आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश सभा

अतिरिक्त सेवा सुविधाबाहेक पदाधिकारी र सांसदको पारिश्रमिक नै वार्षिक २ करोडभन्दा बढी

सोमबार, २२ माघ २०८०, १४ : ०१
सोमबार, २२ माघ २०८०

सुर्खेत । कर्णाली प्रदेशसभाले एक वर्षको अवधिमा जम्माजम्मी ३ वटा कानुन निर्माण गरेको छ । कानुन निर्माणमा कमजोर सभाका पदाधिकारी र सदस्यहरूले लिने पारिश्रमिकलगायतका सेवा–सुविधाको भारचाहिँ झनझन बढिरहेको छ ।

कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ मा पदाधिकारी र सदस्यहरूले के के र कति पाउने भन्ने व्यवस्था गरिएको छ ।

ऐनको व्यवस्था बमोजिम सभामुखले ६१ हजार ४८० रुपैयाँ र विपक्षी दलको नेता तथा उपसभामुखले ५८–५८ हजार रुपैयाँ मासिक पारिश्रमिक बुझ्छन् ।

सत्ता पक्ष र विपक्षी दलको प्रमुख सचेतक र विषयगत समितिका अध्यक्षहरूको मासिक पारिश्रमिक ५६ हजार ८४० रुपैयाँ छ । सभामा चार वटा विषयगत समिति छन् । तीन दलका प्रमुख सचेतकहरूको तलबमा मात्रै मासिक १ लाख ७० हजार ५२० र समितिका अध्यक्षहरूको तलबमा मासिक २ लाख २७ हजार ३६० रुपैयाँ खर्च हुने सभा सचिवालयले जनाएको छ ।

मासिक पारिश्रमिक ५४ हजार ५२० पाउने तीन दलका सचेतकको तलबमै मासिक १ लाख ६३ हजार ५६० रुपैयाँ खर्च हुन्छ । ४० सदस्यीय सभा सदस्यको मासिक पारिश्रमिक ५२ हजार ६०० रुपैयाँ छ । सभाका सदस्य मुख्यमन्त्री र मन्त्रीहरू गरी ८ जना बाहेक पदाधिकारी र सांसदको सङ्ख्या ३२ छ । सभामुख, उपसभामुख, विपक्षी दलको नेता, समितिका अध्यक्ष र प्रमुख सचेतक–सचेतकको सङ्ख्या १३ छ । बाँकी १९ जना सांसदको तलबमा मात्र मासिक ९ लाख ९९ हजार ४०० रुपैयाँ सकिन्छ ।

सभामुखदेखि सचेतक, समितिका अध्यक्ष, सांसद गरी ३२ जनाको तलबमा मात्रै मासिक १७ लाख ३८ हजार ३२० रुपैयाँ सकिन्छ भने यो रकम वार्षिक २ करोड ८ लाख ५९ हजार ८४० रुपैयाँ हुन्छ । बैठक भत्ता भने सबैले प्रतिदिन एक हजार रुपैयाँका दरले पाउँछन् ।

यस बाहेक ‘कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ अनुसार आवास सुविधा, फर्निचर, निजी सचिवालय बन्दोबस्त, सवारी इन्धन, मोबिल, बिजुली धारा, दैनिक भ्रमण भत्ता र यात्रा बीमा लगायत ११ प्रकारका सेवा सुविधाहरू छन् ।

कर्णालीसँग आफ्नो कुनै आयस्रोत छैन । तर, प्रदेशसभा पदाधिकारी तथा सदस्यहरूको सेवा–सुविधा थपिएको थपियै छ ।

२०७८ मा ऐन संशोधन गरी सञ्चार, बैठक भत्ता र वैदेशिक भ्रमण भत्ता बढाइयो भने अन्य सुविधाहरू ०७५ मै तय गरिएको पाइन्छ । सञ्चार सुविधा (टेलिफोन, इन्टरनेट, पत्रपत्रिका) अन्तर्गत सभामुखले मासिक ३५ सय, विपक्षी दलका नेता र उपसभामुखले ३४ सय, सत्ता पक्षका प्रमुख सचेतक र विपक्षी दलका प्रमुख सचेतकले ३३ सय, दलको प्रमुख सचेतक र सत्ता पक्षको प्रमुख सचेतकले ३२ सय र विपक्षी दलको सचेतक र प्रदेशसभा सदस्यले तीन हजारका दरले रकम प्राप्त गर्दछन् ।

विपक्षी दलका सचेतक र सांसदले विदेश भ्रमण भत्ता दुई सय (अमेरिकी डलर) प्रति दिन पाउँछन् भने त्यस बाहेक पदाधिकारीहरूले प्रतिदिन २२५ डलर भत्ता पाउँछन् ।

सभामुख र उपसभामुख तथा विपक्षी दलको नेतालाई आवास नै उपलब्ध गराइएको छ भने प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकामा घर भएका सांसदलाई आवासको साटो घर मर्मत सम्भारका लागि ५० प्रतिशत सुविधा दिइने उल्लेख छ ।  सभामुख नन्दा गुरुङ र विपक्षी दलका नेता यामलाल कँडेलको घर वीरेन्द्रनगरमै छ । गुरुङ कहिले आवासमै त कहिले आफ्नो घरमा बस्छिन् । कँडेलले आवास सुविधा लिएका छैनन् । आवास सुविधाका लागि मासिक १५ हजार रुपैयाँ व्यवस्था गरिएको छ ।

यस्तै सरकारी आवास प्रयोग गरेको खण्डमा घरभाडा रकम उपलब्ध नगराइने व्यवस्था गरिएको छ ।

उपसभामुख र विपक्षी दलका नेतालाई फर्निचर बापत पाँच वर्षको एकमुष्ट ५०–५० हजार, सभामुखले ६० हजार र बाँकी पदाधिकारी तथा सदस्यहरूले ४० हजार पाउँछन् ।

निजी सचिवालय बन्दोबस्त शीर्षकमा सभामुखले प्रतिमहिना दुई हजार, उपसभामुख र विपक्षी दलको नेताले १७५०, बाँकी दलका सचेतकदेखि विपक्षी दलको सचेतक, समितिका सभापतिसम्मका पदाधिकारीहरूलाई १५०० का दरले रकम उपलब्ध गराइन्छ । सांसदलाई भने निजी सचिवालयको सुविधा छैन ।

सवारी इन्धन शीर्षकमा सभामुखलाई प्रति महिना दुई सय लिटर, उपसभामुख र विपक्षी दलको नेतालाई १५० र बाँकी दलका सचेतक, समितिका सभापतिलाई १२५ लिटर उपलब्ध गराइन्छ । यस्तै विपक्षी दलका सचेतक र सांसदहरूलाई इन्धन तथा मोबिलको सुविधा छैन ।

मोबिल शीर्षकमा त्रैमासिक रूपमा सभामुखले १०, बाँकी पदाधिकारीले ५ लिटर पाउँछन् । बिजुली र धारा शीर्षकमा सभामुख, उपसभामुख र विपक्षी दलको नेतालाई बिल अनुसार रकम उपलब्ध गराइन्छ भने बाँकी पदाधिकारी तथा सांसदहरूलाई १५०० का दरले रकम दिइन्छ ।

यस्तै दैनिक भ्रमण भत्ता शीर्षकमा सभामुख, उपसभामुख र विपक्षी दलका नेतालाई दुई हजार ५ सय र बाँकी पदाधिकारी तथा सांसदलाई दुई हजारका दरले रकम दिइन्छ । सवारी साधन प्राप्त नगरेकाले सभा बैठक बसेको दिन ५०० यातायात खर्च पाउँछन् ।

  • कर्मचारीलगायतका सुविधा

सभामुखले रा.प तृतीय श्रेणी वा सो सरहको एक जना स्वकीय, एक सूचना÷प्रविधि, एक प्रशासन सहायक, एक हलुका सवारी चालक, एक कार्यालय सहयोगी र अतिथि सत्कारबापत प्रतिमहिना १० हजार रकम पाउँछन् ।

विपक्षी दलको नेता र उपसभामुखले एक स्वकीय, एक सूचना÷प्रविधि, एक हलुका सवारी चालक, एक कार्यालय सहयोगी तथा मासिक ५ हजार अतिथि सत्कारबापत रकम पाउँछन् ।

समितिका अध्यक्ष, प्रमुख सचेतक र सदस्यहरूले पनि एक जना स्वकीय राख्न पाउँछन् । यस्तै समितिका अध्यक्ष तथा दलका प्रमुख सचेतकहरूलाई हलुका सवारी चालकको पनि व्यवस्था गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप