प्रहरीले लगायो ‘लिटिल बुद्ध’लाई हत्कडी, प्रहरी पुगेपछि दुई तलाबाट हामफालेर भाग्न खोजेका थिए

काठमाडौँ । ‘तपस्वी’ राम बहादुर बम्जन (लिटिल बुद्ध)लाई प्रहरीले हत्कडी लगाएको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले हात्तिगौंडाबाट पक्राउ गरेको हो ।
प्रहरी पुग्दा उनी घरको दोस्रो तलाबाट हामफालेर भाग्न खोजेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख (एआईजी) किरण बज्राचार्यले बम्जन भाग्न खोजेको बताइन् । उनले भनिन्,‘भाग्न खोजेका थिए ।’
बम्जनलाई पक्राउ गर्न ब्यूरोका डीएसपी धर्मराज भण्डारी नेतृत्वको टिम उनी बस्ने घरमा पुगेको थियो । हात्तिगौंडामा उनी परिवारसँग बस्दै आएका थिए । बम्जनको निगरानीमा २५ जना प्रहरी परिचालन गरिएको हुनाले उनी भाग्न पाएनन् ।
अपरेशनमा खटिएका एकजना प्रहरी अधिकृत भन्छन्,‘बाहिर र भित्र कभर गरेका थियौँ, त्यसैले उनी भाग्न सकेनन् ।’
सीआईबीको टोलीले अहिले उनको घरमा सर्च अपरेशन चलाइरहेको छ । बम्जनलाई महाराजगञ्जस्थित ब्यूरोको कार्यालयमा ल्याइएको छ । उनीविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ । आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा प्रहरीले उनलाई खोजिरहेको थियो ।