बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश सरकार

आफ्नै विभागीय मन्त्रीसँग रुष्ट राज्यमन्त्रीहरू

बिहीबार, १८ माघ २०८०, ११ : ०७
बिहीबार, १८ माघ २०८०

धनगढी । नियुक्त भएको लामो समय बित्दा पनि जिम्मेवारीविहीन बनेपछि सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीहरू रुष्ट देखिएका छन् । जिम्मेवारी नपाएपछि एकै दलबाट गएका राज्यमन्त्रीहरू आफ्नै विभागीय मन्त्रीहरूसँग रुष्ट बनेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरी नागरिक उन्मुक्ति पार्टीबाट राज्यमन्त्री बनेका हुन् । नागरिक उन्मुक्ति पार्टीकै रामेश्वर चौधरी सोही मन्त्रालयका मन्त्री छन् । तर ती मन्त्री र राज्यमन्त्रीबिच जिम्मेवारीको द्वन्द्व चलिरहेको हो । 

मुख्यमन्त्री कमल बहादुर शाहले २०८० साउन १७ गते नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउँदै मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई नियुक्त गरेका थिए । तर राज्यमन्त्री कैलाश चौधरीले आफूलाई जिम्मेवारीविहीन बनाएको भन्दै पटक–पटक पार्टी अध्यक्ष रेशमलाल चौधरी, संसदीय दलको नेता घनश्याम चौधरीलाई जिम्मेवारी बाँडफाँडको लागि आग्रह गर्दै आएका छन् । 

आफ्नो मागको कुनै सुनुवाइ नहुँदा उनी रुष्ट छन् । उनी भन्छन्, ‘सामान्य औपचारिक कार्यक्रममा मात्रै सीमित छु । मन्त्रालयमा आफ्नो जिम्मेवारी स्पष्ट नभएपछि अन्योलमा छु ।’

यता मन्त्री रामेश्वर चौधरी भने मन्त्री र राज्यमन्त्रीको कानुनमा भएको व्यवस्था अनुसार काम कर्तव्य र अधिकार अनुसार जिम्मेवारी बाँडफाँड भएको बताउँछन् । आफूले राज्यमन्त्रीले पनि आफ्नो काम गरिरहेको देखेको बताउँदै मन्त्री चौधरीले उहाँले जिम्मेवारी नै नपाएको भन्नेबारे आफूलाई थाहा नभएको स्पष्ट पारे ।

  • राजीनामा दिन तयार छु: राज्यमन्त्री गीतादेवी

प्रदेश सरकारकी उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल पनि आफ्नै दल तथा आफ्नै विभागीय मन्त्री रमेश सिंह धामीसँग रुष्ट छिन् । नेकपा माओवादी केन्द्रबाट राज्यमन्त्री बनेकी गीतादेवी मन्त्रालयभित्रको जिम्मेवारी नपाएको भन्दै संसदीय दलको नेता फेर्नेदेखि सरकारमा रहेका आफूसहितका मन्त्रीहरू फिर्ता गर्नुपर्ने मोर्चामा हिँड्ने गरेकी छिन् । उनी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहाँ मन्त्री फेरबदल गर्ने प्रस्ताव लिएर पुगेकी थिइन् ।

गत पुस १९ गते प्रदेश सरकारको विषयलाई लिएर सभामुख भीमबहादुर भण्डारी, राज्यमन्त्री गीतादेवीसहित ६ जनाले प्रधानमन्त्रीलाई भेटेका थिए । राष्ट्रिय सभा निर्वाचन निर्वाचन लगत्तै सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता नै फेरिए । खगराज भट्टलाई हटाइँदै मानबहादुर धामीलाई नेता बनाइयो । अब सरकारमा रहेका ३ जना मन्त्रीलाई पनि फिर्ता बोलाउने तयारी रहेको बताइएको छ । यद्यपि मन्त्रीहरूलाई फिर्ता गरिने अवस्था नरहेको दलका नेता धामीले प्रतिक्रिया दिँदै आएका छन् । दलको नेता फेरिएको घटनाले माओवादीभित्र हाल आन्तरिक कलह चुलिएको छ ।

रातोपाटीसँग कुराकानी गर्दै राज्यमन्त्री गीतादेवीले भनिन्, ‘मन्त्रालयको क्षेत्र फराकिलो छ । जिम्मेवारी बाँडफाँडको लागि मन्त्रीज्यूसहित सबै तहमा कुरा राखेकी थिएँ । तर केही भएन । राज्यमन्त्री बने पनि केही जिम्मेवारी नभएपछि के को राज्यमन्त्री ? म यहीँ लडाइँमा छु । पार्टीले फिर्ता बोलाएको अवस्थामा तत्काल राजीनामा दिन पनि तयार छु । कामै नभएको पदमा बसेर के गर्नु ?’

मुख्यमन्त्री शाहले २०८० जेठ ६ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा माओवादी केन्द्रबाट झपट साउदलाई सामाजिक विकास मन्त्री, रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र गीतादेवीलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप