शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन राष्ट्रपतिको आग्रह

मङ्गलबार, ०२ माघ २०८०, १६ : ५१
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठुलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्ग्यानिक खाद्य बस्तुहरू सिधै तारे होटेलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गरेका छन् ।  होटल संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस २०२४’ मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले ग्राहकहरूको रुचि  र चाहनाअनुसारको खाद्यान्न होटल व्यवसायीहरू आफैँले कृषि फर्म स्थापना गरेर उत्पादन गर्न सकिने अथवा किसान स्वयंलाई पर्यटक र ग्राहकहरूको रुचिअनुसारको खाद्यान्न उत्पादन गर्न प्रेरित गर्दै व्यवसायीले किसानसँग सम्झौता गरेर ‘फार्म टु प्लेट’ को अवधारणा अघि बढाउन सुझाव दिए । 

राष्ट्रपति पौडेलले नेपालको होटल क्षेत्रले ‘अतिथि देवो भवः’ को मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको बताए । उनले भने, ‘सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्त्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीहरूको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु ।’  

उgले पर्यटन तथा होटलको विस्तारसँगै नेपालका नयाँ गन्तव्यहरूको विकास र समृद्धि भएको बताउँदै मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका कामहरू भइरहेको र अगाडि बढिरहेको स्पष्ट पारे । उनले भने, ‘नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्नुपर्दछ । यस वर्ष दश लाखभन्दा बढी पर्यटक भित्रिसकेको सन्दर्भमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने मलाई आशा छ ।’ 

राष्ट्रपति पौडेलले नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा आई मुलुकमा बढी भन्दा बढी विदेशी पर्यटकहरू भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न कठिनाइ नहुने भन्दै पर्यटन क्षेत्रबाट हुने आय पछिल्लो समय आशातीत ढंगले बढिरहेको सन्दर्भमा पर्यटकीय गन्तव्यहरूमा खानेपानी, शौचालय, सरसफाइ, ढल व्यवस्थापन, साइकल लेन, निःशुल्क इन्टरनेट लगायतका आधारभूत सुविधा उपलब्ध गराउँदा  यसको प्रभाव थप बढ्ने उल्लेख गरे । 

पर्यटन उद्योगको आधार स्तम्भको रूपमा रहेको होटल क्षेत्रलाई अन्य मुलुक सरह प्राथमिकता प्राप्त उद्योगको सेवा सुविधा प्रदान गरी निजी क्षेत्र र सरकारी क्षेत्रबिच समन्वय गरेर अगाडि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप