आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

घरको सरसफाइपछि श्रीमानले श्रीमतीलाई सवा १ लाख रुपैयाँको बिल पठाए

बुधबार, १७ माघ २०८०, १३ : ३९
बुधबार, १७ माघ २०८०

काठमाडौँ । आफ्नो घरको सरसफाइ जोकोहीले गर्छ । सरसफाइको जिम्मेवारी महिलाको काँधमा धेरै छ । यो जिम्मेवारी बाँडफाँट गर्ने  पुरुषहरू पनि समाजमा देख्न पाइन्छ । 
यसैबिच एक जना पुरुषले आफ्नै घरको सरसफाइ गरेपछि श्रीमतीको नाममा बिल पठाएको बेलायतको एउटा घटनाले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । डेली टेलिग्राफमा छापिएको एउटा खबरका अनुसार ती पुरुषको नाम मार्क ह्याच हो । उनले क्लिन मी कार्पेट नाम गरेको सरसफाइ कम्पनी चलाउँछन् । एक दिन  मार्कलाई आफ्नै घर सफा गर्ने काम आयो ।

यो काम उनले पूरै इमानदारीका साथ गरे । ६ घन्टासम्मको कठोर परिश्रमपछि उनले पूरै घर टिलिक्कै चम्काइदिए । त्यसपछि उनले आफूले गरेको कामको बिल श्रीमतीलाई थमाइदिए । खबरका अनुसार मार्कले थमाइदिएको बिलको रकम करिब ७०० पाउन्ड (लगभग १ लाख १८ हजार नेपाली रुपैयाँ) थियो । यो बिल भुक्तानी नभएपछि मार्कको कम्पनीले फेसबुकमा एक जना ग्राहकले भुक्तानी नगरेको भन्दै एउटा पोस्ट गरेको थियो ।

श्रीमतीसँग ह्वाट्स एप म्यासेजमा भएको कुराकानीको स्क्रिनसट फेसबुकमा पोस्ट गर्दै मार्कले लामो स्ट्याटस लेखेका छन् । ‘एउटा ठुलो कर्नर सोफा, ३ बेडरुमको गलैँचा अनि भुईँ सफा गरेको देखेर ग्राहकले आफू निकै खुसी भएको बताइन् । तर भुक्तानीको अनुरोध गरेपछि ग्राहकले हामीलाई यस्तो खालको सन्देश पठाइन्,’ श्रीमतीको जवाफ उदृत गर्दै उनले लेखेका छन्, ‘आफ्नो भावनालाई काबुमा राख, हामी विवाहित हौँ अनि हाम्रो ३ सन्तान पनि छन् ।’ यो स्क्रिनशट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप