सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
पेप्सीको नक्कली भ्याट बिल प्रकरण २

नक्कली भ्याट बिल प्रकरण : पेप्सीले भगाएको वित्त प्रमुख भारतमा बेफिक्री काम गर्दै

पेप्सीले यसरी गरेको थियो राजस्व हिनामिना
बिहीबार, ०४ माघ २०८०, १४ : १२
बिहीबार, ०४ माघ २०८०

काठमाडौँ । पेप्सी, मिरिण्डा, माउण्टेन ड्यु, सेभेन अप, स्लाइस, स्टिङ इनर्जी ड्रिङ्क, इभरभेस सोडा लगायतका उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजविरुद्ध दायर नक्कली भ्याट बिल खरिदको मुद्दामा अदालतले कम्पनीलाई दोषी ठहर गर्दै २७ करोड रुपैयाँभन्दा बढी रकम बिगो कायम गरेको छ । उच्च अदालत पाटनले गत पुस ३ गते राजस्व चुहावटको मुद्दामा फैसला गर्दै वरुण वेभरेजले राजस्व चुहावट गरेको ठहर गर्दै २७ करोड रुपैयाँभन्दा बढी बिगो र १ करोड रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त इजलासले वरुण वेभरेजले नक्कली भ्याट बिल खरिद गरी कर छली गरेको ठहरसहित बिगो र जरिवानाको फैसला सुनाएको हो । राजस्व अनुसन्धान विभागले लामो अनुसन्धान गरी वरुण वेभरेजका वित्त प्रमुखकै मिलेमतोमा ६७ करोड ८१ लाख ६४ हजार ५६१ रुपैयाँ कर छली गरेको भन्दै सोही रकम बराबर बिगो कायम गरी अदालतमा मुद्दा दायर गरेको थियो ।

२०७६ पुस ३ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको राजस्व चुहावटको मुद्दा पछि उच्च अदालत पाटनमा सरुवा भइ गएको थियो । काठमाडौँ जिल्ला अदालतले २०७६ फागुन ५ गते उच्च अदालतमा पठाउने आदेश दिएको उक्त मुद्दामा ४ वर्षपछि गत पुस ३ गते उच्च अदालत पाटनले २७ करोड १३ लाख ४१ हजार १०१ रुपैयाँ ५० पैसामात्रै बिगो कायम गर्ने फैसला सुनाएको थियो । उक्त फैसलासँगै नेपालमा पेप्सीको नामले परिचित वरुण वेभरेजले छली गरेको ६७ करोड ८१ लाख ६४ हजार ५६१ रुपैयाँमध्ये २७ करोड १३ लाख ४१ हजार १०१ रुपैयाँ ५० पैसामात्रै तिरे पुग्ने भएको छ ।

त्यसमा उच्च अदालत पाटनले पुस १९ गते जरिवानाका लागि छुट्टै सुनुवाइ गरेको थियो । उक्त सुनुवाइमा अदालतले वरुण वेभरेजले १ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने समेत फैसला सुनाएको छ ।

भारतको हरियाणामा स्थायी ठेगाना भएको वरुण वेभरेजले नेपालमा पनि वरुण वेभरेज नेपालको नामबाट विभिन्न पेय पदार्थहरुको उत्पादन तथा बिक्री वितरण गर्ने गरेको छ । तर बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजले नेपालमा भने नक्कली भ्याट बिल खरिद तथा बिक्री गरी राज्यलाई करोडौँ रुपैयाँको राजस्य छली गरेको पुष्टि भएको हो । राजस्व चुहावटको कार्यमा वरुण वेभरेजका कन्ट्री म्यानेजर समेत रहेका अमित गुप्ताको प्रत्यक्ष संलग्नता रहेको समेत छानबिनबाट पुष्टि भएको थियो ।

अदालतले समेत अमित गुप्ताकै योजना र मिलेमतोमा नक्कली भ्याट बिल खरिद गरी राज्यलाई करोडौँ रुपैयाँ नोक्सानी गरेको र राज्यबाट भ्याट रिटर्न समेत लिइ आयकर र लाभांश करमा समेत नोक्सानी पुर्‍याएको ठहर गरेको छ । सोही कसुरमा उच्च अदालत पाटनले वरुण वेभरेजबाट नोक्सानी भर्पाइ गराउने र राजस्व छलीमा संलग्न वरुण वेभरेजका तत्कालीन वित्त प्रमुखसमेत रहेका कन्ट्री म्यानेजर अमित गुप्तालाई एक वर्षको कैद सजायसमेत सुनाएको थियो ।

तर जतिबेला अदालतले वरुण वेभरेजका तत्कालीन कन्ट्री म्यानेजर अमित गुप्तालाई कैद सजाय सुनायो, त्यो भन्दा धेरै पहिले नै अमित गुप्तालाई पेप्सी कम्पनीले नेपालबाट भगाएर भारत पुर्‍याएको खुलेको छ । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा छानबिन थालेको करिब ४ महिनापछि वरुण वेभरेजले गुप्तालाई राजीनामा गरेको देखाएर राजीनामा स्वीकृत गरी भारत भगाएको खुलासा भएको हो । वरुण वेभरेजकै योजना र मिलेमतोमा नेपालबाट भगाइ भारत पुर्‍याइएका गुप्तालाई राजस्व अनुसन्धान विभागले फरारको सूचीमा राखेर मुद्दा चलाएको थियो । मुद्दा दर्ता भएको ४ वर्षपछि आएको फैसलामा गुप्ता दोषी ठहर भइ उनलाई एक वर्षको कैद सजाय सुनाइएको छ । यद्यपि उनी भारतमा भएको कारण पक्राउ पर्ने र जेल सजाय काट्ने सम्भावना भने शून्य प्रायः छ ।

पेप्सीले यसरी गरेको थियो राजस्व हिनामिना

आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा केही कारोबारमा मिसम्याच देखियो । मिसम्याचको अर्थ भ्याट बिल जारी गर्ने कम्पनीले वस्तु वा सेवा खरिद गरेको नदेखिएको तर बिक्रीमात्रै गरेको देखिएपछि वा खरिद गरेको र बिक्री गरेको भ्याटको हिसाबमा गोलमाल देखिएपछि आन्तरिक राजस्व विभागले आन्तरिक छानबिन सुरु गर्‍यो ।

छानबिनका क्रममा केही फर्महरूको खरिद तथा बिक्री बिलमा कैफियत देखिएपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई समेत जानकारी दिइ अनुसन्धानका लागि आग्रह गर्‍यो । वस्तु वा सेवा खरिद नै नगरी भ्याट बिलमात्रै जारी गर्ने कम्पनीहरूको भ्याट बिल किन्ने कम्पनी थियो पेप्सी कम्पनीको नामले परिचित वरुण वेभरेज नेपाल प्रालि ।

बहुराष्ट्रिय कम्पनी नै नक्कली भ्याट बिल खरिद प्रकरणमा जोडिएपछि राजस्व अनुसन्धान विभागले सो प्रकरणमा थप अनुसन्धान सुरु गर्‍यो । अनुसन्धानमा समेटिएका फर्महरू अविन ट्रेडिङ, किशा ट्रेड इन्टरप्राइजेज लगायतका केही फर्महरूको अनुसन्धान गर्दा ती फर्मबाट सामान नभइ नक्कली भ्याट बिलमात्रै खरिद गरी राज्यबाट भ्याट रिटर्न लिने र आयकर पनि छल्ने गरिएको रहेछ भन्ने खुल्यो ।

छानबिनमा परेका बिजनेस फर्महरू अविन ट्रेडिङ, किशा ट्रेड ईन्टरप्राईजेज, वे टु वे विजनेस लिङ्क, अन द वे ट्रेड लिङ्क, लक्की ट्रेड एण्ड सप्लायर्स प्रालि, गुडलक ट्रेड एण्ड सप्लायर्स प्रालि, डेफोडिल कन्सर्न प्रालि, सुप्रिम बिजिनेस ट्रेड लिङ्क प्रालि लगायतका केही विजनेश फर्महरुको भ्याट बिल जारीमा कैफियत देखियो । छानबिनमा परेका कम्पनीहरु अविन ट्रेडिङ, किशा ट्रेड ईन्टरप्राइजेज लगायत केही फर्मका सञ्चालक विकास अग्रवालले राजस्व अनुसन्धान विभागमा आइ बयान गर्ने क्रममा ती फर्महरूबाट जारी भएको बिल विनोद कुमार अग्रवाल नाम गरेका व्यक्तिबाट लिइ वरुण वेभरेजलाई दिने गरेको तथा उक्त फर्महरूले कुनै सामान नदिने र बिलमात्र बेच्ने गरेको भनी उल्लेख गरेका थिए ।

विकास अग्रवालले बयान दिने क्रममा आफूलाई वरुण वेभरेजका तत्कालीन वित्त प्रमुख अमित गुप्ताले वरुण वेभरेजकै अफिसमा बोलाएर स्किमको सामानहरूको नाम र मूल्य खुलाएर बिल ल्याउनका लागि टिपोट गरेर दिने गरेको र सोही अनुसार आफूले विनोद कुमार अग्रवालसँग बिल माग गरी उनले उपलब्ध गराएको बिलहरू अमित गुप्तालाई दिने गरेको बताएका थिए ।

बिल दिएपछि गुप्ताले वरुण वेभरेजबाट प्राप्त भएको चेक बिल जारी गर्ने फर्मको खातामा जम्मा गर्ने र सो रकम खाताबाट झिकी आफूहरूले कमिसनबापत पाउने ८ प्रतिशत रकम राखेर बाँकी रकम अमित गुप्तालाई नै दिने गरेको बताएका थिए ।

त्यसबाहेक नक्कली बिल बिजक जारी गर्न खोलिएका कम्पनीका सञ्चालक विनोद कुमार अग्रवालले राजस्व अनुसन्धान विभागमा बयान गर्दा पनि विभिन्न नक्कली फर्महरू केही रकम दिएर आफैँले दर्ता गर्न लगाएको, विभिन्न बैंकहरुमा खाता खोलेर नक्कली भ्याट बिलको कारोबार गरेको, ती फर्महरूबाट वरुण वेभरेज प्रालि लगायतका विभिन्न फर्महरूलाई विभिन्न आर्थिक वर्षमा भ्याट बिलमात्रै जारी गरेको, त्यसबापत आएको रकम आफैँले चेकमा सही गरेर दिने र विकास अग्रवालले खाताबाट पैसा निकाली कमिसनबापतको रकम कटाएर बाँकी रकम कर बिजक लिने फर्म तथा प्रालिहरुलाई नै फिर्ता गर्ने गरेको र वरुण वेभरेजसँगको सम्पूर्ण काम विकास अग्रवाल मार्फत हुने गरेको भनी बयानमा बताएका थिए ।

वरुण वेभरेजका तत्कालीन वित्त प्रमुख गुप्ताले सामान नलिइ नक्कली भ्याट बिलमात्रै लिइ राज्यबाट भ्याट रिटर्न लिएको र आयकरको छली गरेको पुष्टि भएपछि राजस्व अनुसन्धान विभागले सुरुमा वरुण वेभरेजसँग १ अर्ब ६० करोड रुपैयाँ बराबरको बैंक जमानत लिएर अनुसन्धान सुरु गर्‍यो ।

त्यसपछि अदालतमा मुद्दा दायर गर्ने क्रममा भने विभागले मूल्य अभिवृद्धि करतर्फ २५ करोड ३४ लाख ६ हजार ९४० रुपैयाँ, आयकरतर्फ ३५ करोड, ५८ लाख ३९ हजार ८० रुपैयाँ र लाभांश करतर्फ ४ करोड ३ लाख ५६ हजार ३२० रुपैयाँ बिगो कायम गरी कुल ६४ करोड ९६ लाख २ हजार ३४० रुपैयाँ बराबरको बिगो कायम गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो । तर लाभांश गणनामा त्रुटि भएको भन्दै पछि राजस्व अनुसन्धान विभागले संशोधित अभियोगपत्र लैजाँदै थप २ करोड ८५ लाख ६२ हजार २२१ रुपैयाँ थपेर कुल ६७ करोड ८१ लाख, ६४ हजार ५६१ रुपैयाँ बिगो कायम गर्दै अभियोगपत्र दायर गर्‍यो ।

विभागले अभियोगपत्र दायर गर्दा जरिवाना, ब्याज लगायतका सबै रकम जोडेर पहिले ६४ करोड ९६ लाख र पछि संशोधित अभियोग पत्रमार्फत् ६७ करोड ८१ लाख ६४ हजार ५६१ रुपैयाँको अभियोगपत्र ल्याएको थियो ।

  • पेप्सीले कन्ट्री म्यानेजरलाई रातारात भगायो, नेपालबाट भागेपछि भारत पुगेर पेप्सीमै गरे काम

जतिबेला राजस्व अनुसन्धान विभागले पेप्सी कम्पनीको नामले परिचित वरुण वेभरेजको कम्पनी भ्याट बिल प्रकरणमा छानबिन गर्‍यो, त्यतिबेला अमित गुप्ता नेपालमै थिए । वरुण वेभरेजको कन्ट्री म्यानेजरका रुपमा काम गरिरहेका अमित गुप्ताको पद वित्त व्यवस्थापकका रुपमा थियो । नक्कली भ्याट बिल प्रकरणमा राजस्व अनुसन्धान विभागले छानबिन सुरु गरेपछि वरुण वेभरेजसँग केही कागजात समेत माग गरिएको र विभागले कम्पनीकै बिलबिजकसमेत नियन्त्रणमा लिएको थियो । त्यतिबेला अमित गुप्ता नेपालमै थिए ।

राजस्व अनुसन्धान विभागले अनुसन्धान सुरु गरेपछि २०७५ फागुन ५ अर्थात् १७ फेब्रुअरी, २०१९ मा पेप्सीको कर्पोरेट अफिसमा छापा मारेको थियो । राजस्व अनुसन्धान विभागले पेप्सीको नेपालस्थित कर्पोरेट कार्यालयमा छापा मार्दा त्यसको वित्त प्रमुख अमित गुप्ता नै थिए र छापा मार्ने समयमा गुप्ता कन्ट्री म्यानेजरकै रुपमा कार्यरत थिए ।

विभागले छापा मारेको दिन नै विभागले वरुण वेभरेजलाई पत्र दिई सहजीकरणका लागि व्यक्ति तोक्न भनेको थियो र त्यसको भोलिपल्ट अर्थात् २०७५ फागुन ६ गते नै वरुण वेभरेजले व्यक्ति तोकेर अख्तियारीनामा समेत दिएको थियो । त्यसपछि विभागले विस्तृत छानबिन सुरु गरेको थियो ।

  • ... अनि भगाइयो अमित गुप्तालाई

जब विभागले विस्तृत छानबिन सुरु गर्‍यो, तब अमित गुप्तालाई वरुण वेभरेजले एकाएक नेपालबाट भगायो । राजस्व चुहावटमा संस्थागत संलग्नता खुल्ने डरले छानबिनकै बिचमा अमित गुप्तालाई राजीनामा गर्न लगाएर सञ्चालक समितिले रातारात भारत भगाइदियो । नियुक्तिको मिति बाँकी नै रहेको भए पनि कर छलीमा संस्थागत संलग्नताको पोल खुल्ने भएपछि वरुण वेभरेजले २०१९ मार्च ३१ गतेको मिति राखेर अमित गुप्ताको राजीनामा स्वीकृत गर्‍यो । सोही समयमा भएको छानबिनमा वरुण वेभरेजले सामान नै नलिइ भ्याट बिलमात्रै खरिद गरेको र त्यसबापत राज्यबाट भ्याट रिटर्न लिएको खुल्यो । छानबिनमा तानिएका केही फर्मका सञ्चालक विकास अग्रवालले आफूहरुले सामान नदिइ भ्याट बिलमात्रै बेचेको र त्यसबापत आफूले ८ प्रतिशत कमिसन राखी बाँकी रकम वरुण वेभरेजका अमित गुप्तालाई नै फिर्ता गर्ने गरेको खुल्यो ।

त्यसपछि विभागले अमित गुप्तालाई पक्राउ गर्न खोज्दा उनी राजीनामा बुझाइ भारत पुगिसकेका थिए । त्यतिमात्रै होइन, वित्त प्रमुख नै जोडिएको नक्कली भ्याट बिल प्रकरणमा छानबिन चलिरहँदा वरुण वेभरेजको सञ्चालक समितिले अमितको राजीनामा नै स्वीकृत गरिसकेको थियो ।

वरुण वेभरेजका वित्त हेर्ने वरिष्ठ प्रबन्धक अरविन्द ठाकुरसँग विभागले बयान लिँदा अमितको राजीनामा स्वीकृत भइसकेको र उनी नेपालमा नरहेको खुलाएका थिए । आफ्नो बयानमा अवविन्दले भनेका थिए,

‘.... फर्महरुबाट मालवस्तु खरिद गर्ने समयमा प्रालिको वित्त सञ्चालकको रुपमा रहेका अमित गुप्ताले खरिद सम्बन्धी कार्यको जिम्मेवारी लिएको हुँदा यस सम्बन्धमा उहाँलाई मात्र जानकारी रहेको । सञ्चालक अमित गुप्ता वित्त सञ्चालक भएको र सम्पूर्ण खरिद प्रक्रियाको जिम्मा उहाँकै भएकोले यी फर्महरुबाट सामान नलिइ बिजकमात्र लिएको विषय कम्पनीलाई यस अगाडि थाहा नभएको । यी फर्महरुसँग खरिद गरिएका सामानहरु प्रालिको बिक्री प्रवर्द्धन शीर्षकमा खर्च देखाइएको । यी फर्महरुबाट जारी गरिएको बिजकहरुको सम्पूर्ण भुक्तानी कम्पनीको बैंक खातामार्फत नै भएको कम्पनीको अभिलेखबाट देखिएको र तत्पश्चात सो रकम म आवद्ध प्रालिमा कुनै पनि प्रकारबाट फिर्ता आएको छैन तथा अमित गुप्तालाई नगद फिर्ता दिए नदिएको विषय प्रालिको जानकारीमा नभएको । वित्त सञ्चालकको रुपमा कार्यरत अमित गुप्ता स्वयं सम्पूर्ण वित्तीय कारोबारको लागि आधिकारिक व्यक्ति भएको हुँदा निजले गरेको यस्ता कारोबारहरु कम्पनीले सही नै मानेको अवस्था रहेको । अमित गुप्ता सन् २०१२ अगष्ट ८ देखि २०१९ जनवरी २० सम्म वित्त सञ्चालकको रुपमा वरुण वेभरेज (नेपाल) प्रालि मा कार्यरत रहेको र सन् २०१९ मार्च ३१ मा आफ्नो हिसाब किताब बुझाइ यस प्रालि बाट बाहिरिएको । यस प्रालिका सञ्चालकहरुको नियुक्ति र राजीनामाको स्वीकृति भारतस्थित होल्डिङ कम्पनी वरुण वेभरेज लिमिटेड (भारत) बाट प्राप्त निर्देशन अनुसार हुने र यस विभागबाट अनुसन्धान प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै निज अमित गुप्ताको राजीनामा प्रालिको सञ्चालक समितिबाट स्वीकृति भइ सोही मितिबाट प्रविण कुमार अग्रवालले वित्त सञ्चालकको कार्यभार सम्हाल्नु भएको ।’

अरविन्द ठाकुरको बयानपछि मात्रै अमित गुप्ता नेपालबाट भागेर भारत पुगिसकेको खुलेको थियो । अमितलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने समयमा पक्राउ नगरी अनुसन्धानको दायरामा मात्रै राख्दा वरुण वेभरेजको संस्थागत कर छलीमा अमितलाई मात्रै दोषी देखाएर कम्पनी पन्छिन सफल भएको थियो ।

  • नेपालबाट राजीनामा दिएपछि पनि भारतमा रोजगारी

वरुण वेभरेजको नेपालका कन्ट्री म्यानेजर रहेका अमित गुप्ताले सन् २०१९ को मार्च ३१ बाट नेपाल छाडी राजीनामा दिएको भनिए पनि अमितले त्यसपछि पनि भारतमा गइ वरुण वेभरेज भारतमा काम गरेको खुलेको छ ।

मंगलबार रातोपाटीमा वरुण वेभरेज सम्बनधी प्रकाशन हुनु अगाडिसम्म अमितले आफ्ने लिंक्डइन प्रोफाइलमा सन् २०१९ को अप्रिलदेखि २०२० को मार्च ३० सम्म वरुण वेभरेज, इण्डियामा काम गरेको उल्लेख गरेका थिए । तर जब रातोपाटीमा मंगलबार उक्त समाचार प्रकाशन भयो, तब अमितले आफ्नो लिंक्डइन प्रोफाइलबाट नेपाल र भारतमा काम गरेको विवरण हटाएका छन् ।

अहिले भने अमितको प्रोफाइलमा वरुण वेभरेजमा काम गरेकोमात्रै उल्लेख छ ।

हेर्नुहोस्, अमितको लिंक्डइन प्रोफाइल ।

Amit Gupta 2

यसरी वरुण वेभरेजका नेपाल प्रमुख रहेका अमित गुप्ताले नेपालमा संस्थागत रुपमै कर छली गरी राज्यलाई करोडौँ नोक्सानी पुर्‍याएपछि सुरु भएको छानबिनलाई सहयोग नगरी वरुण वेभरेजले रातारात अमितलाई नेपालबाट भगाएर भारत पुर्‍याएको मात्रै थिएन, त्यसपछि अर्को एक वर्ष भारतकै वरुण वेभरेजमा सेल्स म्यानेजरको जिम्मेवारी दिएको थियो । यसबाट के कुरा प्रस्ट हुन्छ भने वरुण वेभरेजका एक कामदारले नभइ वरुण वेभरेजले संस्थागतरुपमै नेपालमा कर छली गरी राजस्व चुहावट गरेको थियो ।

राजस्व अनुसन्धानले दायर गरेको राजस्व चुहावटको मुद्दामा दर्ता भएको ४ वर्षपछि अदालतले मूल्य अभिवृद्धि करतर्फ ९ करोड २८ लाख २७ हजार २१९ रुपैयाँ, आयकर तर्फ १४ करोड २८ लाख ११ हजार १०६ रुपैयाँ तथा लाभांश करतर्फ ३ करोड ५७ लाख २ हजार ७७६ रुपैयाँ ५० पैसा गरी कुल २७ करोड १३ लाख ४१ हजार १०१ रुपैयाँ ५० पैसामात्रै राजस्व चुहावट गरेको ठहर गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप