शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

क्यासिनो प्यालेसको अन्डरग्राउन्डमा २४ सै घण्टा अनलाइन ‘जुवाखाल’

क्यासिनोका सञ्चालक नै खेलाउँथे अवैध जुवा
मङ्गलबार, २३ माघ २०८०, १३ : ३८
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । माघ १८ मा मध्यराति दरबारमार्गस्थित क्यासिनो प्यालेसमा प्रहरीले छापा मार्दा क्यासिनोका निर्देशक ऋषभ पावा अवैध जुवा खेलाइरहेको अवस्थामा भेटिए । क्यासिनोको भूमिगत तलामा ‘अनलाइन जुवा’ सञ्चालन गरेको भेटिएपछि उनीसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ३ जनाबाहेक अन्य आरोपीहरू ऋषभकै कर्मचारी रहेको पुष्टि भएपछि उनीहरूलाई प्रहरीले छाडेको छ ।

भारतीय नागरिक ऋषभ पावासहित क्यासिनो प्यालेस सञ्चालकमध्येका ३ जनालाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपााटीलाई बताए । पक्राउ पर्नेमा भारतको पञ्जाब घर भएका ऋषभ पावा, क्यासिनो प्यालेसका मार्केटिङ निर्देशक गुलाब सिंह र  केज मेनेजर गौरव चोपडा छन् । गुलाब सिंह भारतको सिद्धार्थका हुन् । गौरब चोपडा दिल्लीका स्थानीय हुन् ।

क्यासिनो प्यालेस एटलान्टिक रिक्रिएसन प्रालि को नाममा दर्ता छ । वैधानिक रूपमा दर्ता भएको क्यासिनोको अन्डरग्राउन्डमा पावा समूहले नेपालमा अवैध मानिने ‘अनलाइन जुवा’ सञ्चालन गरेका हुन् । अनलाइन जुवा २४ सै घण्टा सञ्चालन गर्ने गरेको प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए । उनी भन्छन्, ‘कर्मचारीलाई ३ सिफ्टको ड्युटी खटाएर अनलाइन जुवा अड्डा चलाउने गरेको भेटिएको छ ।’

‘इजुगी’ नामको एप्समार्फत पावाको समूहले अनलाइन जुवा खेलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सो एप्समार्फत उनीहरूले क्रिप्टो करेन्सी र बिट क्वाइनमार्फत हारजितको रकम ‘लेनदेन’ गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

ललितपुरस्थित ऋषभ बस्दै आएको हाउजिङ र क्यासिनो प्यालेसको अन्डरग्राउन्डबाट प्रहरीले ठुलो परिमाणमा अमेरिकी डलरसहित १३ मुलुकको मुद्रा बरामद गरेको छ । १ करोड ८ लाख ९ हजार ४४५ रुपैयाँ बराबरको विदेशी मुद्रा र नेपाली नगद बरामद गरिएको एसपी ढुंगेलले जानकारी दिए । बरामद रकम मध्ये ५६ हजार ३२२ अमेरिकी डलर छ ।

अनलाइन जुवा खेलाउने उपकरण राखेर ऋषभको समूहले विगत १ वर्षदेखि क्यासिनोको भूमिगत तलामा अवैध जुवा सञ्चालन गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

 ‘इजुगी’ मार्फत उनीहरूले स्क्रिनमा ‘लाइभ’ गरेर जुवाखाल सञ्चालन गर्थे । ऋषभले कारोबार गर्ने गरेको ‘बिट क्वाइन’ को खाता र कारोबारबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आरोपीहरुविरुद्ध राष्ट्र बैंक ऐन र अनलाइन जुवासम्बन्धी मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप