बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

वीरगञ्जका मेयर सिंहविरुद्ध परेको जाहेरीमा छानबिन सुरु

प्रहरीले माग्यो अनुसूची फर्मसहित आवश्यक सबै कागजात
शुक्रबार, १९ माघ २०८०, १९ : ३४
शुक्रबार, १९ माघ २०८०

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पर्सा प्रहरीमा परेको जाहेरीमा छानबिन प्रक्रिया अगाडि बढेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै नागरिकताको आवेदन सम्बन्धी अनुसूची फारमसहितका कागजातहरु पठाइदिन आग्रह गरेको छ ।

प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दको हस्ताक्षरमा १६५८४ नम्बरको चलानी नम्बर रहेको पत्र माघ १० मा पठाइएको र सोही मितिमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको स्रोतको भनाइ छ ।

प्रहरीले पठाएको पत्रमा भनिएको छ, ‘वीरगञ्ज–३ मा बस्ने रुविना श्रेष्ठ र राजेशमान सिंहविरुद्ध झुटो विवरण पेस गरी नागरिकता र राहदानी लिएको कसुर सम्बन्धी जाहेरी परेको छ, जाहेरीमा ०७५ साल १३ साउनमा रुविना श्रेष्ठको नाममा ३४–०१–७५–०४८४७ नम्बर जारी फर्जी विवरणमा जारी भएको लेखिएको छ । त्यसकारण योसँग सम्बन्धित सबै कागजातहरुको आवश्यकता परेको हुँदा अनुसूची फारमसहितका कागजातहरु पठाइदिनुहुन अनुरोध छ ।’

यसैगरी जिल्ला प्रहरीको पत्रमा रुविना श्रेष्ठको नाममा जारी भएको राहदानीका लागि पेस गरेको आवेदन फारम तथा सम्बन्धित कागजातहरुसमेत पठाइदिन अनुरोध गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयको पत्र जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जनाए । उनका अनुसार प्रहरीले माग गरेका कागजातहरुको खोजी भइरहेको छ ।

उनले भने, ‘प्रहरीले मागेको केही कागजात फेला परेको छ, केही बाँकी छ । त्यो खोज्दैछौँ, फेला पर्ने बित्तिकै सबै कागजात राखेर प्रहरीलाई पठाउने तयारीमा छौँ ।’

dpo latter

के हो नागरिकता काण्ड ?

जिल्ला प्रशासन कार्यालय पर्साबाट झुटो कागजातको आधारमा छोरी बनाइ नागरिकता दिलाएको भन्दै गत पुस २४ गते मेयर सिंहविरुद्ध कारबाहीको मागसहित विभिन्न ७ निकायमा १७ जनाभन्दा बढीले उजुरी दिएका थिए ।

उजुरीमा झुटो विवरणको आधारमा मेयर सिंहले ०७५ साल साउन १३ मा रुविना श्रेष्ठलाई नागरिकता दिलाएको आरोप छ । 

रुविना श्रेष्ठको नाममा जारी ३४–०१–७५–०४८४७ नम्बरको नागरिकतामा बुवाको नाम राजेशमान सिंह लेखिएको तर मेयर राजेशमानले विभिन्न निकायमा जनाएको पारिवारिक विवरणमा छोरीको कतै उल्लेख नभएपछि किर्ते भएको आशंका बढेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप