बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल र चीनबिचको सम्बन्धलाई जनस्तरको अन्तरक्रियाबाट गहन बनाउनुपर्छ: राप्रपा

आइतबार, १४ माघ २०८०, १६ : ०९
आइतबार, १४ माघ २०८०

काठमाडौँ । नेपाल र चीन बिचको विशिष्ट सम्बन्धलाई जनस्तरको अन्तरक्रियाबाट अझ गहन बनाउनु पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जोड दिएको छ ।

दुई असल छिमेकी, नेपाल र चीन बिचको ऐतिहासिक, मित्रवत् र बुहआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र अर्थपूर्ण बनाउन जनस्तरको अन्तरक्रिया उपयोगी हुने राप्रपाका प्रवक्ता तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख सगुन सुन्दर लावतीले बताए । 

‘दुई असल छिमेकी बिचको आपसी सद्भाव र सम्बन्धलाई व्यावहारिक तहमा प्रवर्द्धन गर्न, सरकार र उच्च नेतृत्व तहका साथै जनता–जनता बिचको अन्तरक्रिया र सम्बन्धलाई पनि अझ गहन र सघन बनाउनु पर्दछ,’ आइतबार राजधानीमा आयोजित अन्तरक्रियामा उनले भने ।

एक चीन नीतिमा अभ्यस्त रहेर आपसी र समावेशी लाभका विषय, द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्नु पर्ने  राप्रपाका विदेश विभाग प्रमुखसमेत रहेका उनको भनाइ थियो । 

‘दुई छिमेकीबिच जसरी सुख दुखको सम्बन्ध हुन्छ, नेपाल र चीन दुई देशबिच, इतिहास साक्षी छ, त्यसै प्रकारको गहिरो र घनिष्ठ सम्बन्ध रही आएको छ । इतिहासका विभिन्न कालखण्डमा मात्र नभएर, आधुनिक युगको सन्दर्भमा समेत समावेशी र आपसी लाभको विषयमा सहकार्य र परामर्श हुँदै आएको विदितै छ ,’ उनले भने । 

सरकार र नेतृत्व तहमा भएका सहमतिलाई व्यवहारमा प्रवर्द्धन गर्न समाजका विभिन्न तहमा अन्तरक्रियाहरू निरन्तर रहनु पर्दछ भन्ने उनको भनाइ थियो ।

‘जनता–जनता तहको अन्तरसम्बन्धको एउटा उदाहरण प्रस्तुत गरौँ, काठमाडौँ, चितवन र पोखरामा समेत छायाङ्कन भएको चिनियाँ चलचित्र अप इ द वीन्ड चीनमा प्रदर्शन भएपछि, धेरै चिनियाँ नागरिकहरूले नेपालबारे जानकारी पाएको र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढेको भन्ने मिडिया रिपोर्ट मैले पढेको थिएँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप