आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाठ्यपुस्तक छपाइको अनुगमन, ६५ लाख थान पुस्तक छाप्न बाँकी

बिहीबार, ११ माघ २०८०, १६ : २३
बिहीबार, ११ माघ २०८०

काठमाडौँ । चालु शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीहरूले आगामी शैक्षिक सत्रमा पनि भर्ना अघि नै पुस्तक पाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै भर्नाअघि नै छपाई सक्ने गरी काम भइरहेको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्नाअघि नै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएपछि गत वर्ष युद्धस्तरमा छपाई कार्य सम्पन्न भएर पहिलोपटक सबै विद्यार्थीले भर्नासँगै पुस्तक पाएका थिए ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको अनुगमन टोलीसँग लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक पु¥याउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।

‘छपाइका लागि आवश्यक कागज खरिद भइसकेको र छाप्ने काम पनि दुई सिफ्टमा सातै दिन, २४ सैं घण्टा चलिरहेको छ’ झाले भने, ‘पुस्तक छपाइसँगै विभिन्न डिपोमा ढुवानी कार्यसमेत सँगै चलिरहेको छ ।’

शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखाना र कक्षा ५ देखि १२ सम्म जनक शिक्षाले छपाई गर्ने निर्णय गरेसँगै प्रकाशनमा तीव्रता आएको हो । निजी क्षेत्रका छापाखानाहरूलाई समेत छनौट गर्न पाठ्यक्रम विकास केन्द्रले टेन्डर आव्हान गरिसकेको छ ।

जनक शिक्षा लिमिटेडका अनुसार कक्षा ५ देखि १२ सम्म करिब १ करोड ७० लाख पुस्तक आवश्यक भएकोमा अब करिब ६५ लाख थान पुस्तक मात्र छाप्न बाँकी रहेका छन् । केन्द्रले दैनिक ७० हजार देखि ८० हजार प्रतिथानका दरले पुस्तक छपाई र तयारी भइरहेको जनाएको छ ।

प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसी, स्वकीय सहसचिव गोकर्ण भट्ट, सहसचिव संगीता ओझालगायतको टोलीले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गरेको थियो ।

गत वर्ष पुसपछि मात्र कागज आएको भए पनि आवश्यक पाठ्यपुस्तक समयमै छाप्न सफल भएको बताउँदै झाले यो वर्ष पर्याप्त कागज भएकाले सहज भएको बताए ।

अनुगमन टोलीका सदस्य गोकर्ण भट्टले जनक शिक्षक सामग्री केन्द्र लिमिटेडको छपाइको गुणस्तर सुधार गर्नुपर्ने सुझाव दिइएको र अन्य नीतिगत विषयहरूसमेत हल गर्न शिक्षा मन्त्रालयसँग थप छलफल आवश्यक देखिएको जानकारी दिए । छापिएका पाठ्यपुस्तक सुरक्षित राख्न, कागज खेर नजाने गरी काम गर्न र छपाइमा गुणस्तर कायम गर्न केन्द्रलाई निर्देशन दिएको प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ जिसीले बताए ।

अनुगमन टोलीले छपाइ भइसकेका पाठ्यपुस्तकहरू गुणस्तर यकिन गरी समयमै सबै जिल्लामा पठाउनका लागि आवश्यक व्यवस्था मिलाउन पनि केन्द्रलाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप