बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मिस नेपाल नर्थ अमेरिका २०२४ को आवेदन खुल्यो

आइतबार, २१ माघ २०८०, ०६ : ५५
आइतबार, २१ माघ २०८०

अमेरिका ।  अमेरिकाको न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२४ को आवेदन पत्र खुला गरिएको छ ।  आगामी मे ३१ सम्म आवेदन दिन सकिने आयोजकले जानकारी दिएको छ । 

प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सलले गर्नेछ ।  आयोजक संस्थाका संस्थापक सैलेश श्रेष्ठले जानकारी दिए अनुसार आज मिति फेब्रुअरी ३ ,२०२४ शनिबार देखि आवेदन लिन सुरु गरिएको छ । 

मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक वर्ष अगस्त महिनामा हुँदै आएता पनि गत वर्ष जुलाई महिनामा आयोजना गरिएको थियो ।  यस पटक अगस्त ३ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ । विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुने श्रेष्ठले बताए ।

श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा सँगै हिम्मतको यात्रा सुरु गरौँ भन्ने आत्मविश्वासी तथा प्रेरणादायी शब्द प्रयोग गर्दै उत्तर अमेरिकामा बसोबास गर्ने प्रतिभाशाली ,होनहार तथा इच्छुक सबैलाई सहभागी हुन् अनुरोध गरेका छन् ।

मिस नेपाल नर्थ अमेरिकाले नेपाली महिलाहरूलाई आफ्नो महत्त्वाकाङ्क्षा साकार पार्न, आत्मसम्मान बढाउन र अनुकरणीय व्यक्ति बन्न मञ्च प्रदान गर्ने विश्वास लिएको छ ।

मिस नेपाल नर्थ अमेरिका विश्वभरिका नेपाली समुदायमा मात्र नभई अन्य समुदायमा पनि त्यतिकै लोकप्रिय तथा स्थापित प्रतियोगिता बन्न सफल भएको छ । यत्र तत्र सर्वत्र चर्चाको शिखरमा पुग्न सफल यस प्रतियोगितालाई अत्यन्तै उच्च सम्मान तथा व्यावसायिक प्रतियोगिताको रूपमा हेरिन्छ । स्थापना काल देखि नै व्यावसायिकताको परिचय दिँदै विगतका सबै प्रतियोगिताहरू उत्तिकै उत्साहजनक तथा सफलतापूर्वक सम्पन्न गरिएका छन् ।

यस सुन्दरी प्रतियोगितामा नेपालका पूर्व नेपाल सुन्दरी शृङ्खला खतिवडा ,पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ, कलाकार प्रियंका कार्की लगायत ख्यातिप्राप्त थुप्रैले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरी सकेका छन् । साथै उनीहरुले प्रतियोगीहरूलाई समेत विशेष उत्प्रेरणा तथा तालिम दिई हौसला समेत दिई प्रतियोगीहरूको मनोबल उच्च पार्ने काममा कुनै कसर नछोडी आफूमा रहेको ज्ञान र सिप समेत साझा गरेका छन् ।

गत वर्ष मिस नेपाल नर्थ अमेरिका २०२३ जुबली शेर्पा भएकी थिइन् । अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगितामा आफ्ना १७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधि उनले आफ्नो पोल्टामा पार्न सफल भएकी थिइन् ।

प्रतियोगिताको प्रथम उपबिजेता रजिला बास्तोला र द्वितीय उपबिजेता  ईशा सुवेदी भएकी थिइन् । ड्रिम्स युनिभर्सले आयोजना गरेको यो प्रतियोगितामा अमेरिका र क्यानडामा रहेका नेपाली मूलका १८ जना प्रतिस्पर्धी सहभागी भएका थिए ।

sai-3-900x601

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप