बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्जमा धार्मिक स्थल र विद्यालय सटरमा मदिरा एवं सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक

आइतबार, २१ माघ २०८०, १९ : ०३
आइतबार, २१ माघ २०८०

वीरगन्ज । वीरगन्ज महानगरपालिकाभित्रका धार्मिक र विद्यालयको वरपर मदिरा एवम् सुर्तीजन्य पदार्थहरुको बिक्रीवितरण र कारोबार गर्नमा रोक लगाउने निर्णय गरिएको छ ।  

वीरगन्ज महानगरपालिका अन्तर्गतको बजार अनुगमन समितिको बैठकले महानगरभित्र पहिलो चरणमा सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थहरुको बिक्रीवितरण र कारोबार गर्नमा रोक लगाउने निर्णय गरेको हो । 

महानगरपालिकाकाले पहिलो चरणमा मन्दिर, मस्जिद, विद्यालय तथा कलेजहरुको भवन र जग्गामा मदिरा एवम् सुर्तीजन्य पदार्थहरु बिक्रीवितरण र कारोबार गर्न रोक लगाउने निर्णय गरेको हो ।  

वीरगन्ज महानगरपालिकाको कार्यालयमा उपप्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको बजार अनुगमन समितिको बैठकले यस्तो निर्णय गरेको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाका उपप्रमुख आलमले पहिलो चरणमा धार्मिक स्थल र विद्यालयको सटरमा हुने मदिरा र सुर्तीजन्य पदार्थको बेचबिखनमा रोक लगाउने निर्णय भएको बताए । त्यसको रोकथामका लागि सोमबारदेखि महानगरपालिकाले आफ्नो संयन्त्र परिचालन गर्ने समेत तयारी गरिसकेको उपप्रमुख आलमको भनाइ छ । 

संघीय स्वास्थ्य ऐन अनुसार मठमन्दिर र शिक्षालयहरुको वरिपरि ५०० मिटरसम्म मदिरा एवम् सुर्तीजन्य पदार्थ बेच्न नपाइने नियमलाई टेकेर यो निर्णय गरिएको वीरगन्ज महानगरपालिकाको कार्यालयको भनाइ छ ।  

यसैगरी बैठकले महानगरभित्र रहेका सहकारीहरुको अनुगमन तीव्र बनाइने, अनुगमनको क्रममा दिइएको निर्देशनहरुको पालन भए÷नभएको जाँच गर्ने, निष्क्रिय सहकारीहरुलाई खारेजीको प्रक्रिया चलाउने र विद्यालयको पनि अनुगमन गर्ने निर्णय गरेको छ । 

बैठकमा महानगरका प्रशासकीय अधिकृत मातृका भट्टराई, खाद्य अनुसन्धान अधिकृत विपिन कुमार दास, होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्त, घरेलु र प्रशासनका प्रतिनिधि तथा उपभोक्ता मञ्चका अजित भुजेल लगायतको सहभागी थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप