आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीलाई निकाल्न कम्पनीले दुर्गम हिमालमा अफिस सारेपछि...

मङ्गलबार, ०२ माघ २०८०, १२ : ०८
मङ्गलबार, ०२ माघ २०८०

बेजिङ । चीनको एउटा विज्ञापन कम्पनीले कर्मचारीहरूलाई कामबाट निकालेर क्षतिपूर्ति दिनबाट बच्न अनौठो तरिका अपनाएको छ । कम्पनीले आफ्नो मुख्यालयलाई दुर्गम हिमाली क्षेत्रमा सार्‍यो । कर्मचारीहरू दिनहुँ अफिस आउनै नसक्ने स्थिति सृजना गरेर राजीनामा दिन लगाएको आरोप सुन्नमा आएको छ । 

चीनको शाङ्सी प्रान्तको सियान सहरमा रहेको उक्त कम्पनीले यातायातको विकल्प निकै कम भएको दुर्गम हिमाली क्षेत्रमा कार्यालय सारेको थियो । अफिस सरेपछि सकसपूर्ण यात्रा गरेर कार्यालयसम्म पुग्नै गाह्रो भए पनि दुई तिहाइभन्दा धेरे सङ्ख्यामा कर्मचारीले राजीनामा दिए ।

आरोप एक पूर्व पुरुष कर्मचारीले लगाएका हुन् । कम्पनीले किनलिङ हिमाली क्षेत्रमा कार्यालय सारेको थियो । निजी कार नभएकाहरूसामु त यातायातको विकल्प पनि निकै कम थिए । २ घण्टा बसमा यात्रा गरेर पनि निकै समय हिँड्नु पर्थ्यो । तीन÷तीन घण्टाको अन्तरमा मात्रै बस छुट्थ्यो । 

चढेर ओर्लिएपछि पनि तीन किमी हिँडेर मात्र कार्यालय पुग्ने च्याङ नाम गरेका ती पुरुषले बताए । कार्यालय जान सकस भएपछि २० मध्ये १४ कर्मचारीले राजीनामा दिए । तर सामूहिक राजीनामा आएको ४ दिनपछि नै कम्पनीले अफिस फेरि सियान शहरमै सार्‍यो अनि नयाँ कर्मचारी खोज्न थाल्यो । क्षतिपूर्ति नै नदिईकन कर्मचारीलाई राजीनामा दिन बाध्य पार्न त्यसो गरिएको पूर्व कर्मचारीहरूको गुनासो छ ।

यो खबर सामाजिक सञ्जालमा भाइरल बनेपछि आफ्नो प्रतिष्ठामा धक्का पुर्‍याएको भन्दै कम्पनीले पूर्व कर्मचारीहरूलाई मुद्दा हाल्ने चेतावनी दिइरहेको छ । सहरमा भाडा महँगो भएको, नयाँ अफिसको मर्मतसम्भार भइरहेकोले एक हप्ताका लागि अस्थायी रुपमा टाढा सरेको कम्पनीका एक प्रतिनिधिले बताएका थिए । 

दुर्गम हिमाली क्षेत्र लामो समयसम्म कम्पनीको मुख्यालयका रुपमा रहन्छ भनेर कम्पनीले आफूहरुलाई ढाँटेको पूर्व कर्मचारीहरूको आरोप छ । चिनियाँ सामाजिक सञ्जालमा यो खबर आगो झैं फैलिरहेको छ । अधिकांश कमेन्टहरुमा पूर्व कर्मचारीको पक्षमा देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप