सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद

माननीयहरूको औँठाछाप लिइयो, फागुन ६ गतेदेखि प्रतिनिधिसभामा ई–हाजिरी

बिहीबार, २५ माघ २०८०, २३ : ३८
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुको विद्युतीय हाजिरी लिनका लागि सङ्घीय संसद् सचिवालयले सांसदहरूको औँठाछाप लिने काम सकेको छ । संसद् भवनमा विभिन्न ठाउँमा झन्डै ८ वटा हाजिरी मेसिन राखिने, ती मेसिनहरूमा हुने हाजिरी एउटै एपमा आउने र वेबसाइटमा हेर्न मिल्ने पद्धति व्यवस्थापनको काम भइरहेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले रातोपाटीलाई जानकारी दिए ।

विद्युतीय हाजिरी मेसिनमा सांसदहरूको औँठा छाप, आँखाको रेटिना स्क्यान गर्ने काम सकिएको छ । सचिवालयका प्रवक्ता गिरीले भने– ‘प्रतिनिधिसभाका माननीयहरूको विद्युतीय हाजिरी लिने प्रणालीको प्राविधिक पक्षमा काम भइरहेको छ । सम्भवतः संसद्को अर्को बैठकबाट विद्युतीय हाजिरी लिने प्रणाली सुरु गर्ने प्रयास गरिरहेका छौँ । हाजिरी मेसिन धेरै भएकोले सफ्टवेयर प्रणालीमा हाजिरीलाई एकीकृत गर्ने र वेब प्रणालीमा लिङ्क गर्ने प्रणालीमा काम भइरहेको छ । फागुन ६ गतेको बैठकसम्म सक्ने तयारी छ, ६ गतेसम्म सकिएन भने १० गतेको बैठकसम्म यो प्रणाली सुरु गर्ने लक्ष्य लिएका छौँ ।’  

प्राविधिक कारणले गर्दा केही ढिलाइ भएको उनले बताए । सांसदहरूले बैठक कक्ष बाहिर तथा भित्र उपयुक्त स्थानमा गएर सहज ढङ्गले हाजिरी गर्ने प्रबन्ध गरिएको उनले बताए । प्रतिनिधिसभाको क्यालेन्डर निर्माणको क्रममा पनि प्रतिनिधिसभाका सांसदहरूको विद्युतीय हाजिरी लिने र वेबसाइटमार्फत सार्वजनिक गर्ने कार्यसूची बनाइएको थियो । प्रतिनिधिसभाका १७२ सांसदहरूको औँठाछाप र आँखाको रेटिना स्क्यान गर्ने काम सकिएको छ । 

यता राष्ट्रियसभाले भने यसअघिदेखि नै विद्युतीय हाजिरी सुरु गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप