शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी साधनमा यूरो ६ कार्यान्वयनको बहस : केही समय दिन व्यवसायीहरुको माग

बिहीबार, ११ माघ २०८०, १८ : ३९
बिहीबार, ११ माघ २०८०

काठमाडौँ । सवारी प्रदूषणको नयाँ मापदण्ड बिएस/यूरो ६ कार्यान्वयनका लागि सरकारले व्यवसायीलाई निश्चित समय दिनपर्नेेमा सरोकारवालाले जोड दिएका छन् । 

बिहीबार अटो पत्रकार संघ (जाम)को आयोजनामा सवारी प्रदूषण मादण्ड यूरो ६को कार्यान्वयन र समस्याको विषयमा भएको अन्तरक्रिया कार्यक्रममा विज्ञ तथा व्यवसायीहरुले नयाँ प्रदूषण मापदण्डका लागि कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताएका हुन् । 

कार्यक्रममा वातावरण विज्ञ भूषण तुलाधरले ३० प्रतिशत प्रदूषण सवारीसधानबाटै हुने भएकाले नेपालमा जतिसक्दो छिटो यूरो ६मा जानुपर्ने बताए ।

‘अहिले नेपालमा आउने नयाँ प्यासेन्जर गाडीहरु यूरो६ मा नै आधारित भएर आइरहेका छन् । तर, समस्या भने पुराना सवारीको व्यवस्थापन अहिलेको आवश्यकता हो,’ तुलाधरले भने, ‘विश्वमा यूरो६ २०१४ देखिनै सुरु भएको हो । यूरो३ लागू गरेको १२ वर्ष भइसकेको हुनाले तत्काल नेपालमा यूरो६ मा जान आवश्यक छ ।’

तुलनात्मक रुपमा पेट्रोल गाडीभन्दा डिजेल गाडीबाट प्रदूषण जोखिम भएको भन्दै वातावरणविद् तुलाधरले सोही अनुसार डिजेल गाडीलाई पहिलो प्राथामिकता दिएर बीएस६ मा जानुपर्ने बताए । यूरो सिक्स नीतिमा सरकारले स्पष्ट नीति ल्याउनुपर्नेमा उनको जोड छ । 

तर यता सवारी आयातकर्ताहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसियसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले प्रदूषण मापदण्ड यूरो६ कार्यान्वयनका लागि आफूहरु तयार नभएको बताउँदै तर सरकारले निश्चित समय दिनुपर्ने बताए । उक्त अवसरमा अध्यक्ष चौधरीले नाडा युरो ६ कार्यान्वयनको विरोधी नभएको समेत स्पष्ट पारे । 

उनले भने, ‘हामीले एउटा प्लानिङमा काम गरिरहेका हुन्छौँ । सरकारले यूरो६ लागू गर्ने तयारी गरिरहेको छ । तर, सकारले व्यवसायीलाई पनि समय दिनुपर्छ । सरकारले पाँच वर्षको योजना निकालेर नीति बनाओस् त्यसमा व्यवसायीले साथ दिन्छन् ।’

‘जुनदिनबाट यूरो६ लागू गर्नुपर्ने सूचना निस्कन्छ सो दिनबाट व्यवसायीलाई समय दिएर सरकारले सहयोग गर्नुपर्छ । यूरो६ मा जादा मेकानिक्सहरु पनि तयार हुनुपर्छ’, उनले थपे । 

कार्यक्रममा अटोमेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर न्यौपानेले अटोमेकानिक्सहरु राज्यको प्राथामिकतामा नपरेको गुनासो गरे । ‘यूरो६ होस् अथवा अन्य विषयमा होस् सरकारले हामीसँग सल्लाहा गर्नुपर्छ’, हामीनै तयार नभइ सरकारले किन यूरो६ लागू गर्न खोजिरहेको छ ?’ उनले प्रश्न गरे । 

अबौंको लगानी सवारीसाधन व्यवसायमा छ तर, नयाँ सवारी प्रदूषण मापदण्डका लागि केहि वर्ष समय दिनुपर्ने उनले बताए । 

वन तथा वातावरण मन्त्रालयका सीडीई (मेकानिकल) शिवराज शर्माले बीएस ÷यूरो६ कार्यान्व्यनका लागि एलसी खुलिसकेको र आयातका लागि प्रक्रिया अगाडी बढीसकेका गाडीहरुको लागि केहि समय दिने मन्त्रालयको तयारी रहेको बताए । 

उनले भने ,‘कति समय दिने भन्ने विषय टुङ्गो नलागिसकेको र समय दिने विषयमा मन्त्रीज्यु पनि व्यवसायीलाई समय दिने विषयमा सकारात्मक हुनुहुन्छ ।’

मन्त्रालय दुई वर्षअघि नै यूरो६ मा जान तयार भएको बताउँदै व्यवसायिहरुलाई बुझाउन समय लागेको उनले बताए । 

‘अटोमेकानिक्सलाई तालिम दिनुपर्छ र यूरो६ परीक्षण गर्ने उपकरणलाई भन्सार छुट दिनुपर्ने विषयमा पनि छलफल भएको छ । यो विषयमा अर्थमन्त्री पनि सकारात्मक भएको हामीले पाएका छौंनौँ,’ उनले भने । 

वातावरण विभागका सिडिके दिपक ज्ञवाली यूरो सिक्सलाई लागू गराउन  व्यवस्थापकीय भूमिकामा सबै व्यवसायी, सरकारले प्लान गरेर अगाडी बढ्नुपर्ने बताए ।

‘पछिल्लो केहि समयदेखि ट्राफिक प्रहरी, वातावरण विभाग र यातायात विभागको सहकार्यमा प्रदूषण मापदण्ड चेकचाज भइरहेको छ’, उनले भने, ‘सवारी मेकानिक्स व्यावसायीहरुसँग पनि सहकार्य गरेरअघि बढ्नुपर्ने आवश्यकता छ’ । 

अहिले चलिरहेको पुराना गाडीहरुलाईपनि फेजआउट गर्नपनि एउटा प्लान बनाए जानुपर्ने उनको भनाई छ । 

सवारी प्रदूषण जाँच केन्द्र टेकुका कार्यालय प्रमुख मणिराम भुसालले यूरो२को टुल अनुसार नै सवारी प्रदूषण चेकजाच भइरहेको बताए । ‘अहिले मालवाहक, सरकारी निकाय र संस्थानका गाडीहरु सवारी प्रदूषणमा फेल हुने गरेको देखिन्छ’, उनले भने,‘डिजेलबाट चल्ने गाडीहरुले नै प्रदूषण धेरै गर्ने गरेको पाइएको छ ।’  

२० वर्षे पुराना गाडी प्रतिस्थापन गर्ने विषयमा पनि सरकारले नीति पुनरावलोकन गर्नुपर्ने देखिएको उनले बताए । 

‘पुराना गाडीहरुको विषयमा एक समिति बनाएरै जानुपर्ने अवस्था देखिएको छ’, उनले थपे ,‘सवारी प्रदूषण चेकजाचलाई प्रभावकारी रुपमा अघि बढाउनसरकारले पनि सहयोग गर्नुपर्छ ।’

गोल्छा समूहका  निर्देशक अभिमन्यु गोल्छाले एलसी खोलेको र आयातको प्रक्रियामा रहेकालाई सहुलियत दिएर यूरो६ लागू गर्नुपर्ने बताए । ‘हामीले लामो समयदेखि बिएस सिक्सयको विषयमा छलफल गर्दै आएका छौं । अब बिएससिक्समा जान ढिलो गर्नुहुँदैन । अझै समय दिएर बिएससिक्समा जान जुरुरी छैन । तत्काल जानुपर्छ’, उनले भने ।

लक्ष्मी ग्रुपका निर्देशक निराकार श्रेष्ठले नेपालको सवारी प्रदूषण मापदण्डलाई अपग्रेड गर्नुपर्ने देखिएको तर, व्यवसायीको समस्यालाई पनि सरकारले हेर्नुपर्ने बताए । 

सार्वजनिक यातायातमा २० वर्षे नीति अव्यवहारिक

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले कुन स्ट्यान्डरमा गाडी ल्याउने भन्ने विषयमा व्यवसायीको हात नहुने बताए । ‘यूरो सिक्स लागू गर्ने कुरामा कुनै दुईमत रहेन । तर, सार्वजनिक यातायात २० वर्षे नीति व्यवहारीक छैन, स्ववारले भने ‘अब हामी ईभीमा जाने हो कि हाइड्रोजनमा जाने सरकार यो विषयमा क्लियर हुन जरुरी छ’, उनले भने ।

त्यस्तै कार्यक्रममा यूरो६ को विषयमा सिप्रदि टे«डिङका प्रमुख कार्यकारी अधिकृति राजनबाबु श्रेष्ठले कर्मशियल गाडीहरुमा सबैभन्दा धरै बिएस३ र बिएस६ का धेरै गाडी गुडिरहेको बताए । 

‘यूरोसिक्सको विषयमा आवश्यक इकोसिस्टममा सिप्रदीले टेक्नीसियन, तालिम तथा उपकरणको बिषयमापनि गृहकार्य गरिरहेको छ’, राजनबाबु श्रेष्ठले भने ,‘लोकल टेक्निसियन तर्फपनि सिप्रदिले  सवारीप्रदुषणको नयाँँ मापदण्डको विषयमा तयारी गर्दै आएका छौं’, नाडाबाटपनि बिएस६को तालिम दिँदै आएका उनको भनाई छ । 

अटो पत्रकार संघका अध्यक्ष सागर गजुरेलले २० वर्ष पुराना सर्वजनिक सवारीलाई हटाउने नीति कार्यान्वयन हुनुपर्ने बताए । ‘अहिले सरकारले सवारी प्रदूषण मापदण्ड यूरो ६ मा जाने तयारी गरिरहेको छ । यसमा व्यवसायीले साथ दिनुपर्छ  । सरकारलेपनी नेपाल आउने क्रममा रहेका र अर्डर भएको गाडीलाई समय दिएर नेपालमा नयाँ प्रदूषण मापदण्डमा जानैपर्छ’, उनले भने । कार्यक्रममा सरोकारवाला निकाय, वन तथा वातावरण मन्त्रालय, यातायात व्यवस्था विभाग, सवारी आयातकर्ता व्यवसायी, विज्ञसहित सञ्चारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप