मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
लगानी

लाभांशको रूपमा ६ महिनामा १ अर्ब ५३ करोड बाहिरियो

कति आयो लगानी प्रतिबद्धता ?
बुधबार, १० माघ २०८०, १६ : ३०
बुधबार, १० माघ २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिना १ अर्ब ५३ करोड रुपैयाँ लाभांशको रूपमा बाहिरिएको छ । फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) को रूपमा भित्रिएका विदेशी कम्पनीहरूको लगानीबाट खुलेका कम्पनी, उद्योग तथा फर्महरूमार्फत पुस मसान्तसम्म कूल १ अर्ब ५३ करोड ६५ लाख ३० हजार रुपैयाँ मुनाफा बाहिरिएको उद्योग विभागले जनाएको हो । 

यस्तो मुनाफा अघिल्लो आर्थिक वर्ष २०७९÷८० को सोही अवधिमा १० अर्ब ९९ करोड ८९ लाख ९ हजार रुपैयाँ बाहिरिएको थियो । तुलनात्मक रूपमा यो वर्ष ८६.०३ प्रतिशतले मुनाफामा गिरावट आएको हो । यद्यपि अघिल्लो वर्षको तुलनामा यो वर्ष लगानी प्रतिबद्धता भने बढ्न पुगेको छ । 

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ सय २६ वटा परियोजनाका लागि २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । सोमध्ये २८ परियोजनाका लागि ४ अर्ब १ करोड ३ लाख ९ हजार रुपैयाँ सेयर खरिद तथा साझेदारीबापत प्रतिबद्धता आएको छ भने ३१ परियोजना प्रविधि हस्तान्तरणसम्बन्धी सेवा क्षेत्रमा आएको छ । 

औद्योगिक क्षेत्रमा हालसम्म ६ हजार ८५ परियोजनाका लागि ४ खर्ब ७२ अर्ब ३० करोड ५४ लाख ३८ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता पुगेकोसमेत विभागले जनाएको छ । यस्तो लगानीमार्फत ३ लाख २१ हजार २६४ जनालाई रोजगारी प्रदान गरिएका समेत विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

FDI

कुन क्षेत्रमा कति लगानी प्रतिबद्धता ?

कूल लगानी प्रतिबद्धताअनुसार अधिकतम ४५ प्रतिशत पर्यटन क्षेत्रमा आएको छ । आर्थिक वर्षमा पर्यटनसँग सम्बन्धित होटल तथा पर्यटन क्षेत्रमा १०३ वटा परियोजनाका लागि १० अर्ब बढी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । 

यसैगरी, अन्य सेवा क्षेत्रमा ३७ प्रतिशत अर्थात् ८ अर्ब २६ करोड रुपैयाँ, औद्योगिक उत्पादनको क्षेत्रमा २ अर्ब २३ करोड रुपैयाँ, आईसीटी क्षेत्रमा १ अर्ब ६३ करोड रुपैयाँ, पूर्वाधार र कृषि क्षेत्रमा समान ९३ करोड ८१ लाख रुपैयाँ र खानिजन्य क्षेत्रमा ४६ करोड ९० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । 

समीक्षा अवधिमा वैदेशिक लगानी र उत्पादनमार्फत सरकारले १ अर्ब ४ करोड १६ लाख ८६ हजार रुपैयाँ रोयल्टी (राजस्व) सङ्कलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रोयल्टी ९४ करोड ७१ लाख २९ हजार रुपैयाँ सङ्कलन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप