बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
समिति

चार महिनामा गठन भएका ७ वटा समिति र आयोगले के गर्दैछ ?

आयोगको सिफारिस कार्यान्वयन नभएको विगत
मङ्गलबार, ०२ माघ २०८०, १६ : ०६
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । पछिल्लो चार महिनामा सरकारले सुन तस्करी जाँचबुझ र भिड नियन्त्रणको नाममा प्रहरीले गरेको दमनबारे छानबिन गर्न लगातार समिति र आयोग बनाएको छ । असोजयता ७ वटा छानबिन समिति र आयोग गठन भएका छन् । बालकुमारी घटनामा जाँचबुझ आयोगले काम थालेसँगै प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा गठित समिति विघटन गरिएको छ ।

सुन तस्करी जाँचबुझ आयोग बनाउन प्रतिपक्षी दल नेकपा (एमाले)ले दबाब दिएको थियो । प्रतिपक्षको दबाबपछि मन्त्रिपरिषद्ले असोज १४ मा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । ३ महिना समय पाएको सो आयोगको समय अहिले थप गरिएको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगमा पूर्व एआइजी सहकुल थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी सदस्य छन् ।

मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको म्याद दुई महिना थप्ने निर्णय गरेको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले रातोपाटीलाई बताए । आयोगले ६० किलो सुन तस्करी र विद्युतीय चुरोट भेप मार्फत गरिएको सुन तस्करीबारे जाँचबुझ गरिरहेको छ । म्याद थप भएसँगै आयोगले अर्को चरणको काम सुरु गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझेको तर, मुद्दा नचलाएकाहरूसँग आयोगले बयान लिइरहेको छ । सुन तस्करी जाँचबुझ आयोगले सहसचिव झलकराम अधिकारीसँग पनि बयान लिएको छ । अधिकारी अध्यागमन विभागका पूर्व महानिर्देशक हुन् ।

ब्यूरोले मुद्दा नचलाएको मध्येका भन्सार विभागमा कार्यरत उपसचिव मुक्ति श्रेष्ठ र विमानस्थल भन्सार कार्यालयमा कार्यरत अर्का उपसचिव श्रीधर टण्डनसँग आयोगका पदाधिकारीले बयान लिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट बरामद १४ किलो सुनबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । मङ्सिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट  विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको हो ।  गोरखा बारपाक घर भएका ४५ वर्षी चन्द्र घलेले दुबईबाट ल्याएको सो सुनबारे विमानस्थल भन्सार कार्यालयका उपसचिव मणिराम पौडेल नेतृत्वको समितिलाई छानबिन गर्न जिम्मा दिइएको थियो ।

तस्करीबारे छानबिन गर्न गठित समितिले १४ किलो सुन तस्करी र व्यवस्थापनमा चार वटा टिम सक्रिय रहेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार दुबईबाट सुन पठाउने समूह, भरिया समूह, नेपाली समूह र विमानस्थल समूह गरी सुन तस्करी र व्यवस्थापनमा चारवटा टिमको कनेक्सन देखिएको छ ।

दुबईबाट अंकित अग्रवाल र गुरु नामका व्यक्तिहरूले सुन पठाउने गरेको समितिको निष्कर्ष छ । गोरखा बारपाक घर भएका मिन बहादुर घलेले कृष्ण कुमार श्रेष्ठ र चन्द्र घलेलाई परिचालन गरेर दुबईबाट प्रतिखेप १४ किलो दरमा सुन नेपालमा ल्याउने गरेका हुन् । मिनबहादुर घले, चन्द्र घले र  कृष्ण कुमार श्रेष्ठले अहिलेसम्म १३८ केजी सुन काठमाडौँ ल्याएको छानबिनबाट थाहा भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताए ।

स्याङ्जा घर भएका कृष्ण कुमार श्रेष्ठ र गोरखाको बारपाक सुलिकोट नगरपालिका१ घर भएका चन्द्र घले भरिया हुन् । दुई वर्षमा कृष्ण कुमार श्रेष्ठ ५२ पटक दुबई र नेपाल आउजाउ गरेको छानबिनबाट थाहा भएको छ । एयरपोर्ट स्थित आगमन कक्षको शौचालय भित्रको पाइप मर्मत गर्ने भोइड सेक्सनमा ल्याएर उनले सुन छाड्ने गरेका हुन् । भोइड सेक्सनको साँचो उनले मिनबहादुर घलेबाट लिएको छानबिन समितिको निष्कर्ष छ ।

सुन तस्करीमा त्रिभुवन विमानस्थलमा कार्यरत ५ जना कर्मचारीको भूमिका देखिएको छ । छानबिन समितिले सो समूहलाई एयरपोर्ट टिम नामकरण गरेको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका कार्यालय सहयोगी लेखबहादुर तामाङ र एयर साइड अफिसमा कार्यरत रमेश देउला, अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ र शेर बहादुर बस्नेतले विमानस्थलबाट सुन बाहिर ल्याउन तस्करलाई सहयोग गर्ने गरेका थिए ।

काठमाडौँ महानगरपालिका वडा नम्बर८ घर भएका शेर बहादुर बस्नेतले शौचालय भित्रको पाइपमर्मत गर्ने भोइड सेक्सनको साँचो नक्कल बनाएर रमेश देउलालाई दिएका थिए । देउलाले एउटा साँचो टिडिओका कार्यालय सहयोगी लेकबहादुर तामाङ र अर्को साँचो मिन बहादुर घलेलाई दिएको छानबिन बाट थाहा भएको छ । बस्नेले सुन आउने पूर्व जानकारी पाएपछि शौचालयमा गएर सुन राखेको वा नराखेको बारेमा रेकी गर्ने गरेका थिए । काठमाडौँ महानगरपालिका८ घर भएका राधाकृष्ण श्रेष्ठले टिडिओमा कार्यरत लेक बहादुरसँग सुन रिसिभ गरेर आपत्कालीन ढोका हुँदै अन्तर्राष्ट्रिय टर्मिनल भवनको बाहिर सुन ल्याउँथे । त्यसमा उनलाई एसी (एयर कन्डिसन) शाखामा कार्यरत अनिले श्रेष्ठले सहयोग गर्ने गरेको छानबिन निष्कर्ष छ ।

काठमाडौँमा तस्करीको सुन व्यवस्थापनमा मिन बहादुर घले र डीबी भन्ने दन बहादुर गुरुङ संलग्न थिए । भरियाले ल्याएको सुन एयरपोर्ट बाहिर निकालिसकेपछि रमेश देउला, राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले टोखा नगरपालिका बानियाँटार स्थित सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा लैजान्थे ।

तस्करीको सुन मिनबहादुर घले र निजको साथी जोन भन्ने जीवन गुरुङले अंकित अग्रवालले भनेको स्थानमा लगेर दिने गरेको छानबिन समितिको निष्कर्ष छ ।

 दाङको भालुवाङ, बाग्लुङ र थानकोटचित्लाङ सडक खण्डको सेतो पहरामा सडक दुर्घटना भएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यदल बनाएको छ । पुस २९ मा पूर्व सचिव धनबहादुर तामाङको अध्यक्षतामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कार्यदल गठन गर्ने निर्णय गरेका हुन् । कार्यदललाई दुर्घटना न्यूनीकरणका उपाय खोज्न कार्यादेश दिइएको छ ।

कार्यदलमा संघीय सडक सुपरिवेक्षण कार्यालय सुर्खेतका सीई श्यामबहादुर खड्का, अन्तरप्रदेश समन्वय अनुसन्धान शाखाका प्रतिनिधि र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि सदस्य छन् । मन्त्रालयका सीडीई सुरेश श्रेष्ठ सदस्य सचिव तोकिएका छन् । कार्यदललाई एक महिनायताका सवारी दुर्घटनाको विश्लेषण गरेर दुर्घटना न्यूनीकरण गर्न सुझाव दिन भनिएको छ । पुस २७ मा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाए । थानकोट चित्लाङ सडक खण्डमा भएको कार दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । शनिवार बाग्लुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाले ज्यान गुमाए ।

  • बालकुमारी घटनामा दुई समिति

ललितपुरको बालकुमारीमा सुरक्षाकर्मीको दमनबाट दुई युवकको मृत्यु भएको घटना जाँचबुझ गर्न सरकारले सुरुमा डीआईजीको नेतृत्वमा समिति गठन गरेको थियो । बालकुमारी घटना छानबिन गर्न पुस १६ मा मन्त्रिपरिषद्ले पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा ३ सदस्यीय आयोग गठन ग¥यो ।

२० पुस बाट आयोगले जाँचबुझ सुरु गरेको आयोगका सदस्य एवं गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले रातोपाटीलाई बताए । आयोगको सदस्यमा सहसचिव भट्टराई र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अरुण बिसी सदस्य छन् । जाँचबुझ आयोगले काम थालेसँगै यसअघि गृह मन्त्रालयले बनाएको समिति विघटन भएको छ । घटना छानबिन गर्न प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा गठित समिति विघटन गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए । भट्टराईले भने–‘आयोग गठन भएसँगै छानबिन समिति विघटन गरिएको छ ।

डीआईजी आचार्य नेतृत्वको समितिमा राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार सदस्य थिए । छानबिन समितिले गरेको छानबिनको प्रारम्भिक विवरण र कागजात गृह मन्त्रालयमा हस्तान्तरण गरेको छ । छानबिन कागजात समितिले मन्त्रालयमा बुझाएको सहसचिव भट्टराईले बताए । समितिले प्रत्यक्षदर्शी सहित आधा दर्जन व्यक्तिहरूसँग सोधपुछ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रहरीको दमनबाट दैलेख घर भएका सुजत रावत र अछामका वीरेन्द्र शाहले ज्यान गुमाए । सो घटनापछि ललितपुरका प्रजिअ र एसएसपी फेरिएका छन् । बालकुमारी क्षेत्रमा गोली हान्न आदेश गर्ने डिएसपी उमेश लम्साललाई निलम्बन गरिएको छ । लम्सालको ठाउँमा डिएसपी सुधीर राईलाई सरुवा गरिएको छ । उनी दंगा नियन्त्रण गर्न त्रिपुरेश्वरबाट जिल्ला प्रहरी परिसर ललितपुरको अपरेसन कमान्डरको रूपमा सरुवा भएका हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल र प्रमुख जिल्ला अधिकारीमा तुल्सी बहादुर श्रेष्ठलाई पठाइएको छ ।

  • बरहथवा घटनामा जिम्मेवारलाई उन्मुक्ति 

सर्लाहीको बरहथवामा नगर अस्पताललाई स्तरोन्नति गरेर प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा पुस २० मा प्रहरीले चलाएको गोली लागेर जयशंकार शाहको मृत्यु भयो । घटना छानबिन गर्न गृह मन्त्रालयले पुस २१ मा सहसचिव थानेश्वर गौतमको नेतृत्वमा समिति गठन गरेको थियो । समितिमा डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य थिए । 

समितिले गोली प्रहारमा संलग्न वरिष्ठ हवल्दार सोनेलाल यादवलाई मात्रै ‘दोषी’ ठहर गरेको छ । समितिले उनलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । ईलाका प्रहरी कार्यालय बरहथवाको हवल्दार मेजर पदमा कार्यरत सोनेलालले गोली प्रहार गरेको छानबिन समितिको निष्कर्ष छ ।'

छानबिन समितिले ईलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डिएसपी गंगा थापालाई सरुवा गर्न सिफारिस गरेको छ । समितिको सिफारिसको आधारमा प्रहरी प्रधान कार्यालयले थापालाई काज सरुवा गरेर मुक्तिनाथ सापकोटालाई बरहथवामा खटाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सह–सचिव गौतम नेतृत्वको समितिले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो । 

जयशंकर शाहको मृत्यु हुँदा वरिष्ठ हवल्दारलाई मात्रै दोष दिएर समितिले अरू जिम्मेवार अधिकारीहरूलाई उन्मुक्ति दिएको छ । भिड नियन्त्रणमा हवल्दारसँगै अन्य प्रहरी अधिकृत पनि थिए । गोली चलाउन सर्लाहीका एसपी प्रवीण धितालले आदेश गरेका हुन् ।

छानबिन समितिले ईलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डिएसपी गंगा थापालाई सरुवा गर्न सिफारिस गरेको छ । समितिको सिफारिसको आधारमा प्रहरी प्रधान कार्यालयले थापालाई काज सरुवा गरेर मुक्तिनाथ सापकोटालाई बरहथवामा खटाउने निर्णय गरेको छ ।

  • एनसेलको प्रतिवेदन बुझाउन ढिलाइ 

मन्त्रिपरिषद्ले मङ्सिर २१ मा एनसेलको ८० प्रतिशत हिस्सेदार कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर खरिद–बिक्रीको निर्णयबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन ग¥यो । समितिका संयोजक तोकिए, पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा । समितिमा सचिव फणीन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, हृदयेश कुमार शाक्य र आईक्यानका अध्यक्ष सुजन कुमार काफ्ले सदस्य छन् । 

मन्त्रिपरिषद्ले एक महिनाको कार्यावधि दिएपनि समितिले अहिलेसम्म प्रतिवेदन बुझाएको छैन । विभिन्न निकायसँग मागेको कागजात नआएको भन्दै समितिले प्रतिवेदन तयार गर्न ढिला गरेको छ । समितिका एक सदस्यले रातोपाटीसँग भने–‘एनसेल सँग सम्बन्धित कागजात हामीले मागेका छौँ, आइपुगेको छैन ।’ 

समितिका संयोजक टंकमणि शर्मा छानबिनकै अवधिमा बेलायत पुगेर फर्केका छन् । उनी छानबिनका लागी बेलायत गएको बताइएको छ । 

एनसेलको २० प्रतिशत शेयर नेपाली कम्पनी सुनिभेरा क्यापिटलको स्वामित्वमा छ । तर, ८० प्रतिशत हिस्सा सेन्ट किट्समा दर्ता भएको कम्पनी रेनोल्ड होल्डिङ्सको नाममा छ । मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङ्सको सबै शेयर बेलायतमा हालै दर्ता भएको स्पेक्ट्रलाइट नामक कम्पनीलाई बेच्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप