शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय मुक्ति क्रान्ति

उपेन्द्र यादवबाट अस्वीकार भइसकेको क्रान्तिलाई उठाउँदै राजेन्द्र महतो

आइतबार, २९ पुस २०८०, १९ : ५१
आइतबार, २९ पुस २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबाट अस्वीकार भइसकेको क्रान्तिलाई अगाडि बढाउने भएका छन् ।

नेता महतो राष्ट्रिय मुक्ति क्रान्तिको घोषणा गर्ने तयारीमा लागेका छन् । त्यसका लागि समर्थन जुटाउन उनी अहिले भारतको दिल्लीमा उच्चस्तरीय भेटघाटमा लागेका छन् ।

तर महतोले अहिले जुन राष्ट्रिय मुक्ति क्रान्ति घोषणा गर्ने तयारी गरिरहेका छन्, त्यसको प्रस्ताव उनले जसपाका अध्यक्ष उपेन्द्र यादवसमक्ष पनि लगेका थिए । सो प्रस्ताव जसपा अध्यक्ष यादवले अस्वीकारमात्र गरेका थिएनन्, त्यसपछि उनीहरु दुई जनाका बिच सम्बन्ध नै बिग्रेको थियो ।

२०७७ जेठ २५ गते निर्वाचन आयोगमा जसपा नेपाल दर्ता भएपछि बसेको पहिलो कार्यकारिणी समितिमा नेता महतोले सो प्रस्ताव लगेका थिए । अहिले आएर सार्वजनिक गरेका राष्ट्रिय मुक्ति क्रान्ति र अब के गर्ने भन्ने दुई दस्ताबेज नेता महतोले त्यतिबेला नै तयार गरेका थिए । सोही दस्तावेजका आधारमा उनले जसपाको कार्यकारिणी समितिको बैठकमा बहुलराष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्ति भनेर मौखिक रुपमा प्रस्ताव गरेका थिए । तर त्यसलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले अस्वीकार गरेका थिए ।

जसपाको तत्कालीन कार्यकारिणी समितिमा रहेका नेता महतो निकटका एक नेताले भने, ‘यो क्रान्तिका कुरा उपेन्द्रजीले सुन्नसमेत चाहनु भएको थिएन, त्यो बेलादेखि नै दुवै जनामा खटपट सुरु भएको थियो ।’

नेता महतोले भनेका थिए, ‘हाल नेपालमा पनि ऐतिहासिक शक्तिहरु पुँजीवादी नवउदारबादी शक्ति नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू असफल हुँदै गर्दा एउटा ईण्डिजिनिष्ट शक्तिको उदय अवश्यम्भावी भएको छ । तर ईण्डिजिनिष्ट नेतृत्वहरु भने राजनीतिक रुपमा अघि नबढी उही (आइ.) एनजीओ आन्दोलन झैं गरिरहेको परिस्थिति माझ उनीहरु तिनै नवउदारवादको नाइके कांग्रेस र नवदलाल कम्युनिस्टहरुकै पछाडि बिनाअर्थ कुदिरहेको देखिन्छ । यस्तो हुनुमा नेताहरुमा रहेको वैचारिक टाट पल्टाइ नै हो । यसर्थ अब हामीले कुनै नवउदारवादी वा नवमार्क्सवादीहरुको पछि लाग्नुभन्दा एक पटकलाई आफ्नै ईण्डिजिनिष्ट धारबाट एउटा राजनीतिक संश्लेशण गरी शान्तिपूर्ण सशक्त विद्रोह मार्फत स्वदेशी सत्ता निर्माण गर्न जनता समाजवादी पार्टीको झण्डा मुनि गोलबद्ध भइ संघर्ष गर्न जरुरी भएको छ ।’

उनको यो कुरा अस्वीकार भएपछि केही दिनमै जसपामा उपेन्द्र यादव र महन्थ ठाकुरबिच आन्तरिक द्वन्द्व सुरु भएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा नेता राजेन्द्र महतोको नेतृत्वमा २०७८ जेठ २१ गते जसपाका महन्थ ठाकुर पक्ष सहभागी भएका थिए ।

शपथ लिएकै दिन मन्त्रालयमा कार्यभार सम्हाल्दै नेता महतोले राष्ट्रिय मुक्ति क्रान्तिमार्फत बहुलराज्य निर्माण गर्ने अभिव्यक्ति दिएका थिए । पार्टीमा आफ्नो प्रस्ताव अस्वीकार भएपछि नेता महतोले सरकारमा सहभागी भएपछि दिएको यस्तो अभिव्यक्तिको खुलेर आलोचना भएको थियो ।

उनले त्यतिबेला भनेका थिए, ‘हाम्रो जुन सवालहरु छन्, देशमा एउटा वैकल्पिक शक्ति निर्माण गर्ने, अधिकार पहिचान, सुशासन र समृद्धिको जुन मुद्दा छन्, त्यसलाई अघि बढाउने र बहुल राष्ट्रियतासहितको राज्य निर्माणको आन्दोलनका लागि गृहकार्य गर्ने पार्टीको एजेण्डा हो । पार्टीका एजेण्डा पनि अगाडि बढाउँदै लाने, विगतको आन्दोलनका माग मुद्दा पनि सम्बोधन गर्दै जाने, त्यसका लागि हामी सरकार गएका हौँ ।’

नेता महतोले उपप्रधानमन्त्रीको कुर्सीबाट दिएको सो अभिव्यक्ति देश विखण्डन गर्ने उद्देश्यले निहित रहेको भन्दै उनको निकै आलोचना भएको थियो । तर त्यति बेला नै अर्थात, ६ जुन २०२१ मा विभिन्न संघ संस्थामा आबद्ध ८८ जना जनजातिले हस्ताक्षर गरेर राजेन्द्र महतोको त्यो अभिव्यक्तिलाई समर्थन गरेका थिए ।

२०७८ जेठ २२ गते माधवकुमार नेपाल, झलनाथ खनाललगायत १५ जना नेताले संयुक्त विज्ञप्ति जारी गरी भनेका थिए, ‘विगतमा टुङ्गो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याइ यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ । यस्तो अभिव्यक्ति संविधानको धारा ३ मा उल्लेखित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपाल राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’

नेता महतोले त्यही दिन उपप्रधान तथा सहरी विकास मन्त्रालयको लेटरप्याडबाट विज्ञप्ति जारी गरेर उनले आफ्नो अभिव्यक्तिलाई बचाउ गर्दै भनेका थिए, ‘मैले संविधानको धारा ३ मा उल्लेख भए बमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात् गर्दै यो राज्य सबै जातजाति, वर्ग, समुदाय, धर्म, लिङ्गको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ ।’

पार्टीबाट, जनताबाट, सरकारबाट अस्वीकृत भइसकेका विषयलाई लिएर नेता महतो पुनः अभियान चलाउने भएका छन् । त्यसका लागि उनले लोसपाबाट विद्रोह गरिसकेका छन् । त्यो अभियानप्रति उनी विभिन्न व्यक्तिसँग छलफल गर्दै समर्थन जुटाउन लागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप