आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

११ सय किलोको दीप, ४ सय किलोको ताल्चा : अयोध्यास्थित राम मन्दिरसँग जोडिएका यी हुन् २२ रोचक तथ्य

सोमबार, ०८ माघ २०८०, १२ : १४
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा सोमबार राम मन्दिरको उद्घाटन तथा प्राण प्रतिष्ठा हुँदैछ । राम जन्मभूमि अयोध्यामा लामो पहलपछि निर्माण भएको यो मन्दिरसँग सम्बन्धित केही रोचक तथ्य छन् ।

१. अयोध्यामा निर्माण भएको राम मन्दिरको डिजाइन सन् १९९८ मै तयार भएको थियो । यसलाई अहमदाबादस्थित सोमपुरा परिवारले डिजाइन गरेको हो । यद्यपि भारतको सर्वोच्च अदालतको फैसलापछि सन् २०२० मा सोमपुरा परिवारले नै यसमा केही परिमार्जन गरेको थियो ।

२. राम मन्दिरको प्राण प्रतिष्ठा अघि मङ्गल ध्वनि वादन हुनेछ । अयोध्याका यतीन्द्र मिश्र मङ्गल वादनका परिकल्पनाकार र संयोजक हुन् ।

३. अयोध्यामा भारतका विभिन्न राज्यबाट वाद्ययन्त्र लगिएको छ । उत्तर प्रदेशबाट बाँसुरी र ढोलक, ओडिशाबाट मर्दल, कर्नाटकबाट वीणा, मध्यप्रदेशबाट सन्तूर, पञ्जावबाट अलगोजा, मणिपुरबाट पुङ्ग, महाराष्ट्रबाट सुन्दरी, असमबाट नगाडा, दिल्लीबाट सहनाई, राजस्थानबाट रावणहत्था, बिहारबाट पखावज, गुजरातबाट सन्तार र पश्चिम बंगालबाट श्रीखोल लगिएको छ ।

४. भगवान रामललाको स्वागतमा अयोध्यामा दीपावलीको तयारी गरिएको छ । यस क्रममा १० लाख दीप प्रज्ज्वलन गरिनेछ ।

५. प्राण प्रतिष्ठाका लागि जम्मा ८४ सेकेन्ड शुभ मुहूर्त छ । यो मुहूर्त काशीका ज्योतिषाचार्य पण्डित गणेश्वर शास्त्री द्रविडले चयन गरेका हुन् । शुभ मुहूर्त भारतीय समय अनुसार मध्याह्न १२ बजेर २९ मिनेट २ सेकेन्डदेखि १२ बजेर ३० मिनेट ३२ सेकेन्डसम्म हुनेछ ।

६. प्राण प्रतिष्ठाको विधि १२१ आचार्यले पूरा गराउने छन् । पण्डित गणेश्वर शास्त्री द्रविड र पण्डित लक्ष्मीकान्त दीक्षित प्राण प्रतिष्ठामा मुख्य आचार्यको भूमिकामा रहने छन् ।

७. सोमबार मन्दिरको प्राण प्रतिष्ठा हुने भए पनि यसको अनुष्ठान १६ जनवरीदेखि नै सुरु भएको हो ।

८. प्राण प्रतिष्ठा समारोहमा ११ हजार जनालाई आमन्त्रण गरिएको छ, जसमा साधु, सन्तदेखि सेलिब्रेटी, उद्योगी लगायत छन् ।

९. प्राण प्रतिष्ठा समारोहमा आध्यात्मिक र धार्मिक जगतसँग जोडिएका व्यक्तिहरुलाई खास महत्त्व दिइएको छ ।

१०. प्राण प्रतिष्ठा कार्यक्रममाम पूरै भारतको झलक एकसाथ देखिने जनाइएको छ ।

११. प्राण प्रतिष्ठा समारोहमा विभिन्न परम्परालाई महत्त्व दिइएको छ । समारोहमा शैव, वैष्णव, शाक्त, गाणपत्य, पात्य, सिख, बौद्ध, रामानन्द, घिसापन्थ, रामानुज, निम्बार्क, गायत्री परिवार, अकाली, निरंकारी, राधास्वामी र स्वामी नारायण परम्परासँग सम्बद्ध व्यक्ति सहभागी हुँदैछन् ।

१२. समारोहका अतिथिका लागि खास प्रसादको व्यवस्था गरिएको छ । जसमा मेवाको लड्डु, विष्णु भगवानको प्रिय ‘तुलसी दल’ लगायत छन् ।

१३. प्राण प्रतिष्ठा कार्यक्रमका लागि १०८ फिट लामो अगरबत्ती ल्याइएको छ । १६ जनवरीमै बालिएको यो अगरबत्ती ४५ दिनसम्म बल्ने जनाइएको छ ।

१४. राम मन्दिर निर्माणका लागि भारतको केन्द्र र राज्य सरकारले आर्थिक सहयोग गरेका छैनन् । भक्तजनसँग उठाएको चन्दाबाट नै उक्त मन्दिर निर्माण भएको हो ।

१५. राम मन्दिरका लागि सीताको माइती जनकपुरबाट ३ हजारभन्दा बढी उपहार पठाइएको छ, जसमा चाँदीको खराउदेखि लिएर आभूषण, वस्त्र आदि छन् ।

१६. रामललाका लागि श्रीलंकाको अशोक बाटिकाबाट पनि उपहार पठाइएको छ । अशोक बाटिका त्यही स्थान हो जहाँ रावणले सीतालाई लगेर राखेको थियो ।

१७. गुजरातको वडोदराका किसान अरविन्दभाइ मंगलभाइ पटेलले ११ सय किलो वजनको विशाल दीप अयोध्या पठाएका छन् । यो दीप ९.२५ फिट अग्लो र ८ फिट चौडा छ । यो दीपमा ८५१ किलो घिउ अट्छ । यो दीप पञ्चधातुबाट बनाइएको हो ।

१८. रामलला मन्दिरका लागि अलीगढका ताला व्यापारी सत्यप्रकाश शर्माले १० फिट अग्लो, ४.६ फिट चौडा, ९.५ फिट मोटो र ४०० किलो वजन भएको ताल्चा र चाबी बनाएर पठाएका छन् ।

१९. रामललाको प्रतीमामा हरेक राम नवमीका दिन सूर्य तिलक लगाइने छ । राम नवमीको दिन मध्याह्न १२ बजेदेखि १२ बजेर ६ मिनेटसम्म सूर्यको किरणले रामको मूर्तिको मष्तिष्कमा तिलक लगाउनेछ ।

२०. राम मन्दिरलाई आगामी २५ सय वर्षसम्म भूकम्प तथा अन्य प्राकृतिक कारणले नोक्सान नहुने गरी डिजाइन गरिएको छ ।

२१. राम मन्दिरको गर्भ गृहमा रामललाको मूर्तिको स्यामल रुपको वर्णन छ, जसलाई शालिग्राम ढुङ्गाबाट बनाइएको हो । सोमबार प्राण प्रतिष्ठा कार्यक्रमसँगै रामललाको मूर्तिको आँखाबाट पट्टी हटाइने छ ।

२२. राम मन्दिर निर्माणमा फलाम वा स्टिल प्रयोग गरिएको छैन । मन्दिर ट्रष्टका अनुसार फलाम र स्टिल केही वर्षपछि खराब हुन थाल्छन्, शताब्दीऔँसम्म मन्दिरलाई कुनै नोक्सान नहोस् भन्ने उद्देश्यले मन्दिरमा फलाम र स्टिल प्रयोग नगरिएको हो ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप