बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

अर्को बाटो हुँदै नेपालीहरू रुसी सेनामा जाने जोखिम बढ्यो

बुधबार, २५ पुस २०८०, १७ : ३८
बुधबार, २५ पुस २०८०

काठमाडौँ । रुस–युक्रेन युद्धका क्रममा हालसम्म १० जना नेपाली मारिइसकेका छन् । रुसी सेनामा भर्ना भएर युक्रेनसँग लड्न सीमा क्षेत्रमा पुगेका उनीहरू जवाफी कारबाहीमा मारिएका हुन् ।

परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार २०० भन्दा बढी नेपाली रुसी सेनामा कार्यरत रहेको अनुमान छ । तीमध्ये ११५ जनाले उद्धारका लागि आवेदन दिएका छन् । सरकारले चाँडै नै उनीहरूको उद्धार गर्ने तयारी गरेको छ ।

रुसी सेनामा नेपालीहरू जान थालेपछि सरकारले व्यक्तिगत र संस्थागत श्रम स्वीकृति दिन रोकेको छ । त्यस्तै अन्य कामको लागि समेत रुस र युक्रेन जानमा रोक लगाएको छ ।

रुसले युद्धका लागि विदेशी सेना (भाडाका सैनिक) लाई प्रयोग गर्दै आएको छ । आकर्षण तलब तथा राम्रो सेवा सुविधाको प्रलोभनमा परेर नेपालीहरू बढी केन्द्रित भइरहेका छन् । रुसले आफ्नो सेनामा कार्यरत विदेशीलाई नागरिकता दिने प्रावधान समेत ल्याएको छ । विदेशीलाई आकर्षित गराउन रुसले विभिन्न योजनाहरू अघि सार्दै आएको हो । सेनामा भर्ना गराउने र युद्धको अग्र मोर्चामा भाडाका सेनालाई खटाउने गरेको छ ।

यस्ता खालका विभिन्न आकर्षण योजनाका कारण नेपालीहरू समेत रुस जाने क्रम बढेको छ । नेपालबाटै जान रोक लगाएको छ । तर, नेपालीले थुप्रै विकल्प अघि सार्ने देखिन्छ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमुदकुमार खनालले आर्थिक प्रलोभनमा परेर धेरै नेपाली रुसी सेनामा जाने गरेको बताए ।

नेपालको बाटो नभए पनि भारत, श्रीलङ्का तथा बङ्गलादेश हुँदै रुस जानेको सङ्ख्या बढ्न सक्ने बताए । रुसले एक वर्ष काम गरेकोलाई नागरिकता नै दिने भनेर स्किम ल्याएको छ । त्यस्तै मासिक ३ लाख भन्दा बढी तलब पाउँछन् ।

‘यस्तो अवस्थामा बाँचे रुसको नागरिक, मरे केही फरक पर्दैन भन्दै धेरै नेपालीहरू त्यतातिर गइरहेका छन् । यसले भयावह रूप लिने देखिन्छ’ अध्यक्ष खनालले भने । यसतर्फ सरोकारवाला निकाय समयमै सचेत हुनुपर्ने उनको भनाई छ ।

परराष्ट्र मन्त्रालयले यसअघि नै रुसलाई कूटनीतिक नोट पठाउँदै आफ्ना नागरिकलाई सेनामा भर्न नगर्न अनुरोध गरेको थियो । त्यस्तै सेनामा भर्ना भएका नागरिकलाई फिर्ता पठाउन समेत अनुरोध गरेको थियो । तर, रुसले यो विषयमा कुनै चासो नदिएको परराष्ट्र स्रोतको भनाई छ ।

रुसी सेनामा कार्यरत नेपालीको अवस्था, उनीहरूलाई स्वदेश फिर्ती लगायतका विषयमा कुरा गर्न परराष्ट्र मन्त्री एनपी साउद रुस जाने तयारीमा छन् । परराष्ट्रले उनको भ्रमणको तालिका बनाउन मस्कोस्थित नेपाली राजदूतावासलाई निर्देशन नै दिएको छ । सोही आधारमा मन्त्री साउदको भ्रमणको तयारीलाई तीव्रता दिइएको मन्त्रालयले स्रोतले बतायो ।

नेपालीहरू रुसी सेनामा क्रम बढेकोप्रति परराष्ट्र मन्त्रालय सचेत रहेको मन्त्री साउदको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप