सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कला

साझा क्षितिज : थाई र नेपाली कलाहरू

शनिबार, २१ पुस २०८०, १६ : ३०
शनिबार, २१ पुस २०८०

ललितपुरस्थित ‘क्लासिक कला दीर्घा’मा भर्खरै १६ कलाकारको सामूहिक चित्रकला र मूर्तिकला प्रदर्शनी गरियो । २०२३ को डिसेम्बर १२–३० सम्म चलेको यस प्रदर्शनीमा थाइल्यान्डका चारजना (जारुवान मुइन्याख्वा क्रिपोल किटिसिरोट, नेत्सुरी टेकाविरियाविसिन, भासन सिथिकेट) र नेपाली १२ कलाकार (अनामिका गौतम, विनोद प्रधान, कुन्तीश्री थापा, मुकेश श्रेष्ठ, निलेश शाक्य, सञ्जित महर्जन, सुचिन श्रेष्ठ, सुदीक्षा डंगोल, सुजन डंगोल, सुनिता महर्जन, सुरज शिल्पकार र सुशिला सिंह) का कला प्रदर्शन गरिएका थिए । यी सबै युवा कलाकारले ‘साझा क्षितिज’ (सेयर्ड होराइजन्स) नाम दिएर गरेको प्रदर्शनीमा पाँचवटा स–साना मूर्तिबाहेक सबै चित्र थिए । 

थाइल्यान्डका कलाकारका चित्र

यसपल्टको प्रदर्शनीमा राखिएका समसामयिक चित्र वा मूर्तिहरू (नेपाल वा थाइल्यान्ड दुवै राष्ट्रका) पश्चिमी अङ्कन पद्धतिबाटै सिर्जना गरिएका हुन् । यस कारण नेपाल र थाइल्यान्डका कलाहरू झट्ट हेर्दा एकैजस्तो देखिन्छन् । तथापि संयोजन र प्रस्तुतिलाई सूक्ष्म रूपमा केलाउँदा कलाहरू केही फरक ढङ्गबाट देखापर्छन् । पश्चिमी अङ्कन पद्धतिको विश्वमै एक किसिमले प्रभाव भएकाले जुनसुकै राष्ट्रमा बनेका कला भए पनि बुझ्न र पढ्न सजिलो भएको छ । 

थाइल्यान्डका कलाकार नेत्सुरीको ‘वमन आर लाइक फ्लावर्स’ शीर्षकको चित्रमा दुईवटा महिलाका व्यक्तिचित्रलाई चहकिलो रङले समायोजन गरी प्रस्तुत गरिएको छ । ठुल्ठुला तुलिकाघातको प्रयोग अनि चित्रपटभरि सर्वाङ्ग ढाक्ने स्वभाव बोकेको उनका चित्रमा मलिन महिलाको मुखाकृति देखिन्छन् । महिला, फूल अनि सौन्दर्यतालाई समग्रमा भावक माझ प्रवाहित गर्नु नै उनको मूल विशेषता देखिन्छ । उनकै भनाइमा — महिला र फूल एकैजस्तै हुन्, जसले सौन्दर्यको विविधतालाई समेट्छन् । सौन्दर्यमाथिको हरेकको हेराइ अनि धारणा अलग अलग हुने हुँदा हरेकले आ–आफ्नो ढंगले यसलाई परिभाषित गर्ने गर्छन् । यही उनको अलग्ग पहिचान पनि हो । 

अर्का कलाकार भासनका चित्रमा बालबालिकाका विकृत मुखाकृति स–साना गोलाकार चित्रपटमा देखिन्छन् । चहकिला रङ उनलाई मन पर्छ । हाल इजरायल र गाजामा भइरहेको भयावह त्रासदि र युद्ध नै उनको कलाको विषय हो । उनको चित्रमा प्रत्यक्ष युद्ध कहीँ देखिँदैन, तर यसको प्रभावको रूपमा बालकको करुण र भयावह अनुहारलाई त्यहाँ देख्न सकिन्छ । अहिले गाजामा इजरायलबाट भइरहेको हजारौँ मान्छेको हत्या र हिंसाको विरोध स्वरूप उनको कला उभिएको छ । ‘चिल्ड्रेन इटिङ बम्स’, ‘लभ नट वार’ आदि नामका चित्रबाट उनले शान्तिको आह्वान गरेको बुझिन्छ । 

अर्का कलाकार क्रिपोल आफ्ना कलामा फूलहरूसहित देखापरेका छन् । उनका चित्रपटमा लटरम्म फुलेका फूलहरू छन्, अरु केही छैन । यस्तै जारुवानले बिरालोलाई आफ्नो कलाको मूल विषय बनाएका छन् । ‘गुड लक फर योर लाइफ’ नामक उनको चित्र गोलाकार चित्रपटमा उदाएको छ । बिरालो आफैँ एक आकर्षण मायालाग्दो देखिने मात्र होइन, यसले वरिपरिको वातावरणलाई नै रमाइलो बनाइदिन्छ भन्ने उनको आसय नै उनको कलामा घुसेको देखिन्छ । उनको विचारमा बिरालो आफैँ पनि एउटा भाग्यमानी जनावर हो । 

IMG_20231214_120848

नेपाली कलाकारका चित्र 

यसपल्ट १२ नेपाली चित्रकारका चित्र निसन्देह राम्रा छन् । आजका नेपाली युवा कलाकार कलामा सचेत छन्, काममा समसामयिकता छ, अनि मेहनत पनि गर्छन् भन्ने सकारात्मक सन्देश यस प्रदर्शनीले प्रवाहित गरेको थियो । 

मुकेश श्रेष्ठ आफ्नै चिरपरिचित कलागत शैलीमा उदाएका छन् । उनको यो कलागत–सिग्नेचर उनका कामहरू हेरिरहने जो कसैले पनि सजिलै पहिचान गर्न सक्छन् । उनकै भनाइ अनुसार, उनका कलाले आदरभाव, केयर अनि भरोसाबिच विकास भएको प्रेमलाई देखाउँछ । योगासनको एउटा जटिल आसनमा बनेको जस्तो कलागत संरचनामा दुईवटा आकृति मिलेर एउटै भएजस्तो देखिनु उनको कलाको खास विशेषता हो । यस चित्रमा टाउकाहरू तीनवटा छन् । चित्रपटमा तेस्रो टाउकोका लागि एउटा अलग्गै हातले अडाएको दृश्यावलोकन हुन्छ । 

अर्कोचाहिँ वस्त्रविहीन अवस्थामा एउटी मोटी महिलाको चित्रण गरिएको छ । महिलाबाट वायुपङ्खी घोडालाई थिचिएको देखाइएको छ । पहिलो चित्रको नाम ‘लभ इज एडमिनिस्ट्रेसन ः जस्ट होल्ड अन’ र दोस्रोको नाम ‘लभ एन्ड रेस्पेक्ट’ हो । यी दुवै चित्रलाई प्रेमकै अवधारणाले बाँधेको छ । 

उनी खरो कन्सेप्चुअल आर्टिस्ट हुन् । उनको शिल्प दक्षता अझ बलियो हुँदा यसैको पनि अलग्ग चर्चा गर्नुपर्ने हुन्छ । अवधारणाको सन्दर्भ उठ्दा उनको विचारमा प्रेम पास र फेल हुने कुरा होइन, सफल अनि असफलको कुरा पनि होइन । निस्वार्थ भावले हामीले कसैलाई प्रेम गरिरहेका बखत उसले गल्ती गरे पनि हाम्रै दिमाग रिसले तात्तिन सक्छ, हृदयले भने उसलाई केयर गरिरहेको हुन्छ । 

लयात्मक गतिपूर्ण शक्तिशाली रेखाहरू निर्धक्कसँग एउटै लयमा कुद्दा उनको कलामा आउने ठोसपनाले चित्र यसै पनि राम्रो देखिन्छ । थप शारीरिक रचना (एनाटोमी)मा अलिकता पनि तलमाथि हुन नदिने उनको प्रण र सक्षमता, कलर स्किममा गतिलो पकड भएका कारण उनका चित्र भावकमाझ निकै चर्चित छन् । अजीव ढंगको सपाट रङको पृष्ठभूमिमा उदाएका रेखाङ्कनको संरचना उनको चित्रको खास विशेषता पनि हो । मानवीय संरचनालाई बङ्ग्याउने, भाँच्ने, सही र यथार्थ गुण र विशेषतालाई अलिकता पनि खलल नपुग्ने गरी सही तर बेढङ्गजस्तो देखिने खालका कला सन् ६० को उत्तरकालमा बेलायतका कलाकार फ्रान्सिस बेकनले बनाउँथे । यस्तै भारतका तैयब मेहताजस्ता विश्व प्रसिद्ध कलाकारले पनि यस्तै प्रयोग गर्ने गर्थे । धेरै हदसम्म यी कलाकारबाटै मुकेश प्रभावित भएको देखिन्छ । 

कलाकार सुनिता महर्जनले जलरङ अनि कोलाजलाई अद्भुत ढंगले घुलमिल गरी कला निर्माण गरेकी छन् । कहिलेकाहीँ यसलाई मिक्स मिडिया भन्ने चलन पनि छ । विश्व प्रसिद्ध कलाकार पिकासोले सय वर्षपहिले कोलाज पद्धतिलाई उनका क्युबिक आर्ट (क्युबिजम्)मा प्रयोग गरेका थिए । नेपालमा स्पष्ट देखिने गरी कलाकार के के कर्माचार्यले ०२७–२८ सालतिरै यसको प्रयोग गरेका थिए । 

सुनिताको ‘साइलेन्ट कन्भर्सेसन’ नाम चित्रलाई झट्ट हेर्दा एउटा खाली ट्याम्पुमाथि फूलपात अनि फर्सीका लहराले सिँगारिएको परिदृश्य दृश्यावलोकन हुन्छ । सिँगारिएको भाकामा वा स्वाभाविक नैसर्गिक रूपमा लहरेदार प्लान्टहरू जता पायो उतै लहसिएर बगेजस्तो देखिनु उनको कलागत स्वभाव हो । अर्को चित्रमा बिजुलीको तारमा यस्ता लहरा कुदिरहेका देखिन्छन् । तारतारमा कुद्दाकुद्दै बसमाथि पुगेर बसलाई नै गल्र्याम्म छोपेको परिदृश्य पनि उनको चित्रमा देखिन्छ । सबै चित्र एउटै कथाका पात्रजस्तो बनेको देखिनु पनि उनको अलग्ग विशेषता हो । 

कागजमाथि बनाइएको कोलाज सूक्ष्म रूपमा अवलोकन गर्दा उनको चित्रको जरो समात्न गाह्रो हुन्छ । मूलतः गाडीको यथार्थ रूप एउटा फोटोग्राफी हो । स–साना हरिया पातहरूलाई पारदर्शी जलरङका सबल तुलिकाघातले हल्का रूपमा स्पर्श गर्दा दृश्यावलोक हुने कोमल र मुलायम चित्रलाई भावकले सहज रूपमा महसुस गर्छन् । कलालाई सफा सुग्घरका साथ चिटिक्क बनाएर पस्कनु उनको अर्को खुबी हो । साधारण मोटिफहरूलाई सहज प्रकारले समायोजन गर्नु पनि उनको यसपल्टको अर्को कलागत विशेषता हो । त्यसै पनि उनी गतका दशकदेखि नै युवा कलाकारको माझमा राम्रा अनि गुणस्तरका काम गर्ने कलाकारको रूपमा परिचित छन् । सरल र सहज देखिने यो चित्रमा उनको अवधारणा भने निकै खरो देखिन्छ । उनको कथन छ— प्रकृतिसँगको मानवीय नाता, एक अर्कालाई पर्ने असर र मानवले प्रकृतिमाथि गर्ने दोहन आदिबिचको अर्मूत सहवार्ता उनका चित्रमा आएका छन् । आफ्नो स्वार्थका लागि मानवले गर्ने गरेको प्रकृतिमाथिको अतिक्रमण, प्रकृतिले रोष र आक्रोशमार्फत आफ्नो शक्तिलाई प्रकट गर्दा बनेको प्रकोप आदिलाई पनि उनले कलामार्फत सहवार्ताकै रूपमा प्रस्तुत गर्छिन् । 

अर्का कलाकार सुचिनको ‘एङ्गर अफ कन्फाइन्ड डिससेटिसफेक्सन’ नामक चित्र सपाट गरम रङको पृष्ठभूमिमा समाहित छ । यसैमाथि भावभङ्गिमालाई विशेष जोडका साथ समेट्दै मात्र एउटा पात्रका केही अङ्ग मात्रै चलखेल गर्नु उनको चित्रको स्वभाव देखिन्छ । अझ विस्तारमा भन्दा सम्पूर्ण अनुहारलाई (यो उनको आफ्नै अनुहार हो) पूर्णता नदिई केही अवयवलाई सक्रिय गर्नु उनको खास विशेषता देखिन्छ । आफ्नै अविरल यात्रालाई अभिलेखन गर्ने खास लक्ष्य लिएर उनको क्यानभास उदाएको देखिन्छ । आवश्यक पात्र छनोट गर्नु, खास भूमिका दिनु अनि विचार र भावलाई भन्न लगाउनु उनको कलागत विशेषता देखिन्छ । अझ यसपल्ट त सपाट क्यानभासमा मात्र रेखाङ्कनजस्तो पाराले देखापरेको उनको कलामा हस्तमुद्रालाई भावाभिव्यक्तिको माध्यम बनाएको देखिन्छ । विचारहरूलाई सम्पे्रषण गर्ने मुखाकृति अनि हस्तमुद्रामै भावकलाई केन्द्रित गर्ने उनको मनसाय वा आसय पनि देखिन्छ । यस्तै मूल मोटिफले चित्रपट पूरै ढाकिनु पनि उनको कलागत विशेषता हो । कल्पनाशील अनि शिल्प–दक्षता सबल देखिँदा उनका चित्र स्वाभाविक रूपमा शक्तिशाली देखिन्छन् । 

यसपालिको प्रदर्शनीमा कलाकार निलेशका मूर्ति एक अलग्ग संरचनामा देखापरेका थिए । एउटा सामान्य ढुङ्गामा धार्मिक प्रतीकात्मक विम्ब ल्याउँदै (तामाका घन्टी पात्र) प्रस्तुत गरिएको उनको कलामा शिला र धातुको संयोजन पनि घतलाग्दो देखिन्छ । केही सालदेखि उनी यस काममा निरन्तर लागिरहेका छन् । उनका कलामा समसामयिकतासँगै परम्परा, धर्म–संस्कार र संस्कृति आदिलाई समेटिएको देखिन्छ । आध्यात्मिकतालाई आफ्ना कलामा आधुनिक रूपमा ल्याउनु अनि समाज वा समुदायबिच यसको महत्त्वलाई दर्शाउनु पनि उनको लक्ष्य रहेको देखिन्छ । यही नै उनको कलागत स्वभाव पनि हो । 

अर्का कलाकार अनामिका दुई पात्रको मौन संवादलाई प्रस्तुत गर्दै स्वैरकाल्पनिकतामा कला भित्र्याउने उपक्रममा देखिन्छिन् । ‘इट्स ओके सेभेन’ उनको कलाकृतिको नाम हो । अर्की कलाकार सुशिलाको सिरामिक्सका काम पनि त्यत्तिकै आकर्षक रूपमा देखिन गएको छ । 

भर्खरै उदाएकी नवयुवा कलाकार सुदीक्षा डंगोलले ‘क्रिमसन चेन्ज’ नामक चित्रमा बर्दियाकी एक महिलाको कथा (वास्तविक जीवनमा आधारित) ल्याएर त्यसमा अहिलेको सन्दर्भ मिलाउँदै सामाजिक मुद्दाहरूलाई आबद्ध गरेकी छन् । कलाकार कुन्तीश्री आफ्नै कलागत शैलीमा यसपल्ट एउटा गाउँ (प्युठानको ओखरकोट)को परम्परागत संस्कृति र उनीहरूले जिइरहेको जीवनलाई सूक्ष्म रूपमा कलामा ल्याएकी छन् । अहिलेका युवा महिला कलाकार माझ एक अलग्ग धाक जमाइरहेकी कुन्तीश्रीको यस ‘लिभिङ आइकोन’ शीर्षक नाम दिएको चित्रमा क्यानभासभरि अति मसिना रेखा कुदेका देखिन्छन् । काल्पनिक दृश्यचित्रको निर्माण गरेर डाँडाभरि बग्रेल्ती स–साना घर मात्र त्यहाँ उमे्रको देखिँदैन, ठुला अग्ला मठ–मन्दिरहरू पनि सग्लो रूपमा उभिएका देखिन्छन् । झलझल्ती बलेको सूर्यको प्रकाशलाई समेत उनले रेखाहरूको गतिले घुमाउरो पाराले बटार्दै प्रस्तुत गर्न पुगेकी छन् । यो उनको गत सालदेखि विकसित हुँदै गरेको आफ्नै निजी शैली पनि हो । 

यसबाहेक विनोदका चित्र रङ्गीचङ्गी काल्पनिक पहाड र नदीनालाका साथ प्रस्तुत भएका छन् भने अर्का कलाकार सञ्जितले ‘पावर अफ आवर ट्र्यु नेचर’ नामको चित्रका साथ प्रेरणाको मूल स्रोतको रूपमा रहने ध्यानलाई व्याख्या गरेका छन् । 

क्लासिक कला दीर्घा

सानो चिटिक्क परेको ‘क्लासिक कला दीर्घा’ खुला ठाउँ, घमाइलो र सुनसान वातावरणमा छ । मूल बाटोदेखि अलिभित्र भएकाले यस कला दीर्घा शान्त छ, गाडीको घाइँघुइँ त्यति सुनिँदैन । शान्त वातावरणमा कलाको रसास्वादन गर्ने भावकका लागि यो अति उपयोगी ठाउँ हो । नेपालमा रहेको यो एउटै मात्रै यस्तो कला दीर्घा हो, जहाँ नेपाली कलाका पुस्तक पनि पाइन्छन् । अनि कला बनाउने सामग्रीहरू रङ र ब्रस पनि उपलब्ध छन् । विशेष गरेर नेपाली कलालाई अलिकता अध्ययन गर्न, जान्न–बुझ्न खोज्नेका लागि यो ग्यालरी अति उपयोगी छ । 

नेपाली समसामयिक कलाबारे थोरै पुस्तक प्रकाशनमा आएका छन् । यी पुस्तक अन्य कतै पनि पाइन्न, न पुस्तकको पसलमा न पुस्तकालयमा न पुस्तक मेलामा । यी पुस्तक यहाँ पाइनाले पनि कलाका पुस्तक पढ्ने रहर गर्नेका लागि यो ठाउँ अझ उपयुक्त हुन्छ । यसर्थ पनि कला हेर्ने, कला र कलाकारलाई पढ्ने, वातावराणको अनुकूलता हुने हुँदा पनि यो कला दीर्घाको स्वरूपमा अलिकता भए पनि अन्य कलाको ग्यालरीभन्दा पृथक् देखिन्छ ।

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)        

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप