सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा दर्जन कार्यक्रम गरेर फर्किए गायक प्रकाश सपुत

बिहीबार, ०४ माघ २०८०, ०७ : ११
बिहीबार, ०४ माघ २०८०

लन्डन । नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय निकै लोकप्रिय बन्न सफल गायक, सङ्गीतकार, मोडल तथा अभिनेता प्रकाश सपुतले यसपटक बेलायतमा करिब एक दर्जन कार्यक्रम गरेर नेपाल फर्किए ।

बेलायतस्थित केप्लर इभेन्ट्सको आयोजनामा दोस्रो पटक लन्डन आएका सपुतले पहिलोपटक गत अगस्टमा आउँदा अल्डरसटको एम्पायर हलमा एउटा मात्र कार्यक्रम गरेर फर्किएका थिए । क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर बेलायत आएका सपूतले यसपटक भने यहाँका विभिन्न सहरमा करिब एक दर्जन कार्यक्रम भ्याए ।

’मह जोडी टुर २०२३’ को सिलसिलामा वरिष्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथ सपुतले डिसेम्बर २३ मा लण्डनको ह्यारो लिजर सेन्टरमा पहिलो कार्यक्रम गरेका थिए भने १३ जनवरी साँझ अल्डरसटको एम्पाएर हलमा अन्तिम कार्यक्रम गरे । लन्डनबाहिर लिभरपुलमा सोमबार साँझ उनले बेलायत बसाइको अन्तिम प्रस्तुति दिएका थिए । ह्यारो, अल्डरसट, प्लमस्टेड, आसफोर्ड, स्वीन्डन, बेजिङस्टक, बर्मिंङहाम, स्कटल्याण्ड, लिभरपुललगायतका थुप्रै स्थानमा यसपटक उनले कार्यक्रम गरे ।

‘बोल माया’ गीतबाट चर्चाको शिखरमा पुग्न सफल गायक सपुतको पछिल्लो गीत ‘मुटु कटक्कै’ अहिले निकै चर्चामा छ । त्यसो त उनका गीतहरू जति चर्चामा पुग्छन् उति नै विवादमा पनि तानिने गर्छन् । यस विषयमा उनी भन्छन्, ‘मैले समाजमा भएका वास्तविक गतिविधिलाई संगीतको माध्यमबाट उजागर गर्न खोजेको मात्र हो, कतिपय वास्तविक कुराहरू उठाउँदा सानोतिनो तर्क वितर्क हुनुलाई सामान्य र सहज रूपमा लिने गरेको छु ।‘

करिब तीन साताको बेलायत बसाइमा उनले आफ्ना लोकप्रिय गीतमार्फत बेलायतका सबै उमेर समूहका दर्शक श्रोतालाई मनोरञ्जन दिलाए । गीतसंगीतमार्फत मानिसका भोगाई, पीर अनि व्यथा उजागर गर्दै आएका सपुतले विशेषगरी विदेशमा बस्ने नेपालीको व्यथा केन्द्रित आफ्ना गीतहरू गाएर दर्शकलाई मार्मिक र भावुक बनाए ।

prakash saput rp

अल्डरसटको एम्पाएर हलमा आयोजित कार्यक्रममा सपुतले एक दर्जन बढी गीत गाएर मनोरञ्जन दिलाएका थिए । उनी आउनु अगाडि नेपालबाट बेलायत आएका अर्का दोहोरी गायक आरपी पौडेलले ‘माझी दाइ पोखरा फेवा तालमा’ गीतको लयमा अङ्ग्रेजी नेपाली मिश्रित प्यारोडी गीतलगायत विभिन्न लोकभाका प्रस्तुत गरेका थिए ।

विदेशमा कमाउन गएको श्रीमान दसैँमा घर आउँछ भनेर प्रतीक्षा गरिरहेकी श्रीमतीलाई बिदा नमिलेका कारण आउन नपाएपछि पैसा पठाएको छु भन्दै श्रीमतीसँग फोनमार्फत भएको कारुणिक कुराकानीमा आधारित चरर, बरर, धरर, बोलको दसैँ गीत गाउँदै स्टेज चढेका थिए प्रकाश ।

परदेशमा भनेजस्तो कहाँ हुन्छ र भन्ने भाव बोकेको उक्त गीतसँगै बोल माया, गलबन्दी, फूलमाया, दोहोरी ब्याटललगायत अलेरी काँडैले, कमाउने नि हो रमाउने नि हो, माझी दाइ, मेरो माया बसेको गाउँमा... जस्ता थुप्रै गीत गाएर करिब साँढे दुई घण्टा स्टेजमा बिताए । गीत गाउँदा गाउँदै स्टेजमा फूलमाला खादा र नगदसहित स्वागत गर्ने दर्शकको भीडले उनलाई ढुक्कले गाउनसमेत वाधा पुगिरहेको थियो । बेलायतमा गरिने यस्तो सम्मान अन्य मुलुकको तुलनामा छुट्टै रहेको उनले बताए ।

आफूले विदेशमा बसेका नेपालीका दुःख पीडालाई निकै नजिकबाट नियालेको र तिनै पीडालाई गीतसंगीतमार्फत नयाँ ढङ्गबाट प्रस्तुत गर्दै आएको उनले बताए ।

prakash saput (1)

आफ्नो सृजनालाई प्रयोग, नयाँ अनुभव र पागलपनको संज्ञा दिने सपुत यस्तो चाहिँ चल्छ भनेर नभई यस्तो चाहिँ गरेर हेरौँ न त भन्ने उद्देश्यले आफ्ना सृजना पस्किने गरेको बताउँछन् ।

आफ्नो कला, सृजना र सङ्गीतलाई समाज, साहित्य, कथा र व्यापारसँग जोड्ने प्रयाससहितको उनको पछिल्लो प्रस्तुति ‘मुटु कटक्कै’ पनि छोटो समयमा झन्डै ५० लाख दर्शकले हेरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप