शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश सभामा सांसद ओलीले राखे प्रदेश राजधानी दिपायल सार्ने प्रस्ताव

मङ्गलबार, ०९ माघ २०८०, १६ : ०४
मङ्गलबार, ०९ माघ २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रदेश राजधानी डोटीको दिपायल सार्ने आवाज उठेको छ ।

मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सभाको तेस्रो तथा हिउँदे अधिवेशनको दोस्रो बैठकमा प्रदेश राजधानी दिपायल सार्ने आवाज उठेको हो ।

प्रदेशसभाको शून्य समयमा बोल्दै नेकपा माओवादी केन्द्रबाट डोटीबाट निर्वाचित प्रदेश सभा सदस्य शिवसिंह ओलीले कैलालीबाट डोटीमा राजधानी सार्न माग राखेका हुन् ।

उनले भने, ‘विगतदेखि अहिलेसम्म प्रदेश राजधानी कैलालीको गोदावरी कार्यान्वयनमा सरकार लागेको देखिएन । अहिले हामी बसिरहेको हल जिल्ला समन्वय समिति कैलालीको भवन हो । मुख्यमन्त्री बसेको भवन यातायात व्यवस्था कार्यालयको हो । अन्य मन्त्रालयको हालतमा पनि त्यही छ । यदि साँच्चै पुरानो प्रदेश सभाले गरेको निर्णय कार्यान्वयन गर्न सकिने होइन र यसको औचित्य पनि सकिएको हो भने यो प्रदेश सभामा प्रदेश राजधानीको विषयलाई नयाँ शिराबाट उठाउनको लागि म प्रस्ताव गर्न चाहन्छु ।’

त्यस्तै उनले प्रदेश राजधानी दिपायल सारेमा सन्तुलित विकास पनि हुने दाबी गरेका छन् । जसबाट पहाडको जनसंख्या तराई सर्ने अवस्था पनि कम हुने उनको भनाइ थियो ।

उनले दिपायलमा राजधानी सार्नको कारण खुलाउँदै अगाडि थपे, ‘किनकि अहिलेसम्म संघीय सरकारबाट प्रदेश राजधानीका निम्ति एउटा जग्गा प्राप्ति पनि गर्न सकेका छैनाँै । करोडौं रकम मन्त्रालयको मर्मत सम्भारमा खर्च गरिरहेका छौँ । र, त्यो पैसाले हामी प्रदेश सभा र मन्त्रालयका भवन बनाउन सक्थ्यौँ । म आग्रह गर्दछु कि, पुरानो क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायलमा त्यत्रो २ हजार जना अट्ने क्षमताको सेती सभा हल छ । सबै मन्त्रालय अट्ने संरचना बनेका छन् । प्रदेशको प्रतिष्ठान त्यही छ । त्यहाँ राजधानी बनाउँदा के घाटा पर्थ्यो ? प्रदेशवासीको मनोविज्ञान र मनोआकांक्षा बुझेर सुन्तुलित विकासको अवधारणा बुझेर अगाडि बढ्ने हो भने फेरि एक पटक प्रदेश सभामा प्रदेश राजधानीको विषयलाई पुनर्विचार गर्न र सबैलाई पायक पर्ने दिपायल जो छ सन्तुलित विकासको अवधारणा अनुसार अगाडि बढाउनको लागि जोडदार माग गर्दछु ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप