भने सबैलाई कानुनको दायरामा ल्याइने गृहमन्त्री श्रेष्ठको भनाइ थियो । साथै उनले कसैलाई कुनै कुरा अभिव्यक्त गरेकै कारण, कुनै कुरा उठाएकै कारण सरकारले कुनै प्रकारको व्यवहार आकर्षित नगर्ने र स्वतन्त्रताको सम्मान गर्ने बताए ।

गृहमन्त्री श्रेष्ठले भने– ‘केही गर्ला कि भनेर पहिल्यै खुट्टा उचालेपछि म भाग्न पाइन्छ कि भन्ने हुन्न । खुट्टा उचाले पनि समाइन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप