सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

ओलीलाई भेटेको आरोपमा मेरो टिकट खोसियो : हरिबोल गजुरेल

‘अब कुनै गुट उपगुटमा लाग्दिनँ भनेर घोषणा नै गरेको छु’
मङ्गलबार, २४ पुस २०८०, ११ : ४२
मङ्गलबार, २४ पुस २०८०

भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय लिएको नीतिप्रति असहमति जनाउँदै माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले मङ्सिर २० गते प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिए । एक महिनापछि उनको राजीनामा स्वीकृत भयो ।

यसैबिच माओवादी केन्द्रले थालेको विशेष रूपान्तरण अभियानको समीक्षा रिपोर्ट केन्द्रमा आउने क्रम जारी छ । फागुनको पहिलो साता विधान अधिवेशन गर्ने तयारी माओवादीको छ ।

जिम्मेवारीबाट मुक्त भएपछि फुर्सदिला देखिएका गजुरेलसँग यिनै विषयमा केन्द्रित रहेर रातोपाटी संवाददाता गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, गजुरेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

  • करिब १० महिना प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार बन्नुभयो तर सुशासनको पक्षमा सरकार असफल भएको आरोप लगाएर राजीनामा दिनुभयो, किन ?

सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा भ्रष्टाचारविरुद्ध प्रधानमन्त्रीको सुरुवाती प्रयासहरूले जनतामा एकदमै राम्रो छाप परेको थियो । वास्तवमै भ्रष्टाचारविरुद्ध प्रधानमन्त्रीको संघर्ष गर्व गर्न लायक थियो । यसमा आमजनताको साथ र सहयोग अभूतपूर्व रह्यो । परिवर्तन विरोधीहरूको मुख बन्द भएको थियो ।

पछिल्लो समय सरकारले चालेको कदमप्रति जनताको आशंकालाई हामीले मेटाउन सकेनौँ । हाम्रा यिनै कमजोरीमा टेकेर टपरटुइयाँहरूले टाउको उठाउने मौका पाए । जुन अत्यन्तै दुःखद कुरा हो । जनअपेक्षा पूरा गर्ने वातावरण नभएको अवस्थामा जिम्मेवारीमा रहिरहन उचित नहुने भएकाले अलग रहने निर्णय लिएको हुँ ।

  • तर राजनीतिक नियुक्तिमा आफ्ना मान्छे नपरेको झोकमा राजीनामा दिएको आरोप तपाईँमाथि लागेको छ नि ?

हैन, त्यस्तो विल्कुल होइन । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार भएपछि स्वभावैले मानिसहरू विभिन्न समस्या लिएर भेट्न आउँछन् । उहाँहरूको समस्या समाधान गर्न कति सकेँ, सकिनँ त्यो छुट्टै विषय हो । आएका समस्या प्रधानमन्त्रीसमक्ष पुर्‍याउनु मेरो कर्तव्य हो । प्रधानमन्त्रीसँग भेट्न आउने मानिसहरू कति सन्तुष्ट भएर गए, थाहा भएन । तर आफ्ना मान्छेले नियुक्ति नपाएर राजीनामा दियो भन्नु लोभीपापीले चलाएका हल्ला हुन् ।

कतिपयले मलाई राष्ट्रियसभामा जानका लागि बार्गेनिङ गरेको आरोप लगाए । ती बेकारको हल्ला हुन् । सरकारले चालेको कदम ‘ब्याकफायर’ हुने स्थितिमा जिम्मेवारीबाट अलग भएको हुँ । अन्य मेरो कुनै स्वार्थ छैन ।

  • प्रधानमन्त्रीको सचिवालय सदस्यहरूले तपाईंलाई सहयोग गरेनन्, प्रधानमन्त्रीसँग पनि पछिल्लो समय सम्बन्ध राम्रो भएन भन्ने छ, वास्तविकता के हो ?

त्यस्तो होइन । सचिवालय सदस्यसँग मेरो सम्बन्ध राम्रै छ । जति समय मैले काम गरेँ, सबैसँग मेरो राम्रो सम्बन्ध छ । प्रधानमन्त्रीलाई पनि दैनिक सल्लाह दिने होइन, आवश्यक परे उहाँले बोलाएर सल्लाह लिनुहुन्थ्यो । कतिपय अवस्थामा म आफैँ गएर सल्लाह दिन्थेँ । व्यक्तिगत रूपमा मेरो कसैसँग सम्बन्ध नराम्रो छैन । मुख्यतः सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदमप्रति मेरो विमति हो । प्रधानमन्त्रीसँग टसल गरेर बस्नुभन्दा बाहिरिनु उपयुक्त ठानेर अलग भएको हुँ ।

  • तपाईं नेकपाकालदेखि नै अध्यक्षसँग असन्तुष्ट हुनुहुन्थ्यो । गत वर्ष प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि असन्तुष्टि बढ्दै गएको चर्चा चलेको छ । राजीनामा प्रकरण त्यसकै उत्कर्ष हो ?

त्यतिबेला जब नेकपा दुर्घटना पर्ने स्थिति देखेपछि मैले दुई अध्यक्षलाई मिलाउन भूमिका खेलेकै हो । तत्कालीन नेकपालाई अत्यधिक मतसहित जनताले अनुमोदन गरेका थिए । २०७७ साल मङ्सिरतिर आइपुग्दा नेकपा एक हुँदैन भन्ने अनुभूति जब मलाई भयो, त्यसपछि केपी ओलीलाई सम्झाउन गएको हुँ । तर मलाई मन्त्री खान ओलीकोमा गयो भन्ने आरोप लाग्यो । सोही आरोपमा गत वर्ष मेरो टिकट खोसिएकै हो । पदमा लालच देखाएको भए अहिले पनि किन राजीनामा दिन्थेँ र ? मन्त्रीसरहको सेवा सुविधा पाएकै थिएँ ।

  • तपाईं पार्टी परित्याग गरी एमाले जान लागेको आरोप छ नि ?

आरोप लगाउनेले जे पनि लगाउँछन् । एमालेमा जाने भए नेकपाकालमै जान्थेँ नि । म एमालेमा किन जाने भन्नोस् त ? एमाले र माओवादीमा के फरक छ र ? बुर्जुवा पार्टीमा जानुभन्दा माओवादी नै ठिक छ । त्यसकारण यी सब बेकारका हल्ला हुन् ।   

  • सरकारको एक वर्षको कामलाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

मैले अघि नै भनिसकेँ । सुरुवाती चरणमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा सरकारले चालेको कदम उत्साहजनक थियो । गुमिसकेको साख फर्काउन मद्दत गरेको थियो । भ्रष्टाचारविरुद्ध माओवादी नेतृत्वको सरकारले मात्र केही गर्छ भन्ने जनतामा विश्वास जागेको थियो । मैले पनि प्रधानमन्त्रीलाई सफल बनाउन धेरै मेहनत गरेकै हुँ ।

पछिल्लो समय सरकारलाई ‘ब्याकफायर’ हुने गरी प्रधानमन्त्रीले ललिता निवासमा पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल र बाबुराम भट्टलाई जोगाउने काम गर्नुभयो । सुन प्रकरणमा आफ्नै पार्टीकै नेता संलग्न भए पनि नछोड्नोस् भनेर सल्लाह दिएको थिएँ । पदाधिकारी बैठकले पनि त्यही म्यान्डेट दिएको थियो । तर उहाँले पार्टी र मेरो सल्लाह मान्नुभएन । अब चाहेर पनि यो सरकारले राम्रो काम गर्न सक्दैन । कि पहिल्यै भ्रष्टाचारको फाइल खोल्न हुने थिएन । खोलिसकेपछि निष्कर्षमा पुर्‍याउनु पर्थ्यो । सरकारले ठुलो अवसर गुमायो ।

  • सरकार असफल हुने भएपछि सल्लाहकारबाट राजीनामा दिनुभयो । पार्टी पनि असफलतातर्फ गयो भने पार्टी नै छोड्नु हुन्छ ?

पार्टी त किन छोड्ने मैले ? प्रधानमन्त्रीको सल्लाहकार र पार्टी अलग विषय हो । म कुनै निश्चित अवधिका लागि सो पदमा नियुक्त भएको हुँ । सरकारको असफलतासँगै मेरो असफलता देखिने भएपछि पद त्यागेको हुँ । तर पार्टी छोड्ने भन्ने हुँदैन । पार्टी छोडेर पनि नयाँ पार्टी खोल्ने अवस्था छ र ? अब पार्टीभित्र निरन्तर विचारको बहस चलाउँछु ।

  • २०६४ मा शक्तिशाली रहेको माओवादी २०८० सम्म आइपुग्दा दुई अङ्कमा खुम्चिएको छ । यो तपाईंहरूको असफलता होइन ?

नेतृत्वको कमजोरीका कारण पार्टीले पराजय भोगेको हो । माओवादी आन्दोलन कमजोर भएको होइन । हामीले नसके अन्य कसैले कम्युनिस्टको झण्डा उठाउँछन् । कम्युनिस्ट आन्दोलन निरन्तर अगाडि बढ्छ । पार्टीभित्र विचारको संश्लेषण नहुँदा समस्या आएको हो । माओवादी आन्दोलनले सामन्तवादको अन्त्य गरे पनि दलाल पुँजीवादको अन्त्य भएको छैन । यसको अन्त्य नभएसम्म माओवादी आन्दोलन  उठ्न सक्दैन । जुन अहिलेको नेतृत्वबाट सम्भव छैन ।

  • पार्टी नेतृत्वलाई दोष दिएर जिम्मेवारीबाट भाग्न खोज्नुभएको हो ? तपाईंमाथि पनि पार्टी कमजोर बनाउन गुट बनाएको आरोप छ नि ?

बाबुरामले पार्टी छोडेपछि म कुनै गुट वा उपगुटमा छैन । म अहिले मिसनमा हिँडेको छु । गुटबन्दीले पार्टी कमजोर हुन्छ । अब कुनै गुट उपगुटमा लाग्दिनँ भनेर घोषणा नै गरेको छु । मेरो अहिले कुनै गुट छैन । पार्टीभित्र अब विचारको बहस आवश्यक छ । त्यसलाई निरन्तरता दिन्छु ।  

पार्टी अहिले गुटबन्दीको घेराबन्दीमा छ । गुटबन्दीले तिक्तता ल्याउँछ । तिक्तताले शत्रुता बढ्छ । शत्रुतापूर्ण व्यवहारले पार्टी बन्दैन । त्यसैले पहिला गुटको अन्त्य गरी विचारको संश्लेषण हुन जरुरी छ ।

  • माओवादी शक्तिलाई पुनर्स्थापित गर्न देशभर सञ्चालन भएको विशेष रूपान्तरण अभियान अन्तिम चरणमा पुगेको छ । फेरि माओवादी बलियो शक्तिमा उदाउन सम्भव छ ?

जबसम्म विचारको संश्लेषण हुँदैन, तबसम्म रूपान्तरण अभियानले केही हुनेवाला छैन । पहिलो नेतृत्व रूपान्तरण नभएसम्म पार्टी रूपान्तरण हुन सक्दैन । रूपान्तरण भन्ने कुरा स्वयंलाई नै महसुस हुने कुरा हो । म बिग्रिएँ भन्ने महसुस जुन दिनबाट हुन्छ, त्यही दिनबाट रूपान्तरण हुनुपर्छ कि पर्दैन ? साउनमा केन्द्रीय समिति बैठकबाट अब रूपान्तरण हुन्छौँ भनेर निर्णय गर्‍यौँ । तर जीवनशैली, आचरण र व्यवहारमा कुनै सुधार आएको तपाईंले देख्नुभएको छ ? चार महिने अभियानको क्रममा के के भए, सबैलाई थाहा छ । रूपान्तरण कुनै तिथिमिति तोकेर हुने होइन । यो आफूमा अनुभूति भएपछि त्याग्ने विषय हो । अभियानबाट खासै उत्साहित हुन सक्ने स्थिति छैन ।

  • त्यसो भए पार्टीको भविष्य कस्तो देख्नुहुन्छ ?

अहिलेको नेतृत्वबाट पार्टी बन्ने सम्भावना म देख्दिनँ । पार्टी निकै अप्ठ्यारो स्थितिमा छ ।  

  • अध्यक्षले केन्द्रीय समितिमा बहुमत जुटाएर आफूलाई हटाउन चुनौती दिइरहनुभएको छ । समितिमा बहुमत जुटाउन नसक्ने अनि बाहिर नेतृत्वको आलोचना गर्नुको के अर्थ छ ?

त्यसका लागि समय लाग्छ । हामीले नसके युवा आउँछन् । यो निरन्तर चलिरहन्छ ।

  • अध्यक्षले पार्टी रूपान्तरण गर्छु, निर्मम ढङ्गले अगाडि बढ्छु भनिरहनु भएको छ । पहिलोपटक विधान अधिवेशन हुँदैछ । त्यसपछि विशेष महाधिवेशन हुन्छ भन्नुभएको छ । त्यति हुँदा पनि नेतृत्वप्रति किन अविश्वास ?   

पार्टी नेतृत्व नै विधि, पद्धति र प्रक्रियाभन्दा बाहिर गएपछि पार्टी कसरी बन्छ ? विधान जतिसुकै बलियो बनाए पनि कार्यान्वयन नभएपछि के हुन्छ ? आठौँ महाधिवेशनमा विधि, पद्धति र प्रक्रियाबारे धेरै बहस गर्‍यौँ । केन्द्रीय समितिमा पनि बहस पैरवी गर्‍यौँ । तर व्यवहारमा कतै कार्यान्वयन देखिएन । हामीले विधान अधिवेशन गर्ने भनेका छौँ । त्यहाँ विचार, सिद्धान्त, विधि–प्रक्रियाबारे बहस गर्छौँ । विचार संश्लेषणको आधारमा एउटा निष्कर्षमा पुग्छौँ । त्यसैले अब प्रतिबद्धता मात्र होइन, व्यवहारमा कार्यान्वयन भयो कि भएन भन्ने विषय महत्त्वपूर्ण हो ।

  • विधान अधिवेशनको तयारी कस्तो छ ?    

अहिले सबै प्रदेशबाट अभियानको समीक्षा रिपोर्ट आउने क्रम जारी छ । रिपोर्ट आएपछि मात्र समग्र अवस्थाबारे थाहा हुन्छ । मूलतः पार्टीभित्र विचारको बहस गर्नेछौँ । छिट्टै पार्टीको केन्द्रीय समिति बैठक बस्ला । त्यसपछि के गर्ने भन्ने विषयमा एउटा निष्कर्षमा पुग्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप