शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अबको एक वर्ष नयाँ फिल्म साइन गर्दिनँ : दयाहाङ राई

बिहीबार, १८ माघ २०८०, १६ : १८
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । अभिनेता दयाहाङ राईले अबको एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताएका छन् । आफूले अभिनय गर्नुपर्ने धेरै फिल्म थुप्रिएका कारण यस्तो गर्न लागेको उनले सुनाए ।

‘मैले अभिनयका लागि सहमति जनाएको घोषणा हुन बाँकी ५ फिल्म छन् । त्यसपछिका अन्य फिल्म साइन गर्दिनँ,’ दयाहाङले भने, ‘साथीभाइको मुख हेर्दाहेर्दै धेरै फिल्म थुप्रियो ।’ दयाहाङले आफ्नो अभिनय रहेको फिल्मको सङ्ख्या धेरै भएकोले अब केही कम गर्ने सोच समेत राखेको सुनाए ।

बिहीबार फिल्म ‘दयारानी’को प्रेस मिटमा दयाहाङले फिल्म ‘दयारानी’ले दर्शकका लागि नौलो स्वाद हुने सुनाए ।  ‘फिल्म सन्तान नभएका श्रीमान् श्रीमतीबिचको कथा हो’, राइले थपे, ‘यसले सन्तान नभएका श्रीमान् श्रीमतीका लागि सन्ताको उपाय समेत खोज्छ ।’

‘दयारानी’ आगामी २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । यो मितिमा दायहाङको अर्काे फिल्म ‘हात्ती छाप’ पनि रिलिज हुँदै छ । एउटै मितिमा आफ्नो दुई वटा फिल्म रिलिज हुँदा प्रेसर र अप्ठ्यारो के फिल्म हुन्छ ? कार्यक्रममा उनलाई पत्रकारको प्रश्न थियो । जवाफमा उनले प्रचार प्रसारमा अहिले केही प्रेसर भए पनि अन्य कुरो सहज भएको बताए ।

‘माघ २६ मा आउने मेरो दुवै फिल्म एकै समय बनेको होइन, यी फिल्म निर्माण ३, ४ वर्षको ग्याप थियो । अहिले रिलिजमा कसरीसँगै आयो । त्यो मैले बुझिन’, दयाहाङले भने, ‘रिलिजसँगे भए पनि यी दुवैको फरक फरक दर्शक हुन् । कसैलाई केही असर नपर्ला ।’ दयाहाङले दुवै फिल्मले  दर्शक रिझाउने सुनाए ।

कार्यक्रममा अभिनेता विजय बरालले फिल्म ‘दया रानी’मा आफू दयाहाङ राईको मितिको रुपमा देखिन लागेको बताए । धेरै फिल्ममा दयाहाङको सहयोगीको भूमिकामा देखिएका विजयले यसपालि आफ्नो भूमिकाले दर्शकलाई फरक टेस्ट दिने सुनाए । ‘मलाई दयाहाङको साथ छोड्नु हुँदैन जस्तो लाग्छ । त्यसैले यो पटक मितको रूपमा छु’, विजयले थपे, ‘मेरो पत्रले फिल्मको कथामा विभिन्न मोड ल्याउँछ ।’ विजयले आफ्नो भूमिका पनि फिल्मको लागि महत्त्वपूर्ण रहेको दाबी गरे ।

त्यस्तै अभिनेत्री दिया पुनले आफू फिल्ममा दयाहाङकी श्रीमतीको रूपमा देखिने बताइन् । ‘फिल्ममा विवाह भएको धेरै समय हुँदा पनि सन्तान जन्माउन नसकेकी एउटा महिलाको भूमिकामा म छु । जसलाई परिवार र समाजले सन्तानको लागि टर्चर दिइरहेको हुन्छ’, दियाले थपिन् ।

‘दयारानी’ माओत्से गुरुङको डेब्यू निर्देशन रहेको फिल्म हो । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।

फिल्ममा दयाहाङ, दिया र विजयको अलवा प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको अभिनय छ । 

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यु आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्म नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप