सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
बडी बिल्डिङ

नयाँ लक्ष्य पछ्याउँदै बडी बिल्डिङमा गोल्ड मेडलिस्ट किशोर

‘जिम वा फिटनेस सेन्टर जानु मात्र ठुलो विषय होइन’
बिहीबार, १९ पुस २०८०

काठमाडौँ । केही हप्ताअघि भारतमा आयोजना भएको शारीरिक सुगठनसम्बन्धी एसियन लेभलको मसलमेनियाका ओभरअल च्याम्पियन हुन् किशोर कार्की । उनले देशका लागि गोल्ड मेडल जितेर फर्किँदा युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुको हातबाट सम्मानित हुने अवसर समेत पाए ।  

रहरै रहरमा जिम जोइन गरेका किशोरले २०१८ मा पहिलो पटक ‘मिस्टर काठमाडौँ जुनियरमा च्याम्पियन भए भने ‘मिस्टर काठमाडौँ– २०१९’ को फस्ट रनरअप हुन पुगे । यस्तै उनले सन् २०२२ मा आयोजना भएको ‘नेसनल वाइड लिफ्टिङ’ प्रतियोगिताको मेडल पनि उचाले । त्यसपछिको चौथो उपलब्धि रचे ‘इन्डिया मसलमेनिया– २०२३’ को गोल्ड मेडल ।

आजको युवा पुस्ता फिटनेसका लागि खुबै जिम धाउन थालेको छ । तर उनीहरूको खानपान र जीवन शैलीमा भने ठुलो भिन्नता देखिँदैन । कार्की भने जिम वा फिटनेस सेन्टर जानु मात्र ठुलो विषय ठान्दैनन् । आफू जति अनुशासनमा रहन सकिन्छ त्यति नै स्वस्थ्य, सुन्दर अनि फिट हुन सकिने कार्कीको बुझाइ छ । उनी भन्छन्, ‘स्वस्थ्य जीवन शैलीका लागि एन्टी एजिङ र सुगठित शरीरका लागि फिटनेस महत्त्वपूर्ण छ । अझ व्यावसायिक जीवनमा व्यस्त रहनेहरूका लागि यो झनै महत्त्वपूर्ण छ’, उनी थप्छन्, ‘तर जिम जाने मात्र नभई खानपानमा विशेष अनुशासित हुने हो भने अझ त्यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’

kishwor karki  (6)

‘फिटनेस जीवनशैलीका लागि मात्र होइन रहेछ, यो त आफ्नो नामका लागि, पेसाका लागि पनि हुने रहेछ । अझ भनौँ राष्ट्रका लागि खेल्न पाउँदा र राष्ट्रकै झन्डा उचाल्न पाउनु घरपरिवार र आफ्नै लागि पनि प्रेरणाको स्रोत रहेछ,’ नेपालका लागि गोल्ड मेडल जितेपछि किशोरले प्राप्त गरेको दिव्य ज्ञान हो यो । 

‘मसलमेनिया’ को सम्पूर्ण विधामा उत्कृष्ट हुँदै च्याम्पियन हुन सफल भएका कार्कीले गोल्ड मेडल मात्र जितेनन्, उनी अमेरिकाको लास भेगसमा आयोजना हुने मसलमेनिया युनिभर्सका लागि छनोटसमेत भएका छन् । ‘अबको मेरो लक्ष्य भनेको लास भेगसमा आयोजना हुने मसलमेनियामा च्याम्पियन हुने र देशको झन्डा फहराउने हो’, उनी भन्छन्, ‘त्यसका लागि उत्साहित र डेडिकेटेड पनि छु ।’ 

उनले शारीरिक सुगठनबाटै आफ्नो र देशका लागि प्रतियोगितामा जाने बताउँदै गर्दा उनी त्यसका लागि चाहिने लगानी सम्झन्छन् अनि अघि अघि जितेका प्रतियोगितामा गरेको खर्च सम्झन्छन् । तुलना गर्दै आर्थिक अभाव सल्ट्याउनकै लागि कसैले प्रायोजन गरे लास भेगसको यात्रा सहज हुने बताउँछन् । भन्छन्, ‘कुनै पनि प्रतियोगितामा भाग एउटा बडी बिल्डर आर्थिक र मानसिक दुवै रूपमा बलियो हुनुपर्ने हुन्छ । जीवनमा आउने थुप्रै कुरा त्याग्न सक्नुपर्ने रहेछ । अर्कोतर्फ खानपानमा पनि उत्तिकै ध्यान पुर्‍याउनुपर्ने हुनाले लास भेगसको यात्राका लागि आर्थिक स्पोन्सरसिप आवश्यक छ । अरू त म तयार नै छु ।’

kishwor karki  (1)

जिम र फिटनेस इमानदारिता, समर्पण र हार्डवर्कमा निर्भर  

किशोरको फिटनेस तथा जिम यात्रा ५५ केजी तौल हुँदाबाट सुरु भएको थियो । जिम जाने तर खानपानमा ध्यान नपुर्‍याउँदा आफ्नो तौल ह्वात्तै बढेको उनको अनुभव छ । सुनाउँछन्, ‘डेडिकेसन, हार्डवर्क त थियो तर टाइम फ्रेममा रहेर नखाने वा बाहिरको जे पनि खाने बानीले म ५५ बाट ७०–८० केजी तौल पुगेको थियो । पछि फेरि टाइम फ्रेममा बसेर चिनी, मैदा तथा तेल भएका खानेकुरा इन्कार गर्दै अघि बढेपछि म फिट पनि भएँ, कन्फिडेन्ट पनि बढ्दै गयो ।’ २–३ वर्षमै आफूले राम्रो गर्न सकेको र विभिन्न प्रतियोगितामा सफल हुन सकेको कार्कीको अनुभव छ । 

फिटनेस जानु वा जिम जोइन गर्नु मात्र ठुलो कुरा नभएर आफूलाई त्यस क्षेत्रमा स्थापित गर्न सक्नु पनि महत्त्वपूर्ण रहन्छ । शारीरिक सुगठनका लागि त्यसमै समर्पित भएर लगानी गर्न सक्ने हो भने सोचे जस्तै ‘फिजिकल ट्रान्सफर्मेसन’ प्राप्त गर्न सकिने किशोरको सुझाव छ । अर्कातर्फ ‘फिजिकल ट्रान्सफर्मेसन’ र कन्फिडेन्ट दुवै एकसाथ भयो भने शारीरिक सुगठनकै माध्यमबाट पेसा र पहिचान पनि प्राप्त गर्न सकिनेमा किशोर ढुक्क छन् ।

हरेक मान्छेका लागि फिट्नेसको महत्त्व दर्साउँदै किशोर भन्छन्, ‘यो पेसा त हुन सक्छ नै अर्कोतर्फ स्वस्थ र फिट जीवन शैलीका लागि पनि फिटनेस र बडी बिल्डिङ  महत्त्वपूर्ण छ । अझ सहर केन्द्रित जीवन शैली अपनाउने जमातका लागि त स्वास्थ्य र तन्दुरुस्त रहन फिटनेस अनिवार्य जस्तै बनेको छ,’ किशोर थप्छन्, ‘फिट्नेसमा दिएको समय इमानदारसाथ सदुपयोग गर्ने हो भने साँच्चिकै राम्रो रिजल्ट प्राप्त गर्न सकिन्छ । किनकि स्वस्थ र फिट रहने सबैमा आवश्यकता र रहर पनि हुन्छ ।’

घरपरिवारको साथ 

लामो समयको मेहनतपछि किशोरले एसियन लेभलको इन्डिया मसलमेनियामा गोल्ड मेडल हात पारे । तर जितको श्रेय उनी  आफैँ मात्र लिँदैनन् । अन्तर्राष्ट्रिय लेभलको प्रतियोगितामा देशका लागि झन्डा फहराउँदै मेडल जित्न उनी सफल हुनुमा श्रमती मल्लिका नापितको भूमिका पनि महत्त्वपूर्ण ठान्छन् । किशोर भन्छन्, ‘मेरो यो यात्रालाई सहज बनाउनमा श्रीमतीको भूमिका ठुलो छ । अर्कातर्फ तमाम गुरुहरू र आफ्नै परिवारप्रति पनि म ऋणी छु’, किशोर आफ्नी आमालाई सम्झिँदै थप्छन्, ‘मेरी आमाको सहयोग पनि अतुलनीय छ । दिनको दुई केजी ‘बोनलेस चिकेन’ सहित १० वटा अन्डा, प्लेन राइस र आवश्यक सबै प्रोटिनको प्रबन्ध आमाले नै मिलाइदिनुहुन्थ्यो ।’ परिवारबाटै यो सहयोग प्राप्त गर्नु किशोरका लागि अर्को सौभाग्य थियो ।

kishwor karki  (2)

यही साथ र सहयोगले नै भारतबाट ट्रफी र मेडल बोकेर आउँदा उनलाई लिन युवाहरूको समूह एरपोर्टमै पुगेको थियो । त्यतिबेला युवा तथा खेलकुद मन्त्रीको उपस्थितिमा सम्मानित हुने अवसर पनि उनले प्राप्त गरे । सन्दर्भ सम्झिँदै किशोर भन्छन्, ‘गोल्ड मेडल मात्र होइन धेरैका माया, साथ र सम्मान प्राप्त भयो । यसले झनै हर्षित छु, आगामी खेलहरूका लागि प्रेरित छु ।’

आर्थिक सङ्कट र गिभअपसम्मको मानस्थिति...

किशोरलाई याद छ नेपालमै आयोजना भएको प्रतियोगितामा जित हासिल गर्न आवश्यक बजेट उनीसँग थिएन । ‘पहिले दुई लाख जतिले एउटा प्रतिस्पर्धा सकिन्थ्यो तर पछिल्लो समय यो बजेट बढ्दो छ,’ किशोर सुनाउँछन्, ‘प्रतियोगितामा भाग लिनुअघि मानसिक मात्र नभएर आर्थिक रूपमा पनि तयार हुनु पर्छ ।’

मसलमेनियाको तयारीमा मात्र उनले एक वर्षमा करिब ८ लाख खर्च गर्नुपर्‍यो । तर प्रतियोगिताबाट न उनले नगद पुरस्कार प्रप्त गरे न त उनलाई कसैलो स्पोन्सरसिप नै गर्‍यो । अब लास भेगसमा आयोजना हुने प्रतियोगितामा कसरी खर्च जुटाउने भन्ने पिरोलोमा छन् उनी । 

kishwor karki  (3)

पुरानो क्षण सम्झिँदै किशोर सुनाउँछन्, ‘मसलमेनियाको कम्पिटिसनको केही दिनअघि मात्र आर्थिक अभावकै कारण प्रतियागिता नै गिभिअप गर्ने निर्णय गरेको थिएँ । तर श्रीमतीले जसोतासो मिलाइछन् र निरन्तरता दिएँ,’ किशोर थप्छन्, ‘अरू सबै कुराले साथ दिए पनि पैसा वा स्पोन्सरसिप भएन भने त धेरै गाह्रो हुने रहेछ ।’

जिम तथा फिटनेस सेन्टरमा प्रशिक्षकका रूपमा रहेर आफ्नो जीविकोपार्जन गर्न अहिले आफू सक्षम रहेको किशोर बताउँछन् । उनी भन्छन्, ‘राष्ट्रिय अन्तर्राष्ट्रि स्तरबाट मेडल जित्दै गएपछि आफ्नो परिचय बढ्दै गएको छ । यसले व्यस्तता पनि बढाउँदै गएको छ भने पर्सनल ट्रेनरका रूपमा आफ्नो माग पनि बढेको छ ।’ यही कामबाट विभिन्न प्रतियोगितामा लागेको खर्च उठाउन सकिन्छ कि भन्न आशामा अघि बढिरहेका छन् किशोर ।

बडी बिल्डर किशोरको दैनिकी र खानपान

कलङ्की बस्दै आएका किशोर हरेक बिहान पाँच बजे उठ्ने र प्रायः एकनासको दैनिकीमा हुन्छन् । उठ्नसाथ कागती पानी पिउँदै उनी प्रशिक्षणका लागि बानेश्वरस्थित फिटनेस सेन्टर पुग्छन् । बिहान ८ बजे १० वटा अण्डा (पहेँलो भाग छाडेर) ब्रेकफास्टका रूपमा लिन्छन् । पुनः पर्सनल ट्रेनरका रूपमा अर्को फिटनेस सेन्टर पुग्छन् । बाँकी समय भैँसेपाटीस्थित गोल्ड जिम सेन्टरमा बिताउँछन् । जहाँ उनी आफू पनि वर्क आउट गर्छन् र प्रशिक्षकका रूपमा पनि आबद्ध छन् । 

यो क्रममा उनीले दुई दुई घण्टाको फरकमा चिकेनसँग प्लेन राइस खाने गरेको सुनाउँछन् । जसमा उनले एक दिनमा दुई केजी ‘बनलेस चिकेन ब्रेस्ट’ खाने गरेको सुनाउँछन् । उक्त समय उनी प्रोटिनयुक्त खानेकुरासहित ग्लुटामिन, बीसीए, प्रि–वर्क आउट, फिस ओइल, मल्टी भिटामिन, प्रोटिन आदिको उपभोग गर्छन् । यसले किशोरको खुराक पुग्छ । 

kishwor karki  (4)

उनी हरेक मान्छेलाई स्वास्थ रहन हेल्दी कार्ब र हेल्दी प्रोटिन मात्र खान अनुरोध गर्छन् । विशेष गरेर चिल्लो, चिनी र मैदाबाट टाढै रहन पनि सुझाव दिन्छन्  । यी तीन कुराले बडी ट्रान्सफर्मेसनमा असर पुर्‍याउने उनको बुझाइ छ । अर्कोतर्फ फिटनेस र बडी बिल्डिङ कम्पिटिसनमा जाने मान्छेले त झनै खानपानमा ध्यान पुर्‍याउनुपर्ने उनको सुझाव छ । 

सामान्यतः जिम जोइन गर्ने तर त्यसको निरन्तरता नहुँदा शरीर बिग्रने वा समस्या आउँछ कि भन्ने धेरै मान्छेमा गलत बुझाइ हुने गरेको छ । त्यसमा व्यक्ति स्वयंकै कमजोरी रहने गरेको कार्की बताउँछन् । जिम जाँदा नियमित डाइटिङ मिलाउने र जिम जान छाडेपछि जे पनि खाने र नहुँदा खाँदै नखाने गर्दा शरीरमा खानाको मात्र कम हुने, प्रोटिन नपुग्ने हुनाले शरीरका मसल कमजोर हुँदै जाने किशोर बताउँछन् । जिम छाडेपछि पनि खानपानमा विशेष ध्यान पुर्‍याउने हो भने शरीरमा कुनै पनि समस्या नआउने दाबी गर्छन् । 

बडी बिल्डरहरूका लागि तौल घटाउने वा बढाउने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अर्कोतर्फ सामान्य जीवनयापन गरिरहेका मन्छेका लागि पनि तौल घटाउने वा बढाउने विषय महत्त्वपूर्ण नै हुन्छ । किशोर भन्छन्, ‘शरीरको तौल छिटो छिटो घटाउनु राम्रो हुँदैन, यसले मसल वास हुन सक्छ,’ उनी आफ्नै अनुभव सुनाउँछन्, ‘मैले ३ महिनामा १० केजी घटाएको छु । तर जति थोरै समय लिएर तौल घटायो त्यति नै मसल वास हुन्छ । त्यसैले राम्रो ट्रान्सफर्मेसन कोचको सहयोगमा समय लगाएर मात्र शरीरको तौल घटाउने वा बढाउने गर्नु उपयुक्त हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया