शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस महासमिति बैठक : कहाँ पुग्यो तयारी ?

आइतबार, ०७ माघ २०८०, १८ : ३४
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक ठिक एक महिनापछि हुँदैछ । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति बैठक हुन लागेको हो । 

०७८ मङ्सिरमा सम्पन्न पार्टीको १४ औँ महाधिवेशनपछि कांग्रेसले पहिलो पटक महासमिति बैठक गर्दैछ ।

१४ औँ महाधिवेशनमा कांग्रेसले नीतिमाथि कुनै छलफल नगरी पदाधिकारी र सदस्यको निर्वाचन मात्रै गरेको थियो । ६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले फागुनमा महासमिति बैठकबाट आगामी नीति तय गर्न लागेको हो ।

विधानले नीति महाधिवेशनको व्यवस्था नगरेको र सहभागी प्रतिनिधिको विषयमा जटिलता देखिएपछि कांग्रेसले महासमितिलाई नै नीति अधिवेशनको विकल्पमा व्याख्या गरेको छ ।

कांग्रेसको विधानमा महाधिवेशन भएको वर्षमा बाहेक प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ  । महासमितिमा समसामयिक राजनीतिक विषयमा विचार निर्माण गर्नुको साथै विधान र नियमावलीका विषयमा छलफल हुने कांग्रेसमा अभ्यास छ ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक मुद्दा समेटेर प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

उपसभापति खड्काको नीतिगत प्रतिवेदन तयारीको अन्तिम चरणमा छ भने महामन्त्रीद्वयले सांगठनिक र राजनीतिक प्रतिवेदन तयार पारिसकेका छन् ।

उपसभापति खड्काको प्रतिवेदनमा पार्टीले लिने समग्र नीतिको विषय समेटिने छ । यस्तै महामन्त्री शर्माले वर्तमान राजनीतिक विषयवस्तु समेटर राजनीतिक प्रतिवेदन तयार पारेका छन् । गठबन्धन, सरकार, विपक्ष, पार्टीको गतिविधि, मुलुकको राजनीतिक अवस्था लगायतका विषयले शर्माको प्रतिवेदनमा स्थान पाएका छन् ।

यस्तै महामन्त्री थापाको प्रतिवेदन पार्टीको सांगठनिक गतिविधिमा मात्र केन्द्रित छ । महामन्त्रीद्वयको राजनीतिक र सांगठनिक प्रतिवेदन बैठकमा संयुक्त रुपमा प्रस्तुत हुने छ ।

महासमिति बैठकअघि केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी छ । महामन्त्री थापाले भने, ‘माघ अन्तिम साता केन्द्रीय समिति बैठक बोलाउँछौँ । महासमितिमा प्रस्तुत गर्ने प्रस्तावहरु केन्द्रीय समिति बैठकमा पेस गर्छौं ।’

केन्द्रीय समितिले पास गरेको प्रतिवेदन महासमिति बैठक पेस हुनेछ । फेरि पनि निर्धारित मितिमा महासमिति बैठक हुनेमा कांग्रेस नेता–कार्यकर्तामा आशंका छ । कांग्रेसले चार पटक महासमिति बैठक सारिसकेको छ । असोज पहिलो साता बसेको बैठकले महासमिति बैठक असोज १३, १४ र १५ गतेका लागि तय गरेको थियो ।

कात्तिक १९ गते बसेको कांग्रेस पदाधिकारी बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण देखाउँदै मङ्सिर २९ देखि पुस २ सम्म हुनेगरी नयाँ मिति तय गरिएको थियो ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मङ्सिर २१ मा पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी महासमिति बैठक पुस १६–१९ मा सरेको बताएका थिए । मङ्सिर २९ मा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुन ७ देखि १० मा महासमिति बैठक गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई पुस १४ गतेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । सोही अनुसार महासमिति बैठकको तयारी भइरहेको महामन्त्री थापाले बताए ।

‘फागुन ७–१० को महासमिति बैठक तलमाथि हुँदैन । आन्तरिक तयारी करिब सकिएको छ । हल बुक भइसकेको छ । अब क्याटरिङको जिम्मा दिने काम त बाँकी छ,’ उनी भन्छन् ।

२०७९ मा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुँदा नीति तय गर्न फुर्सद नपाएको कांग्रेस पछिल्लो एक वर्षमा सत्ता राजनीतिमै मस्त देखिन्छ । नीति अधिवेशनलाई महासमिति बैठकमा रुपान्तरण गर्ने निर्णय गरे पनि कांग्रेसले आगामी नीति तय गर्न अलमल गरिरहेको छ ।

अधिवेशनका क्रममा २५ जिल्लामा मात्र महासमिति सदस्यका लागि निर्वाचन भएको थियो । बाँकी जिल्लामा महाधिवेशन प्रतिनिधि मात्र चयन गरिएको थियो ।

महाधिवेशनताका महासमिति सदस्य चयन नभएका जिल्लामा अहिले धमाधम निर्वाचन भइरहेको छ । कांग्रेस निर्वाचन आयोगका संयोजक खम्मबहादुर खातीले १४३ निर्वाचन क्षेत्रमा महासमिति सदस्य चयन गरिएको बताए ।

उनका अनुसार महासमिति सदस्य छनोट नभएका २२ वटा निर्वाचन क्षेत्रबारे छलफल गर्न सोमबार निर्वाचन समितिको बैठक बस्दैछ ।

‘१६५ निर्वाचन क्षेत्रमा २२ वटाको बाँकी छ । भोलि निर्वाचन समितिको बैठक बस्दै छ,’ खाती भन्छन्, ‘माघ २५भित्र निर्वाचन गराएर महासमिति सदस्यको नाम केन्द्रमा पठाउन भन्छौँ । त्यसपछि आएका नाम सूचीकृत हुँदैन ।’

महासमिति छनोट नगर्नेमा भोजपुर, ओखलढुंगा, दोलखा, रामेछाप, पर्वत, अर्घाखाँची गरी सात जिल्लाका सात क्षेत्र छन् । यस्तै मोरङको ३ र ५ नम्बर, सुनसरीको २, ३ र ४ नम्बर, सिन्धुलीको २ नम्बर, महोत्तरीको १ नम्बर, बाराको ३ नम्बर, पर्साको १ र ३ नम्बर, धादिङको १ नम्बर, काठमाडौँको ४, ५ र ६, दाङको १ र ३ नम्बर कञ्चनपुरको १ नम्बर क्षेत्रमा पनि महासमिति सदस्य चयन गर्न बाँकी छ ।

कांग्रेस महासमिति बैठकमा ११ जना सदस्य प्रतिनिधिसभाबाट निर्वाचित क्षेत्रबाट निर्वाचित भएर आउने व्यवस्था छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित प्रत्यक्ष ७ जना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएका क्षेत्रबाट जनसंख्याको बनोटको आधारमा चार जना समानुपातिक समावेशी सिद्धान्तअनुसार निर्वाचित हुनेछन् ।

१६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ । त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृ संस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुन्छ । कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ ।

कांग्रेसका ३५ देशमा जनसम्पर्क समिति छन् । क्रियाशील सदस्यताका आधारमा एक जनादेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुने छन् । जनसम्पर्क समितिबाट करिब एक सय जना महासमिति सदस्य आउने छन् । यस्तै भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुनेछन् । कांग्रेसका अहिले १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन् । भ्रातृ तथा शुभेच्छकु संस्थाबाट पनि करिब सय जनाले महासमितिमा भाग लिने छन् ।

भ्रातृ तथा शुभेच्छुक संस्थाबाट तीन–तीन जना महासमिति सदस्य चयन गर्दा निर्वाचन गराउने तयारी छ । ‘भ्रातृ तथा शुभेच्छुक संस्थाको कार्यसमितिको निर्णय अनुसार महासमिति सदस्य चयन गरिने परिपाटी छ । यस पटक यसलाई रोक्छौँ,’ कांग्रेसको निर्वाचन समितिका संयोजक खातीले भने, ‘भ्रातृ तथा शुभेच्छुक संस्थाबाट महासमिति सदस्य ढ्वाङ थापेर छान्ने तयारी छ । यसलाई कडाइका साथ लागु गर्छौं ।’

२९ जना जिल्ला सभापति, केही सांसद पर्यवेक्षकका रुपमा महासमिति बैठकमा सहभागी हुनेछन् । यी सबै गरी २५ सयभन्दा बढी प्रतिनिधि महासमिति बैठकमा सहभागी हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसले महासमिति बैठकका लागि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र बुक गरिसकेको छ । महामन्त्री थापाका अनुसार महासमितिमा सहभागीहरुका लागि बेलुकीको खाना र बासको व्यवस्था आफैँले गर्नुपर्ने छ । उनका अनुसार महासमिति बैठकका लागि पार्टीले कसैसँग चन्दा संकलन गर्ने छैन । खर्चको व्यवस्थापन सहभागीको दर्ता शुल्क र कांग्रेसको आन्तरिक कोषबाट व्यवस्थापन गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप