बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
दुई दिने नेपाल भ्रमण

भारतीय विदेशमन्त्री जयशंकरको भ्रमण कति उपलब्धिपूर्ण ?

शुक्रबार, २० पुस २०८०, १४ : ४७
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । भारतीय विदेशमन्त्री एस.जयशंकरको दुई दिने नेपाल भ्रमण सकिएको छ । उनको यो भ्रमणका क्रममा भएको सम्झौतालाई नेपालले ठुलो उपलब्धिका रुपमा लिएको छ ।

भ्रमणका क्रममा कुनै राजनीतिक सन्धिसम्झौतामा छलफल नभए पनि विकास निर्माण, आर्थिक समृद्धिलगायतका विषयमा महत्त्वपूर्ण निर्णय भएको सरकार पक्षको दाबी छ । 

नेपाल–भारतको संयुक्त आयोग बैठकमा सहभागी हुन बिहीबार बिहान १० बजे नेपाल आइपुगेका भारतीय विदेशमन्त्री जयशंकर आज मध्याह्न १२ बजे स्वदेश फर्केका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरी नेपाल भ्रमणको सुरु गरेका उनले आज त्रिभुवन विश्व विद्यालयको केन्द्रीय पुस्तकालय उद्घाटन गरी भ्रमण टुङ्ग्याएका हुन् ।

नेपालमा २६ घण्टा व्यस्त समय बिताएका उनले भ्रमणको सुरुमै राष्ट्रपति पौडेलसँग भेटघाट गरेका थिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनले सिंहदरबारमा भेटवार्ता गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी याक एण्ड यति होटल पुगेका थिए । त्यहाँ उनले आफ्ना समकक्षी परराष्ट्रमन्त्री एनपी साउद छलफल गरेका थिए ।

सो छलफल लगत्तै संयुक्त आयोगको बैठक बसेको थियो । बैठकपछि विभिन्न सम्झौतामा हस्ताक्षर तथा राहत हस्तान्तरण गर्ने कार्यक्रम थियो ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि बजेटको सीमा पाँच करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्याइएको छ । त्यस्तै, दश वर्षको अवधिमा नेपालबाट भारततर्फ हुने विद्युत निर्यातको परिमाण १० हजार मेगावाटसम्म पुर्याउने दुई देशको बिचमा सहमति भएको छ ।

यसका लागि नेपालको जलविद्युत उत्पादन क्षेत्र र प्रसारण पूर्वाधारमा पारस्परिक लाभदायी लगानीलाई प्रोत्साहन गर्न सबै उपाय अपनाउने कुरामा दुवै पक्ष सहमत भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) द्वारा निर्मित मुनाल स्याटेलाइटका लागि न्यूस्पेस इन्डिया लिमिटेड र नास्टबिच प्रक्षेपण सेवा सम्झौता भएको छ ।

भारतका विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री साउदले नेपाल–भारतबिच रहेको तीन वटा १३२ केभी अन्तरदेशीय प्रसारण लाइन संयुक्त रुपमा उद्घाटन गरेका थिए । जाजरकोटका भूकम्प पीडितका लागि राहत सामग्री पनि उपलब्ध गराइएको थियो ।

जाजरकोटमा हालै गएको भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न भारत सरकारले करिब एक सय करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा भारतीय विदेशमन्त्री एस जयशंकरले गरेका छन् ।

परराष्ट्रमन्त्री साउदले विदेशमन्त्री जयशंकरको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए । सो कार्यक्रमपछि मन्त्री जयशंकरले विभिन्न दलका शीर्ष नेताहरुसँग भेटघाट गरेका थिए । कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसँग उनले भेट गरेका थिए ।

मन्त्री जयशंकरसँग भेटवार्ताका लागि उनीहरु बत्तीसपुतलीस्थित द्वारिका होटलमा पुगेका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको नारा ‘सबका साथ, सबका विकास’ स्मरण गराउँदै मन्त्री जयशंकरले सबैलाई विकासमा जोड दिन आग्रह गरेका थिए । उनले कामभन्दा बढी राजनीति हुने गरेको भन्दै अब राजनीति छाडेर विकास गर्नुपर्नेमा जोड दिए । त्यसमा भारत हरेक सहयोग गर्न तयार रहेको उनको प्रतिबद्धता थियो ।

‘नेपालमा अहिले जनतामा देखिएको उकुसमुकुस विकास निर्माणका काम नभएर हो, काम गर्न सुरु गरेपछि सबै आफैँ हराउँछन्,’ जयशंकरले भनेका थिए । नेपालमा हरेक कुरामा राजनीति हुने गरेको भन्दै उनले गुनासो गरेका थिए । मधेसवादी दलका नेताहरुलाई एक साथ भेटेका जयशंकरले उनीहरुलाई संगठित हुन सुझाव दिएको स्रोतले जनाएको छ ।

एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले विदेशमन्त्री जयशंकरको यो भ्रमण कुनै राजनीतिक भ्रमण नभएर नियमित बैठकका लागि भएको बताए । ‘नेपालले विशेष निमन्त्रणा दिएर बोलाएको पनि होइन, त्यही भएर राजनीतिक भ्रमणभन्दा यो नियमित बैठकका लागि भएको भ्रमण हो,’ उनले भने, ‘यो बैठकले गरेका केही सम्झौता तथा समझदारीले दुई देशको बिचमा राम्रो सम्बन्ध बनाएको छ ।’

यद्यपि १० हजार मोगावाट बिजुली खरिददेखि लिएर भएका अन्य सम्झौता कसरी कार्यान्वयन हुन्छ भन्नेमा जोड दिनुपर्ने भट्टराईले बताए । १० हजार मेगावाट बिजुली हामी दिनसक्छौँ कि सक्दैनौँ, त्यो अनुसारको लगानी आउँछ कि आउँदैन भन्ने कुरामा पनि ध्यान दिनुपर्छ,’ उनले भने, ‘सम्झौता हुनु राम्रो कुरा हो तर त्यसको कार्यान्वयन पक्ष कस्तो हुन्छ, त्यसमा भर पर्छ ।’

भारतले नेपाललाई सहयोग गर्ने २० करोड रुपैयाँसम्मको सिलिङ तोकिनु पनि राम्रो भएको उनले बताए । तर त्यो नेपालको केन्द्रीय बजेट अनुसार खर्च हुनुपर्ने उनले बताए । ‘त्यो खर्च भारतको आवश्यकता तथा चाहना अनुसार होइन, हाम्रो चाहना र आवश्यकताको आधारमा खर्च हुनुपर्छ,’ उनले भने, ‘भारतले दिने आर्थिक सहयोग कसरी खर्च गर्ने, कहाँ खर्च गर्ने, त्यसको सम्पूर्ण जिम्मेवारी नेपालसँग हुनुपर्छ ।’

केही राजनीतिक भेटघाट भएको र दुई देशको बिचमा राजनीतिक भेटघाट हुनुलाई अन्यथा लिन नहुने बताउँदै भट्टराईले राजनीतिक भेटघाटले पनि दुई देश बिचको सम्बन्धलाई बलियो बनाउने बताए ।

पूर्व राजदूत एवं विदेश मामिलाका जानकार विजयकान्त कर्णले यो भ्रमणले दुई देशबिचको सम्बन्ध झन् बलियो भएको बताए । ‘यो भ्रमणले वर्तमान सत्ता गठबन्धनलाई झन् बलियो बनाएको देखिन्छ,’ उनले भने, ‘विदेशमन्त्री जयशंकरको भ्रमणले सत्ता गठबन्धन झन् बलियो भएको सन्देश गएको छ, भारतले राजनीतिक स्थायित्वका लागि यो गठबन्धनलाई निरन्तरता दिएको देखिन्छ ।’

कर्णका अनुसार १० हजार मेगावाट बिजुली बिक्रीको कुरा नेपालमा धेरै पहिलादेखि उठ्दै आएको कुरा भए पनि भारतले सम्झौता गरिरहेका थिएन । तर अहिले त्यसमा सम्झौता हुनु नै ठुलो उपलब्धि रहेको उनले बताए ।

‘जति पनि सम्झौता भएका छन्, त्यसमा कुनै दलको विरोध छैन, सायद पहिलो पटक यस्तो भएको हो,’ उनले भने, ‘नत्र भारतबाट कसैको भ्रमण हुँदा अनेक झमेला हुन्थ्यो, विरोध हुन्थ्यो । त्यो यसपटक देखिएन ।’

कसैले व्यक्तिगत रुपमा विरोध गर्नु बेग्लै कुरा भए पनि यस पटक संगठित रुपमा कहीँबाट कुनै कुरामा विरोध नभएको उनले प्रस्ट पारे । यो भ्रमणले दुई देश बिचको सम्बन्ध अझै बलियो बनाएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप