सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीतिसँगै व्यवसाय

अचार व्यवसायमा एमाले नेतृ शान्ता चौधरी : भेज तथा ननभेजका प्रकार

एमाले महासचिव पोखरेलले पनि जिभ्रो फड्कारे
शुक्रबार, ०५ माघ २०८०, १५ : ०५
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । अघिल्ला वर्षहरु प्रतिनिधिसभामा थिइन् एमाले नेतृ शान्ता चौधरी । पार्टीको संसदीय दलको सचेतक समेत रहेकी उनी संसदमा राजनीतिक विषयका अलावा किसान, व्यवसायीका कुरा, जनतालाई आत्मनिर्भर बनाउन सरकारको ध्यानाकर्षण पनि गराउँथिन् ।

उनै पूर्व सांसद चौधरीले अहिले आफू आत्मनिर्भर हुने नयाँ बाटो रोजेकी छन्– अचार व्यवसाय ।

अचानक अचार बनाउन थालेको नभइ पहिलेदेखिकै आफ्नो सौख रहेको उनले बताइन् । गत वर्ष प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादीका मेटमणि चौधरीसँग पराजित भएपछि शान्ताको राजनीतिक व्यस्तता घट्यो । केही महिनादेखि आफूले जानेको आचार बनाउने सिपलाई सामाजिक सञ्जालबाट उनले जानकारी गराउँदै आएकी थिइन् ।

आफूले घरमा बनाएको अचार देश–विदेशबाट पनि माग आउन थालेपछि उनले यसैलाई आफ्नो आत्मनिर्भरताको बाटो बनाउने निश्चित गरिन् र खोलिन्– शान्ताको अचार उद्योग ।

गत पुस २० गते उनले घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता गरेको अचार उद्योगको कुल पुँजी २० लाख रुपैयाँ छ । स्थिर पुँजी १० लाख र चालु पुँजी १० लाख रुपैयाँ छ ।

दाङमा उद्योग सञ्चालन गर्ने र काठमाडौँमा डिलर राखेर आफ्नो व्यवसाय अगाडि बढाउने उनको उद्देश्य छ । देशभित्र तथा देशबाहिरबाट समेत अचारको माग आइरहेको हेर्दा जनशक्ति थप गर्नुपर्ने देखिए पनि तत्कालका लागि पाँच जना जनशक्तिले काम गर्ने उनले बताइन् ।

रातोपाटीसँग कुरा गर्दै नेतृ चौधरीले भनिन्, ‘अचार त पहिलेदेखि नै बनाउँथेँ, मैले मिठो बनाउने भएकाले साथीभाइहरु लौन मलाई अचार बनाइदिनुप¥यो भन्नुहुन्थ्यो । मैले अचार बनाएर दिने पनि गर्थें । तीन–चार महिना अघिबाट भने अलि धेरै बनाउन थालेको थिएँ ।’

चौधरीले पछिल्लो समय आफ्नो आर्थिक आम्दानीको स्रोत नभएकाले पनि यो व्यवसायमा आइपुगेको बताइन् । यसरी अचार उद्योग खोल्नु आफ्नो आवश्यकता, रहरसँगै बाध्यता पनि रहेको उनले उल्लेख गरिन् ।

चौधरीले भनिन्, ‘यताउता हिँडडुल गर्न पनि खर्च चाहिने भयो । आयस्रोत नभएको कारणले मलाई एकदम गाह्रो पनि भइरहेको थियो । आयस्रोत नभएको हुँदा केही काम गर्नुपर्छ भन्नेपनि लाग्यो । आफूले सिकेको सिपलाई उद्योगमै ढालेर काम गर्दा भोलिका दिनमा राम्रै होला कि भन्ने लागेको छ मलाई ।’

shan

केही न केही काम नगरी कसरी बस्ने भनेर पनि आफूले अचार उद्योग खोलेको उनले सुनाइन् । ‘चारपाँच महिना अगाडिदेखि अलि बढी नै बनाउने गर्थें । तर कानुनी मान्यता लिएर वैधानिक रुपमै व्यवसाय गर्नुपर्छ भनेर उद्योग दर्ता गरेको छु,’ उनले भनिन्, ‘खाद्य प्रविधि तथा गुणस्तर विभागबाट पनि अनुमति पाइसकेँ । कानुनी रुपमा मान्यता पाएर उद्योगकै रुपमा अचार बनाउने अवस्थामा आइपुगेका छौँ ।’

आफूले उत्पादन गर्ने अचार स्वादिलो, मिठो र गुणस्तरीय हुने चौधरीको भनाइ छ । व्यावसायिक ढङ्गले अचार उत्पादन थालेकी उनले दाङको लमही मेलामा अचार बिक्रीका लागि लगेकी छन् ।

साकाहारीदेखि मांसाहारीसम्म एक दर्जन प्रकारका अचार  

चौधरीले आफ्नो उद्योगमा साकाहारी तथा मांसाहारी दुवै प्रकारका गरी झण्डै १२ थरी अचार उत्पादन हुने जानकारी दिइन् । ननभेजतर्फ कुखुराको मासुको अचार, खसीको मासु, भैंसीको मासुको अचार, माछाको अचार गरी ४ प्रकारमा उत्पादन गर्छिन् ।

भेजतर्फ भने मुला, लसुन, कागती, अदुवा, बेसार, मिक्स अचार, तिलको छोप लगायत बिस–बाइस थरी सामग्री प्रयोग गरेर अचार बनाउने उनले जानकारी दिइन् ।

12

अचार बनाउने रेसिपीका लागि आफूले कुनै तालिम नलिएको र आफैँले जानेको सिप प्रयोग गरेको चौधरीले बताइन् । उनले भनिन्, ‘अचार बनाउन महिलाहरुलाई त्यति धेरै सिक्नुपर्छ जस्तो लाग्दैन । हामीले दैनिक रुपमा भान्छामा बनाइरहेका हुन्छौँ । पहिलेदेखि नै अचार, खाना बनाउने काममा लाग्नुभएको मान्छे पनि हामीसँग हुनुहुन्छ । त्यसैले अचार बनाउने कुरा सिक्न जरुरी नै भएन । आफनै सिपले नै अचार बनाउन सकिन्छ ।’

पार्टीका केही नेताले आफूले बनाएको अचार चाखेको चौधरीले बताइन् । पहिले अचार बनाउने वैधानिकता, लेभलिङ नभएका कारण धेरै मान्छेलाई अचार नदिए पनि अब माग अनुसार जहाँ पनि अचार पु¥याइदिने उनको लक्ष्य छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अहिलेसम्म आफूले बनाएको अचार नदिएको बताउँदै चौधरीले आफ्नो अचारले अब वैधानिकता पाएकाले छिट्टै पार्टी अध्यक्षलाई भेटेर दिने बताइन् ।

उनले भनिन्, ‘पार्टी महासचिव शंकर पोखरेललाई खुवाएको छु, वैधानिक रुपले उत्पादन थालेकाले अब छिट्टै पार्टी अध्यक्षलाई पनि मैले उत्पादन गरेका अचारहरु दिन्छु ।’

नेतृ चौधरीले अचार उद्योग सञ्चालनसँगै आफ्ना राजनीतिक गतिविधिलाई पनि सँगै अगाडि बढाइरहेकी छन् ।

6aa8c6ec-5b35-45f1-81f2-3e434778f956

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप