आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
मासु निर्यात प्रक्रिया

नेपालबाट चीनमा मासु निर्यातको तयारी कहाँ पुग्यो ?

नेपालमा हुन्छ वार्षिक १ लाख ९० हजार मेट्रिक टन राँगा र भैँसीको मासु उत्पादन
शुक्रबार, १२ माघ २०८०, ११ : १५
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । गत असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नेपालले चीनतर्फ राँगा तथा भैंसीको मासु निर्यात गर्ने सहमति भएको थियो । दुई देशका प्रधानमन्त्रीबिचको भेटवार्तापछि असोज ९ गते (मंगलबार) जारी संयुक्त विज्ञप्तिमा चीन नेपालबाट राँगा तथा भैंसीको मासु आयात गर्न तयार भएको उल्लेख थियो ।

सोही अनुसार नेपाल सरकारले यही वर्ष राँगा तथा भैँसीको मासु चीन निर्यातको सुरुवात हुने अपेक्षाका साथ आवश्यक तयारी गर्दैछ । नेपालबाट भैंसी र राँगाको मासु आयात गर्न चीन सकारात्मक देखिएसँगै चीन, स्थानीय तह, निजी क्षेत्रसँग आवश्यक तयारीका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समन्वय गरिरहेको सो मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले बताए ।

‘रिस्क एसिस्टमेन्ट भन्ने प्रश्नावली चीन सरकारले पठाएको थियो, त्यो भरेर पठाएका छौँ,’ सचिव पौडेलले रातोपाटीसँग भने, ‘चीनले विभिन्न समयमा यस्ता विषयमा सोधिरहेको छ । त्यो काम पूरा भएपछि सोही अनुसार जोनिङ र कम्पार्टमेन्टको कार्य गर्नेछौँ ।’

मासु आयात गर्न चीनले पहिलो प्राथमिकतामा स्वस्थ्यकर मासु हेर्ने गरेको सचिव पौडेलले बताए । ‘अहिले स्वास्थ्यका कुरा, खोपका कुरा, पशुपालन, असल अभ्यास लगायतका विषय चीनले हेर्दैछ,’ उनले भने, ‘ती सबै कुरा मूल्याङ्कन गरेर चीनले अब ठिक छ भनेमात्रै मासु निर्यातको लागि तयार हुन्छ ।’

स्वस्थकर मासुका लागि पशु स्वास्थ्य महत्त्वपूर्ण हुने पशुसेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकाल बताउँछन् । नेपालमा खोरेत रोग उन्मुलन हुन नसकेकाले चुनौती थपिएको उनको भनाइ छ । ‘खोरेत रोग निर्मुल पार्न सकिँदैन, तर रोगको जोखिम कम भएको क्षेत्र छनौट गरेर ती क्षेत्रमा दुई वर्षदेखि रोग नदेखिएको प्रमाणित गरेमा मासु निर्यात हुने सम्भावना रहन्छ,’ उनले भने ।

मासु निर्यातका लागि पशुचौपायामा नियमित खोप लगाउने, क्वँरेन्टाइन क्षेत्र निर्धारण गर्ने र रोग मुक्त क्षेत्र सञ्चालन गरेर उत्पादन बढाउने तयारी भइरहेको ढकालले सुनाए । ‘हाललाई रोग मुक्त क्षेत्र सञ्चालन गरेर उत्पादन बढाउने तयारी छ,’ उनले भने, ‘आवश्यकता अनुसार ती क्षेत्र पनि बढाउने छौँ ।’

नेपालमा खपत भइरहेको मासु बाहिर मुलुकमा निर्यात गर्नसके बढी आयआर्जन हुने भएकाले मासु निर्यात गर्ने पहल गरिएको उनले उल्लेख गरे ।

नेपालमा ८ देखि १० वटा निजी पशु बधशाला मासु निर्यात गर्न नसकेर बन्द अवस्थामा छन् । ती बधशाला सञ्चालन गर्नका लागि पहल भइरहेको सचिव पौडेलले जनाए । ‘पहिलाका बधशालाहरु मासु नपाएर बन्द हुने स्थितिमा छन्, यी बधशाला मासु निर्यातकै लागि सञ्चालन भएका हुन्,’ उनले भने, ‘यिनीहरुलाई चलाउन सके राम्रो हुन्छ, पछि आवश्यकता अनुसार अरु बधशाला सञ्चालन गर्न सकिन्छ ।’

पौडेलका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पर्ने भैंसी पालन जोनलाई पनि यस योजनामा समावेश गर्ने तयारी भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको बधशाला र भैंसी–राँगाको फार्म नभए पनि पशु बधशाला र मासु जाँच ऐन अनुसार बारा जिल्लामा एउटा बधशाला सञ्चालनमा रहेको मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्रप्रसाद बोहराले बताए । उनले रोगमुक्त मासु निर्यातका लागि ७० डिग्री तापक्रममा मासु तताएर पठाइने बताए ।

‘चीनले प्रोटोकलको जति छिटो प्रतिक्रिया दिन्छ, त्यति छिटो नै हामीले मासु निर्यातको सुरुवात गर्न सक्छौँ,’ उनले भने, ‘यदि आगामी फेब्रुअरीमा चीनले प्रतिक्रिया दियो भने यो वर्षमै मासु निर्यात सुरुवात गर्न सक्छौँ ।’

पशुसेवा विभागका सूचना अधिकारी डा. ढकालका अनुसार मासु निर्यातका लागि तत्कालीन र दीर्घकालीन गरी लामो तयारी गर्नुपर्ने हुन्छ । ‘कानुनी कामहरु गर्न केही समय लागे पनि हामीले तक्काल गर्न सकिने कार्य गर्दैछौँ,’ उनले रातोपाटीसँग भने ।

मासुका लागि कस्तो क्षेत्र उपयुक्त ?

मासु उत्पादन गर्नका लागि पालिने पशुचौपाया स्वस्थ्यकर हुनुपर्छ । पशुचौपायामा सजिलै रोगको संक्रमण नफैलिने क्षेत्रफल हुनुपर्छ । स्वस्थ्यकर मासु उत्पादनका लागि क्षेत्र छनौटको कार्य भइरहेको सरकारी अधिकारी बताउँछन् ।

‘रोग किराको संक्रमण नहुने क्षेत्र हुनुपर्छ,’ डा. पौडेलले भने, ‘यस्तो क्षेत्र खोजेर जोनिङको लागि कार्यहरु भइरहेको छ । बोर्डरतिर गएमा पशुचौपायामा रोग सर्ने सम्भवना हुन्छ, त्यसकारण अलिकति आइसोलेटेड एरियाको आवश्यकता पर्दछ, एउटै नाका पर्ने क्षेत्र उपयुक्त हुन्छ ।’

प्रदेश सरकारले आगामी वर्ष भैंसी पालन तथा प्रवर्द्धन लगायतका कार्यक्रममा जोड दिने मन्त्रालयले जनाएको छ ।

यी देशमा निर्यात हुँदै आएको छ मासु 

नेपालबाट भैंसी र राँगाको मासु अहिले पनि निर्यात भइरहेको सरकारी तथ्याङ्कले देखाउँछ । भन्सार विभागका अनुसार हङकङ, भियतनाम, अमेरिकामा नेपालबाट भैंसी र राँगाको मासु निर्यात हुँदै आएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा मात्रै ८८ हजार किलो मासु निर्यात भएको छ । सो बापत १ करोड ५३ लाख ३१ हजार रुपैयाँ आर्जन भएको छ । गत वर्ष १ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबर १ लाख ४४ हजार किलो राँगा र भैंसीको मासु निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । सो वर्ष हङकङमा ८४ हजार किलो र भियतनाममा ६० हजार किलो मासु निर्यात भएको विभागले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७८÷०७९ मा १ करोड ३२ लाख ९ हजार रुपैयाँ बराबरको १ लाख ९५ हजार किलो मासु भियतनाममा निर्यात भएको छ । नेपालबाट भियतनाम लगायतका मुलुकमा पुगेको मासु अन्य विभिन्न मुलुकको बजारमा बिक्री हुने सम्बद्ध अधिकारीले बताएका छन् ।

नेपालमा कति उत्पादन हुन्छ राँगा र भैंसीको मासु ?

नेपालमा वार्षिक रुपमा औसतमा १ लाख ९० हजार मेट्रिक टन राँगा र भैँसीको मासु उत्पादन हुँदै आएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१९/०२० मा १ लाख ८९ हजार मेट्रिक टन मासु उत्पादन भएको थियो । सन् २०२०/०२१ मा १ लाख ८८ हजार मेट्रिक टन, सन् २०२१/०२२ मा १ लाख ९४ हजार मेट्रिक टन राँगा र भैंसीको मासु उत्पादन भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सचिव डा.पौडेलले नेपाल र चीनबिच मासु निर्यातका लागि भएको पहलले दुई देशको व्यापार घाटा न्यूनीकरण गर्न समेत सघाउने बताए । यसका लागि मासुको स्वच्छता र गुणस्तर मापदण्डमा नेपालले विशेष ध्यान दिनुपर्ने देखिएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप