सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

बुधबार, १० माघ २०८०, १२ : ४२
बुधबार, १० माघ २०८०

बेइजिङ । चीनमा पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३१ नाघेको छ । सरकारी सञ्चार माध्यमहरूले बताएअनुसार उद्धारकर्मीहरूले माटो, हिउँ र पुरिएका संरचना खोतलेर जीवितहरूको खोजीकार्य तीव्र पारिरहेको भएपनि मृत्यु हुनेको सङ्ख्या बढ्दो छ ।

सोमबार झिसमिसेमै युनान प्रान्तको लियाङशुईको एउटा हिमाली गाउँमा पहिरो जाँदा १८ वटा घर र ४७ जना पुरिएका थिए । मंगलबार रातिसम्म १३ जना अझै बेपत्ता रहेको बताइएको छ । लियाङशुइ यतिबेला तापमान शून्य डिग्रीभन्दा तल छ । हजारभन्दा धेरै उद्धारकर्मीहरू उद्धार कार्यमा खटिएका छन् ।

सो क्षेत्रबाट ९०० भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । गाउँभन्दा करिब १५ मिटर माथिबाट पहिरो खसेको छ । ठाडो भिरबाट करिब सय मिटर फराकिलो, ६० मिटर उचाइ र ६ मिटर बाक्लो पहिरो गाउँको छेउमा खसेको थियो । पहिरो कसरी भयो भन्ने अज्ञात छ ।

ठाडो भिर अनि खुकुलो माटोका कारण युनानका हिमाली क्षेत्रमा प्राय पहिरो गइरहन्छ । पहिरो गएको क्षेत्रमा आइतबार राति भारी हिमपात भएको भएपनि त्यसयता हिमपात पातलिएको छ । तर तापमान भने शून्य आसपास नै भएको बताइएको छ । चिसोका कारण पनि खोजी कार्य प्रभावित भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप