बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
सल्लाहकारको असन्तुष्टि

एक महिनादेखि हरिबोल गजुरेलको राजीनामा ‘होल्ड’

लोभी पापीले विषयान्तर गर्न राष्ट्रिय सभा जाने चर्चा चलाए : गजुरेल
मङ्गलबार, १७ पुस २०८०, १६ : ००
मङ्गलबार, १७ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामा एक महिना पुग्न लाग्दासमेत स्वीकृत भएको छैन । प्रधानमन्त्रीसँग असन्तुष्टि जनाउँदै गजुरेलले मंसिर २० गते राजीनामा दिए पनि अझैसम्म होल्ड भएर बसेको हो ।  गजुरेलले आफूले दिएको राजीनामा हालसम्म स्वीकृत नभएको पुष्टि गरे । 

‘राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन । किन स्वीकृत भएन उतै सोध्नुहोला’, उनले भने । यस्तै राष्ट्रियसभामा जान लागिएको चर्चाबारे उनले लोभी पापीहरूले विषयान्तर गर्नका लागि चलाएको हल्ला मात्र भएको बताए ।

‘म राष्ट्रिय सभा जान राजीनामा दिएको होइन । विषयान्तर गर्नका लागि हल्ला चलाएका हुन्’, उनले भने, ‘मैले जुन विषय उठाएर राजीनामा दिएको हो । त्यसलाई विषयान्तर गर्न खोजियो ।’

गत वर्ष सिन्धुली–२ बाट प्रतिनिधिसभाको टिकट खोसिएपछि असन्तुष्ट भएका उनलाई प्रधानमन्त्री प्रचण्डले गत माघमा मन्त्रीसरह सुविधा दिने गरि राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । पछिल्लो समय सचिवालयमा आफ्नो भूमिकाको मूल्याङ्कन नभएकोमा उनी असन्तुष्ट देखिन्थे । यस्तै सुशासनको पक्षमा सरकारले चालेको कदमबाट ब्याक भएकोमा पनि उनी सन्तुष्ट देखिएका छैनन् ।

 सरकारको भूमिकाले जनता निराश भएको उनको निष्कर्ष छ । बाँकी विषयमा राजीनामा स्वीकृत भएपछिमात्र बोल्ने उनले बताएका छन् । गजुरेलको राजीनामा स्वीकृत नभएको विषयमा प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले यस विषयमा आफूलाई केही थाहा नभएको बताए ।

‘उहाँको राजीनामा स्वीकृत भयो कि भएन थाहा भएन । म बुझेर भनौँला’, आचार्यले भने । राजीनामासँग आफ्नो कुनै सौदाबाजी नभएको पनि उनले जिकिर गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप