बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
मुख्यमन्त्रीको वर्ष दिन

समृद्ध कर्णाली बनाउन निरन्तर लागेको मुख्यमन्त्री शर्माको दाबी

१० हजारलाई रोजगारी दिने कार्यक्रमका लागि आवश्यक कानुन निर्माणको चरणमै
शनिबार, २८ पुस २०८०, १९ : ०६
शनिबार, २८ पुस २०८०

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफू नेतृत्वको सरकार ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ बनाउने सपना पुरा गर्न निरन्तर लागिरहेको दाबी गरेका छन् । एक वर्षको अवधिमा बाहिर देखिनेभन्दा पनि आन्तरिक रूपमै व्यस्त भएको सरकाले अघि सारेको नारामै आधारित रहेर अघि बढिरहेको शर्माको भनाइ छ । 

मुख्यमन्त्री भएको एक वर्षको अवधिमा भए गरेका कामहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा शर्माले विभिन्न कारणवश सोचेजस्तो कामहरू गर्न नसकेको कुरा पनि उल्लेख गरेका छन् । ‘मैले मुख्यमन्त्रीको कार्यभार सम्हालेदेखि पटक–पटक गरी तीन पटक विश्वासको मत लिनुपर्‍यो,’ शर्माले भने, ‘त्यसका बाबजुद पनि आन्तरिक रूपमा महत्त्वपूर्ण कार्य भइरहेका छन् ।’ 

शर्माले कर्मचारीतन्त्रलाई दिएको ६१ बुँदे निर्देशनबारे पनि ब्रिफिङ गरे । सरकारको कामकारबाहीलाई कर्णालीवासीको अपेक्षा अनुसार कार्यान्वयन गर्न दिइएको ६१ बुँदे निर्देशन, आव ०८०/०८१ को स्वीकृत नीति कार्यक्रम तथा बजेट, प्रदेश सभालाई गरिएको सम्बोधन लगायतका आधारमा एकीकृत तथा रणनीतिक कार्ययोजना बनाई सरकार अघि बढेको शर्माको भनाइ छ ।

यद्यपि शर्माले दिएको ६१ बुँदे निर्देशन अनुसार बजेट कार्यान्वयनको अवस्थामा सुधार भने हुन सकिरहेको छैन । 

शर्माले अहिलेसम्म कुल बजेटको १३ प्रतिशत खर्च भएको, पुँजीगत खर्च बढाउनका लागि बहुवर्षीय ठेक्काको सीमा निर्धारण र खर्च सुनिश्चितताका लागि कार्यविधिमा आवश्यक संशोधन गरी ठुला आयोजनाको ठेक्का प्रणालीबाट निर्माण कार्य सुरु भएको बताए । उक्त कार्यलाई नयाँ सुरुवात भनिए पनि कार्तिक मसान्तसम्म गरिसक्नुपर्नेमा अझै सबैजसो ठेक्काको काम भने हुन सकिरहेको छैन । 

शर्माले साना तथा टुक्रे योजनाहरूलाई नियन्त्रण र नियमन गर्न लागिएकोले दोस्रो चौमासिकमा पुँजीगत खर्चमा सुधार आउने विश्वास व्यक्त गरे । मङ्सिर मसान्तसम्म भने पुँजीगत बजेट जम्मा ४ प्रतिशत मात्रै कार्यान्वयनमा आएको छ भने जुन विगतको भन्दा २ प्रतिशतले कम हो । 

अहिले आलोचना भइरहेको विषय हो, वार्षिक १० हजारलाई रोजगारी दिने । उक्त निर्णय मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै गर्दा शर्माले गरेका थिए । यो विषयमा पत्रकार सम्मेलनमा शर्माले आन्तरिक कार्यहरू भइरहेको बताए । 

‘संवृद्ध कर्णालीको भिजनसहित प्रदेशभित्र वार्षिक १० हजार रोजगारी सिर्जना गर्ने उद्देश्य राखी कर्णाली संवृद्धि परियोजना सञ्चालनको लागि वार्षिक कार्यक्रम कार्यान्वयनमा ल्याई सोको लागि आवश्यक कानुन, परियोजना दस्ताबेज र सूचना तथा तथ्याङ्क सङ्कलनको लागि अनलाइन प्रणाली निर्माणको कार्य भइरहेको छ,’ शर्माले भने । 

निकट समयमै कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने कानुन निर्माणका लागि विधेयक तयार भई सदनमा पेस गर्ने चरणमा रहको कुरा शर्माले उल्लेख गरे ।

साथै शर्माले बेरोजगार युवाहरूलाई रोजगारका विभिन्न अवसर उपलब्ध गराउने उद्देश्यले पालिकाका सबै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिइएको बताएका छन् । तर, विगतदेखि नै निरन्तर रहेको यो कार्यक्रमको उपलब्धिमाथि भने प्रश्न उठिरहेको छ । यो कार्यक्रममा अहिलेसम्म अर्बौँ रकम खर्च भइसकेको देखिए पनि यसबाट के उपलब्धि भयो ? भन्ने विषयमा सरकारले प्रष्ट खाका तयार गरेको छैन ।

लगानी सम्मेलनको विषयमा मुख्यमन्त्री शर्माले तयारी भइरहेको बताए । यिनै कुराहरूलाई शर्माले उपलब्धि मानेका छन् । ‘यी उपलब्धिहरू कर्णालीको समग्र विकासमा कोशेढुङ्गा साबित हुने विश्वास लिएको छु,’ उनले भने, ‘आगामी दिनमा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्ति गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप